यती एयरलाइन्सले दुई वटा एटिआर ७२–५०० विमान थपेको छ।
यी विमानहरू बिहीबार साझ ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जनाएको छ।
यतीले ७२ सिट क्षमताको दुई वटै विमान बंगलादेशबाट खरिद गरी ल्याएको हो। विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ।
थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेसन नाइनएन– एओएफ र ९एन–एओएच पाएको छ।
खरिद गरिएका विमानहरू यतीका क्याप्टेनहरूले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए।
उनका अनुसार थप जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान सेवा दिनेछ।
एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले आन्तरिक हवाइ सेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्र्याउने नीति लिएको र जहाज थप गरेसँगै यात्रुहरूलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए।
सन् २०२४ भित्र थप ३ वटा जहाज ल्याई १० वटा पुर्याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गदै यात्रुहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनको भनाइ छ।
एटिआर कम्पनीको वेबसाइटका अनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ। ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ।
यती एयरलाइन्सले हालै एसियन लाइफ इन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्र्याएको थियो।
कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागि आइपिओ जारी गर्ने लक्ष्य लिएको छ।
हाल यतीले नेपालको सुगम गन्तव्यहरू काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज लगायत पर्वतीय उडानहरू गर्दै आएको छ।