नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटल सञ्चालकहरूले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा)का कारण समस्यामा परेको बताएका छन्।
होटल सञ्चालकहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर वैदेशिक लगानी तथा 'प्रविधि हस्तान्तरण ऐन २०७५' मा भएको रोयल्टीसम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तर्राष्ट्रिय चेन होटलहरू नेपालबाट बाहिरिने अवस्थामा पुगेको बताएका हुन्।
छलफलमा उनीहरूले अन्तर्राष्ट्रिय होटल ब्रान्डहरू सामान्यतया रोयल्टी वा टेक्नोलोजी ट्रान्सफर शुल्कमा सञ्चालन हुन्छ भने उक्त लागत फिटाले निर्धारण गरेको ५ प्रतिशतभन्दा धेरै माथि हुने बताए।
अहिले फिटामा भएको नियामक व्यवस्था र होटल उद्योग मापदण्डहरूबीचको बेमेलले नेपालमा विदेशी चेन होटलहरू ल्याउन ठूलो समस्या भइरहेको उनीहरूले गुनासो गरे।
अहिले नेपालमा रहेका अन्तर्राष्ट्रिय चेन होटलहरूको कार्य सम्पादन समीक्षा गरी सुरू भएको र ती होटलहरूले पर्यटन क्षेत्रमा पुर्याएको योगदान, आर्थिक प्रभाव र विभिन्न सान्दर्भिक मेट्रिक्सका बारेमा राज्यको तर्फबाट उचित सहयोग हुनुपर्ने माग राखेका छन्।
फिटामा भएको रोयल्टीसम्बन्धी व्यवस्थाले धेरैजसो विदेशी ब्राण्ड नेपालमा आउन कठिन रहेको भन्दै यदी उक्त व्यवस्था रहि रहे नेपालमा सञ्चालित विदेशी चेन समेत बाहिरिने अवस्थामा पुग्ने उनीहरूको बताउँछन्।
छलफलमा समितिका सभापति वखेतले नेपालमा विदेशी पर्यटक भित्र्याएर सोही अनुरूप विदेशी मुद्रा आर्जन गर्नका लागि समेत अन्तर्राष्ट्रिय चेनलाई नेपालमा सहज रूपमा आउने वातावरण बनाउनुपर्ने बताए।
'अहिलेको अवस्थामा नेपाली पर्यटन क्षेत्रको ब्राण्डिङ गर्ने भनेकै अन्तर्राष्ट्रिय चेन होटलले हो,' वखेतले भने, 'उनीहरूले आफ्ना देशका नागरिकलाई नेपालमा भ्रमणका लागि ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्छन् तर, फिटामा भएको रोयल्टीसम्बन्धी नयाँ व्यवस्थाका कारण भएका अन्तर्राष्ट्रिय चेन समेत बाहिरिने अवस्थामा पुगेका छन्।'
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई समितिका सभापति देशबन्धु बस्रेत लगायत नेपालमा सञ्चालित चेन होटलका प्रतिनिधिहरू उपस्थित थिए।