संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीको काम कारबाहीमाथि प्रश्न उठाएका छन्।
मन्त्री किरातीले निगमको ग्राउन्डेड ट्विनअटर जहाज मर्मतकाे निर्देशन दिए पनि अहिलेसम्म कुनै काम अघि नबढेपछि परिणाम दिन नसक्ने अधिकारीलाई निगमका किन राख्ने? भन्दै प्रश्न गरेका हुन्।
मन्त्री किरातीले ६ महिनाअघि निगमको ग्राउन्डेड ट्विनअटर जहाज बनाउन निर्देशन दिएका थिए।
निर्देशनपछि अध्यक्ष अधिकारीले कानुनी प्रकृया पूरा भएको दुई महिनामा जहाज बनाइसक्ने बताएका थिए। मन्त्री किरातीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय समेत गरेको थियो।
तर निर्देशन दिएको ६ महिना बितिसक्दा पनि काम अघि नबढेपछि मन्त्री किराती सोमबार विमानस्थलस्थको मर्मतस्थलमै आक्रोशित बनेका हुन्।
'जहाज कहिलेसम्म बन्छ यसको उत्तर चाहियो पहिला जस्तो ढाँट्न पाइन्न,' किरातीले भने, 'परिणाम चाहियो। परिणाम दिन नसक्ने कर्मचारीलाई निगममा किन राख्ने?'
दुई महिना अघि बसेको निगमको बोर्ड बैठकबाट करिब २० करोडसम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो। तर अहिलेसम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्य योजना बनेको छैन।
मन्त्री किरातीले प्रत्येक हप्ता निरीक्षणमा आउने र कार्य योजना अनुसार काम गरेर प्रगति विवरण पेस गर्न निगमलाई निर्देशन दिएका छन्।