संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले सीप, कला र ज्ञानलाई उत्पादनमुलक काममा प्रयोग गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताइन्।
शुक्रबार पर्यटन मन्त्रालयले आयोजना गरेको 'दलित समुदायको ऐतिहासिक कला, संस्कृति, ज्ञान, सीपको जर्गना र आधुनिक सीप शाला निर्माण तथा सीपको संस्थागत विकास' सम्बन्धमा राज्यको भूमिका विषयको कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री सिर्पालीले यस्तो बताएकी हुन्।
सीप र कलाको प्रवर्धनमा राज्यमा ऐन र कानुनको रिक्तता पुरा गर्ने तयारीमा मन्त्रालयले संस्कृति ऐन बनाउन लागेको बताइन्।
मुख्य रूपमा दलित समुदायको आर्थिकस्तर नउठ्दासम्म दलितका सीप र कलाहरूको व्यवसायीकरण हुन नसक्ने उनले बताइन्।
गोष्ठीमा प्राध्यापक डाक्टर विद्यानाथ कोईराला, प्राध्यापक ईश्वर चन्द्र ज्ञवाली र अधिवक्ता मोती नेपालीले कार्यपत्र पेश गरेका थिए। तीन वटै कार्यपत्रमा डा. गोविन्द नेपालीले टिप्पणी गरे।
गोष्ठीमा बोल्ने क्रममा सहभागिहरूले संघियता आएको १५ वर्ष बितिसक्दा पनि दलितहरू माथि हुने विभेद कम नभएको भन्दै राज्य पक्षले यस विषयमा गम्भिरताका साथ लिनुपर्ने बताएका छन्।
मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख डा. सुरस सरस श्रेष्ठले अध्यक्षता गरेको उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुईयाल, पुर्वमन्त्री दलजित सिर्पाली, राष्ट्रिय दलित आयोगका अध्यक्ष लगायतको उपस्थिती थियो।