सुर्खेतका व्यवसायीहरूले वीरेन्द्रनगरमा प्याराग्लाइडिङ पर्यटन विस्तार गर्न खोजेको लामो समय भयो।
साहसिक पर्यटनका रूपमा हेरिने प्याराग्लाइडिङलाई व्यावसायिक निरन्तरता दिन उनीहरूले बेलाबेला अभ्यास गरिरहेका छन्।
वीरेन्द्रनगरको माथिल्लो भाग गोठीकाँडाबाट उपत्यकासम्म प्याराग्लाइडिङका लागि उपयुक्त स्थान मानिन्छ।
सुर्खेतमा ८ वर्षअघि प्याराग्लाइडिङ उडान सुरू भएको थियो। त्यतिबेला व्यवसायीहरूले सोचेजस्तो नचलेपछि दुई वर्षमै बन्द भयो। २०७१ देखि ०७२ सम्म मात्र चल्यो। त्यही पनि आकाशमा कहिलेकाहीँ मात्र देखिन्थे।
त्यो बेला प्याराग्लाइडिङ सिद्धपाइलाको डाँडाबाट उडान गरी वीरेन्द्रनगर उपत्यकाको खुलामञ्चमा अवतरण गरिन्थ्यो। सुर्खेतमै दक्ष जनशक्ति नभएको र शुल्क पनि महँगो भएकाले प्याराग्लाइडिङ बन्द भएको व्यवसायीहरू बताउँछन्।
वीरेन्द्रनगर कर्णाली प्रदेश राजधानी बनेसँगै पर्यटन व्यवसायीहरूले दुई वर्षयता प्याराग्लाइडिङ सुरू गरेका छन्। उनीहरूले जनशक्ति व्यवस्थापन र शुल्क घटाएपनि अपेक्षाकृत प्रगति हुन सकेको छैन।
सुर्खेतको वेलकम प्याराग्लाइडिङ प्रालिले जनशक्ति व्यवस्थापनका लागि बाबु एड्भेन्चर प्रालिसँग सहकार्य गरेको छ। स्थानीय स्तरमा प्याराग्लाइडिङ पाइलट नभेटिएपछि बाबु एड्भेन्चरबाट अनुभवी पाइलट ल्याएका छन्। उसलाई वेलकम प्रालिले सेयर पनि दिएको छ।
सुर्खेतको प्याराग्लाइडिङ व्यवसाय प्रबर्द्धनका लागि सहकार्य गर्ने र स्थानीय स्तरमा उपलब्ध नभएको जनशक्ति परिचालन गर्नेगरि दुइटा कम्पनीबीच सहमति भएको थियो।
सहमति अनुसार अहिले वीरेन्द्रनगरमा सोलो (आफू मात्र उड्ने) र टेन्डम (यात्रु राखेर उडाउने) गरी सात जना पाइलट छन्। तीमध्ये ६ जना सोलो पाइलट नै छन्। एक जना मात्र टेन्डम छन्। सुर्खेतमा प्याराग्लाइडिङ गर्ने मानिस खासै नपाउने भएपछि थप टेन्डम पाइलट आएका छैनन्।
प्याराग्लाइडिङका लागि उपयुक्त स्थान रोजेर जनशक्तिको व्यवस्थापनसहित सेवा सुरू गरिए पनि सोचेअनुसार व्यावसायिक बन्न नसकेको वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदमबहादुर शाहीले बताए।
‘सुर्खेत प्याराग्लाइडिङ हब बन्न सम्भव छ भन्ने सन्देश दिने र विस्तारै यसलाई व्यावसायिक बनाउने योजनासहित हामीले बन्द भएको यो व्यवसाय ६ बर्षपछि फेरि सुरू गरेका थियौं,’ उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्षसमेत रहेका शाहीले भने, ‘सुरुमा आशलाग्दो गरी आन्तरिक पर्यटक आए, तर पछि सोचेअनुसार सफलता मिलेको छैन।’
सुर्खेतमा प्याराग्लाइडिङ सम्भावना अझै पनि भएकाले निरन्तर सञ्चालनमा राखिएको उनले बताए। सबै आन्तरिक पर्यटक यस्तो साहसिक पर्यटनमा चासो नदिने र बाह्य पर्यटक आउने क्रम नबढेकाले अपेक्षा अनुसार व्यावसायिक बन्न नसकेको शाही बताउँछन्।
‘स्थानीय जनशक्ति छैन, बाहिरबाट जनशक्ति ल्याए पनि पर्यटक नपाएपछि त सफल हुन सक्ने कुरै भएन,’ शाही भन्छन्, ‘बाह्य पर्यटक आएका छैनन्, तैपनि सुर्खेतलाई यो व्यवसायको हब बनाउन सकिन्छ र पर्यटकको चासो बढ्ने सम्भावना कायमै देखेर निरन्तरता दिएका छौं।’
सुर्खेतमा पुनः सञ्चालन गरिएको प्याराग्लाइडिङ क्षेत्रमा अहिले अभ्यास उडानहरु भइरहेका छन्। प्याराग्लाइडिङ प्रशिक्षक मोहन सुनुवारका अनुसार अहिले स्याङ्जामा यसको कोर्स पूरा गरेर आएका ७ जना पाइलटले अभ्यासगत उडान नियमित गरिरहेका छन्।
‘यहाँ अभ्यास मात्र नभएर प्याराग्लाइडिङलाई व्यावसायिक बनाउने उद्देश्य पनि हो, अहिले बाबु एड्भेन्चर प्रालिको प्याराग्लाइडिङ स्कुल स्याङ्जामा मुख्य कोर्स सकाएर आएका पाइलटहरूको अभ्यास भइरहेको छ,’ उनले भने, ‘उहाँहरूमध्ये केही नयाँ भएकाले सिकाई पनि भइरहेको छ।’
सुनुवारका अनुसार प्याराग्लाइडिङको शिविर पनि वीरेन्द्रनगरको उडान क्षेत्र गोठीकाँडामा स्थापना गरिँदैछ। त्यसअघि सुर्खेतको आकाशमा उडाउन सही दिशा तथा हावाको गति परीक्षण गर्न अभ्यास उडान गरिएको उनले बताए।
उनी पनि सुर्खेतमा प्याराग्लाइडिङको सम्भावना धेरै भएको बताउँछन्। ‘अहिले यसले व्यावसायिक गति लिएको छैन, हामी यसलाई बढाउन लागिरहेका छौं,’ सुनुवारले भने, ‘हाम्रो अनुभवअनुसार भविष्यमा सुर्खेत प्याराग्लाइडिङ पर्यटनको हब नै बन्छ, गर्मीको समयमा शितलका लागि पर्यटकको रोजाइमा पर्ने गरेकोले गोठीकाँडादेखि प्याराग्लाइडिङको भविष्य राम्रो छ।’
उनका अनुसार प्याराग्लाइडिङ क्षेत्रमा प्रख्यात पोखरा र सुर्खेतमा उडान–अवतरणका लागि खासै फरक पाइँदैन। पोखरामा नजिक हिमालहरु भएकाले प्याराग्लाइडिङसँगै तिनको मनोरम दृश्य हेर्न पाइने तर सुर्खेतमा त्यो सुविधा नभएको उनले बताए। नजिक ठूला उपत्यका भएकाले पोखरा सुरक्षाका हिसाबले राम्रो मानिने उनले बताए।
‘सुर्खेतमा पनि असुरक्षित छैन, हावाको गति सबैतिर एउटै हो,’ उनले भने, ‘नेपालका सबै ठाउँमा प्याराग्लाइडिङ गर्न सकिन्छ, तीमध्ये सुर्खेत उपयुक्त गन्तव्यभित्र पर्छ।’
गोठीकाँडादेखि वीरेन्द्रनगर उपत्यकाको दूरी नजिक भएकाले उडेर सिधै अवतरण गर्ने हो भने ५/६ मिनेट मात्र समय लाग्ने गरेको प्याराग्लाइडिङ प्रशिक्षक सुनुवारले बताए। चारैतिर घुम्दै अवतरण गर्ने हो भने २५ मिनेटसम्म लाग्ने उनले सुनाए।