छिरिङ जाङबु शेर्पालाई हिमाल र जीवन एकैजस्तो लाग्छ। दुबै संघर्षका प्रतीक!
हिमाल आफ्नो शिरसम्मै हिँउले ढाकिएर संसारले देख्ने गरी खडा हुनु र मानिसको जीवन गौरवले ढाकिनु उस्तै हो!
उनले २८ वर्षअघि सुरू गरेको हिमाल यात्रा अद्यापि जारी छ। उनी हिमाल आरोहणका अन्तर्राष्ट्रिय पथप्रदर्शक (माउन्टेन गाइड) का रूपमा परिचित छन्।
सोलुखुम्बूको रक्सीखर्कमा जन्मिएका छिरिङले आफ्नो बाल्यकालमा विदेशी पर्यटक र उनीहरूका अघिपछि हिँड्ने गाइडहरूका लश्कर धेरै देखे। किताबकापी बोकेर स्कुल जाने उमेर खेतबारीमै बित्यो। अन्नपात बेच्न भारी बोकेर लुक्लासम्म पुग्थे। लुक्ला उनीहरूको किनमेल, व्यापार र भेटघाटको मुख्य ठाउँ थियो।
'गाउँबाट लुक्ला पुग्न ६ दिन लाग्थ्यो। करिब दस वर्षको उमेरदेखि मैले अन्नको भारी बोकेर उकालो–ओह्रालो गरेँ,' छिरिङले सम्झिए, 'त्यही समय हो मैले सगरमाथा आरोहण गर्ने पर्यटहरूको लश्कर देखेको। हिमाल चढ्न विदेशीहरू किन आएका होलान्, हिमाल चढेर के हुन्छ होला भन्ने लाग्थ्यो। ट्रेकिङ भनेको सुनेको थिएँ तर अर्थ थाहा थिएन।'
उत्सुकताकै कारण छिरिङ १२ वर्षकै उमेरमा पर्यटकको सहयोगी बनेर हिँड्न थाले।
उनको हिमाल यात्रा सन् १९९८ अर्थात् पहिलो 'भिजिट नेपाल'बाट सुरू भएको हो। उनलाई आफ्नै गाउँका चिनारूले पैसा हुन्छ, विदेशीसँग जाऔं भनेर विदेशी पर्यटकको भरिया बनाएर लगेका थिए।
पर्वतारोहणमा धेरै दिन यात्रा गर्नुपर्छ। खानेबस्ने प्रबन्धका लागि सबै सामान लैजानुपर्छ। पर्यटकहरूले नेपाली गाइडसहित पोर्टर (भरिया) पनि लैजान्छन्।
छिरिङ पहिलोपटक डोकोमा २५ किलो भारी बोकेर सगरमाथा आधार शिविरतर्फ हिँडेका थिए। अप्रिल महिना थियो। ती दिनको स्मरण छिरिङको मस्तिष्कमा आज पनि ताजै छ।
'म भान्साको सामान बोकेर हिँड्थेँ। बिहान–बेलुका तरकारी काट्ने, पकाउने, भाँडा माझ्ने काम गर्नुपर्थ्यो,' उनले भने, 'हिमाल आरोही पर्यटकको किचन ब्वाइ थिएँ म।'
बिहान–बेलुका एक ठाउँमा भेला हुँदा विदेशी पर्यटकहरू छिरिङसँग कुरा गर्न चाहन्थे। के के सोध्थे तर भाषा समस्या बनेर आउँथ्यो।
'अंग्रेजी बोल्न नआउने मान्छे विदशी पर्यटकका साथमा हिँडेपछि के हुन्छ भन्नुस् त!' त्यो समयको आश्चर्य प्रकट गर्दै उनले भने, 'मेरो अंग्रेजी भाषाको सिकाइ किचन शब्दबाट भयो। कति पटक त किचन भन्न नजानेर झापड पनि खाएँ।'
पहिलो यात्रा १८ दिनको भयो। दिनभर भारी बोक्दा ६० रूपैयाँ आउँथ्यो। तर उनले पर्यटकबाट साढे दुई हजार रूपैयाँ टिप्स पाए। उनको खुसीको सीमा रहेन। पैसाकै कारण काममा लोभिए। यही काम गर्छु भन्ने अठोट गरे।
छिरिङ फूर्तिला र हट्टाकट्टा थिए। गाडइले पनि उनलाई मन पराए। काम गर्दै जाँदा उनी ट्रेकिङ कम्पनी र गाइडहरूको रोजाइमा पर्न थाले। त्यसपछि के चाहियो! खेतबारीको काम छाडेर हिमालतिरै हिँड्न पल्किए।
काममा हिँड्दै गर्दा छिरिङलाई ट्रेकिङ गाइड हुन रहर भयो। रहरले मात्र हुँदैन थियो, हरेक ठाउँको खास सूचना चाहिन्थ्यो। त्यो सूचना सजिलो तरिकाले पर्यटकसम्म पुर्याउनुपर्थ्यो। त्यसो गर्न तिनकै भाषा चाहिन्थ्यो। गाइडको सहयोगी भएर हिँड्दा विदेशीसँगको संगतले अंग्रेजी भाषामा चाख बढ्दै गयो। उनीहरूसँगै सिक्न थाले।
उनले भने, 'हरेक दिन बेलुका खाना खाएपछि एक घन्टा भाषा सिक्थेँ। उनीहरू इशारा गरेर, सामान देखाएर, तत्कालै गर्न लगाएर, बोल्न लगाएर मलाई अंग्रेजी सिकाउँथे। बिस्तारै म अंग्रेजी लेख्न पनि जान्ने भएँ।'
विदेशीले बोलेको अंग्रेजी बुझ्ने र आफू पनि बोल्न सक्ने भएपछि उनलाई गाइड बन्न सक्छु, पर्यटकलाई हिमाल लैजान सक्छु भन्ने आत्मविश्वास भयो।
त्यो समय अहिले जस्तो तालिम लिन जरूरी थिएन। किचन ब्वाइ भएर हिँड्दा हिँड्दै गाइड हुन तालिमले सिकाउने जति जान्ने भइसकेका थिए।
गाइड भएपछि एजेन्सीहरूले उनलाई पर्यटकका साथ स-साना हिमाल चढ्न पढाउन थाले।
'अवसर किन छोड्नु र, पर्यटकसँगै हिमाल चढ्न थालेँ,' उनले भने।
छिरिङ पहिलोपटक सन् २००१ मा ६ हजार १६५ मिटर अग्लो आइसल्यान्ड पिक चढे। त्यसअघि पोर्टर र गाइड बनेर आधार शिविरसम्म मात्र पुगेका थिए। आधार शिविरबाट चुचुरोमा पुग्न एक दिनको तालिम लिएका थिए। त्यही तालिममा उनले हिमाल चढ्दा र ओर्लिँदा नजानी नहुने आधारभूत कुरा थाहा पाए।
आइसल्यान्डपछि लोबुचे (६ हजार ११९ मिटर) र मेरा पिक (६ हजार ४७६ मिटर) चढे। यसरी हिमाल चढ्ने क्रम बढ्दै गयो। यसपछि ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने लक्ष्य लिए। काठमाडौं आउने क्रम बढाए, हिमाल आरोहण गराउने कम्पनीहरूमा चिनजान बढाए।
सन् २००३ मा पहिलोपटक ८ हजार ५१६ मिटर अग्लो ल्होत्से चढ्ने अवसर पाए। हालसम्म त ल्होत्से चार पटक चढिसके।
'अरू हिमालभन्दा ल्होत्से अलि टेक्निकल र फरक छ। बाटोभरिको हिउँ पार गर्न कठिन भएको थियो,' उनले भने, 'पहिलोपटक ल्होत्से चढ्दा बल्ल हिमाल चढेजस्तो भयो। त्यो यात्रा ५० दिनमा पूरा भएको थियो।'
त्यसपछि उनले पाँच जना स्पेनी पर्यटकका साथ चीनको ८ हजार २७ मिटर अग्लो सिसापाङ्मा हिमाल चढे। तेस्रो आरोहण इटालियनहरूका साथ आमादब्लम हिमालमा भयो।
'आमादब्लम चढ्दा मैले थुप्रै टेक्निकहरू सिकेँ,' उनले भने, 'यल्लो टावरबाट सामान तान्दा टर्च खसेको थियो। त्यसपछि टर्चबिना नै हिँडे। हेड ल्याम्पको उज्यालोबाटै आमादब्लम चढेँ।'
हालसम्म उनले ८ हजार मिटरमाथिका सातवटा र त्यसमुनिका सातैवटा हिमाल आरोहण गरेका छन्। सबै गरेर १९ पटक सफल आरोहण भएको छ।
'यी सबै हिमालमा म अक्सिजनबिना नै गएँ,' उनले भने।
अरू अरोहीझैं छिरिङको पनि सपना थियो – सगरमाथाको चुचुरो चुम्ने।
आरोहण सुरू गरेको पाँच वर्षपछि उनले यो अवसर पाए। सन् २००६ मा अन्तर्राष्ट्रिय आरोहीको एउटा टोली लिएर उनी सगरमाथा चढे। त्यस यात्रामा उनी सिनियर गाइड थिए। छिरिङका अनुसार सगरमाथा आरोहण उनको जीवनको विशेष उपलब्धि थियो।
'घरको आँगनबाट सधैं देखेको हिमालको चुचुरोमा टेक्दा खुसीले रोएँ,' उनले भने, 'आफूलाई हिमालभन्दा अग्लो महसुस गरेँ, हर्षको आँसु थामिएन। मान्छे खुसीले पनि रूँदो रहेछ भन्ने कुरा सगरमाथाको चचुरोमै थाहा पाएँ।'
हिमाल आरोहण कसैका लागि पनि सजिलो काम होइन। सधैं सफल हुँदैन, एकै पटकमा सम्भव नहुन सक्छ। कतिपय हिमाल चढ्न नसकेर फर्किनुपरेको छ। अनेक कहालीलाग्दा क्षणहरू पनि आउँछन्। बाटो खोज्दै, बाटो बनाउँदै, शरीर अड्याउँदै चढ्नुपर्छ, त्यसरी नै ओर्लिनुपर्छ। कहिले त पर्यटक आरोही बिरामी पर्छन्। उनीहरूलाई बोकेर ओराल्नुपर्छ।
उचाइमा हुने बिमारीका कारण आफ्नो टोलीका एक पर्यटक बितेर फर्किनुपरेको घटना पनि उनले बेहोरेका छन्।
'हेलिकप्टर आधार शिविरसम्म मात्र पुग्छ। त्यसभन्दा माथिका शिविरबाट शव घिसार्दै ल्याउनुपरेको पनि थियो,' उनले भने।
कष्ट जति भए पनि, जति नै ठूलो जोखिम भए पनि छिरिङका लागि हिमाल जीवन हो, जीवनको एक अभिन्न अंग हो। शरीरले साथ दिँदासम्म उनी हिमालसँग छुट्टिन चाहँदैनन्।
उनको जीवनको खुसी भन्नु नै हिमालको यात्रा हो। पर्यटकलाई हिमालको चुचुरोमा पुर्याउँदा उनको मन खुसीले फुरूंग हुन्छ। हरेक हिमालको चुचुरोमा प्रायः १५ देखि २० मिनेटसम्म बस्छन्। पर्यटकका साथ चचुरोमा रमाउँछन्।
'जे काम गर्यो, त्यसैमा लगाव हुने भएर होला अहिले कुनै एउटा सिजनमा हिमाल पुग्न पाइनँ भने छट्पटी हुन्छ। जीवन नै अपूरोजस्तो हुन्छ,' छिरिङले भने, 'कहिलेकाहीँ त यो अन्तिम आरोहण हो भन्ने पनि लाग्छ। तर तल आएपछि फेरि हिमालले तान्छ। अर्को पटक चढ्ने दिन गन्न मन हुन्छ।'
अब उनी धवलागिरि हिमाल चढ्न चाहन्छन्। त्यसको योजना बन्दै छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका महासचिव समेत रहेका छिरिङले 'डिप्लोमा इन माउन्टेनियरिङ' कोर्स पूरा गरेका छन्। विगत एक दशकदेखि ट्रेकिङ गाइड प्रशिक्षणमा संलग्न छन्। प्रशिक्षण दिन देशका विभिन्न ठाउँ पुग्छन्। हालसम्म कम्तीमा १५ हजार जनालाई प्रशिक्षण दिइसकेको उनले बताए।
तालिमबिनै ट्रेकिङ र आरोहण सुरू गरेका छिरिङले भने, 'अहिले त गाइड बन्न तालिम अनिवार्य छ। एक्लै ट्रेकमा जानेहरू पनि तालिम लिन्छन्। ट्रेकिङमा युवापुस्ताको आकर्षण बढेको छ। तालिम लिन आउने पनि युवाहरू नै हुन्छन्। अहिले ट्रेकिङमा काम पाइएन भन्नुपर्ने अवस्था छैन।'
उनी सफा हिमाल अभियानमा पनि संलग्न छन्। हिमालले आफूलाई सब थोक दिएको र अब हिमाललाई समय दिने पालो आफ्नो रहेको उनले बताए।
छिरिङ नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग मिलेर हिउँमा चिप्लिने खेल स्कीमार्फत 'विन्टर टुरिजम' मा काम गर्दैछन्।
उनका अनुसार हिउँ परेपछि हिमाली क्षेत्रका धेरै बस्ती चकमन्न हुन्छन्। सबै घरका ढोका बन्द हुन्छन्। उनी यसरी ढोका बन्द गर्ने परम्परा भत्काउने प्रयासमा छन्। स्कीका लागि उनले मुस्ताङको मुक्तिनाथ, दोलखाको कालिञ्चोक, शैलुङ लगायत ठाउँ रोजेका छन्।
'हामीले युरोपको सभ्यताबाट धेरै कुरा सिक्नुपर्छ। उनीहरू हिउँ परेपछि हिउँमा जान्छन्। हिउँ खेल्नेलाई स्कीसँग जोड्न पाए देशको आर्थिक समृद्धि बढ्ने थियो। रोजगारी पनि बढ्थ्यो,' उनी भन्छन्।