नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा जापानीज लगानी भित्र्याउन नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तर्क्रिया गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जापानका सरकारी अधिकारी एवम् व्यवसायीहरूको टोलीलाई पर्यटन बोर्डका बजार शाखा प्रमुख निमित्त निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै राजदूत युताकाले जापान र नेपालबीच पुरानो सम्बन्ध रही आएको चर्चा गर्दै कानुनी सहजता भएमा जापानीहरू नेपालमा लगानी गर्न तयार रहको बताए।
'नेपाल सुन्दर छ। जापानी नागरिकहरूले नेपाल भ्रमण गर्न मन पराउँछन्। गत वर्ष जापानका विभिन्न कम्पनीका उच्च पदाधीकारीहरूसँग नेपालमा भएको भेटघाट तथा अन्तरक्रियाले नेपालबारे थप बुझ्न सहयोग पुगेको थियो,' राजदूत युताकाले भने, 'यो पटकको भ्रमणमा पर्यटन क्षेत्रमा के गर्न सकिन्छ भन्ने चासो बढेको छ।'
यस्तै बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले नेपालको पछिल्लो पर्यटनका बारेमा जानकारी दिए।
साथै हिमाल आरोहणमा प्रथम महिला सगरमाथा आरोही जुन्को तावेईसँगै अन्य विभिन्न ऐतिहासिक तथा आपसी सहयोगका विविध कार्यक्रमले नेपाल जापान सम्बन्धको छुट्टै आयाम रहेको बताउँदै पर्वतीय पर्यटनको प्रर्वद्धनमा जापानको राम्रो भूमिका रहेको समेत बताए।
उनले नेपालमा जापानी रेष्टुरेष्टहरू बढ्दै गईरहको बताउँदै पर्यटन क्षेत्र लगानीको लागि उपयुक्त भएको बताए।
नेपाल भ्रमणमा रहेको टोलीमा जापानका विभिन्न प्रतिष्ठित कम्पनीका सञ्चालन तथा कार्यकारी प्रमुखहरूको सहभागिता रहेको थियो।
जापानबाट सन् २०२३ मा १६ हजार ४६३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। जुन संख्या २०१९ मा ३० हजार ५३४ थियो।