नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिदका लागि एक खर्ब ३५ अर्ब ऋण लिने तयारी गरेको छ।
यसका लागि सञ्चालक समितिको निर्णय अनुसार निगमले बुधबार अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरेको हो।
यसबारे प्रेस विज्ञप्ती जारी गर्दै निगमले १० वर्षे व्यवसायिक योजनाअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा उडान गर्नका लागि जहाज खरिद गर्ने जनाएको छ। साथै अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत सम्भार गर्ने ह्यांगर निर्माणका लागि लगानी गर्ने निगमले जनाएको छ।
निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने ‘ए३२०’ र ‘ए३३०’ जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदर भन्दा कम ब्याजदरमा लिइ ब्याज खर्चको भार कम गर्ने उद्देश्यले आशय पत्र निकालिएको विज्ञप्तीमा उल्लेख छ।
हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छन्। चारमध्ये एक न्यारोबडी करिब दुई महिनादेखि ग्राउन्डेड छ। साथै आन्तरिकतर्फ हाल दुई वटा ट्वीनअटर जहाजले उडान गरिरहेका छन्।
निगमले क्षेत्रीय विमानस्थलमा उडान तथा अवतरणका लागि तीनवटा र अन्तर्राष्ट्रिय उडानका लागि तीनवटा न्यारोबडी जहाज लिने लिज प्रक्रिया अघि बढाइसकेको छ।