पोखराका अनिल शाही ठकुरी एक्लै रेडियो स्टेसन चलाउँथे। ‘एपोस्टल एफएम’ मा उनका सांगीतिक कार्यक्रमहरू चल्थे। रेडियोको रेकर्डिङ स्टुडियो उनले आफ्ना गीतसंगीत रेकर्ड गर्न प्रयोग गरेका थिए। उनको स्टुडियोमा गीत रेकर्ड गराउन नवोदित गायक र संगीतकार पुग्थे।
एफएम रेडियोसँगै गीतसंगीत रेकर्ड र म्युजिक भिडिओ निर्माणमा पनि अनिलको रुचि थियो। उनले केही म्युजिक भिडिओ निर्देशन पनि गरेका थिए। केही भजन र र्याप गीत पनि रेकर्ड गरेका थिए। उनले आफ्नै घरको तेस्रो तलामा एफएम रेडियो र रेकर्डिङ स्टुडियो चलाएका थिए।
अनिल गत वर्ष (२०७९ साल) पुस अन्तिमतिर एक जना इसाई धर्मगुरुको निधनमा श्रद्धाञ्जली दिन केरला गएका थिए। पुस ३० गते काठमाडौं आइपुगे। त्यति बेला पोखरा विमानस्थल साँझ ५ बजे बन्द हुन्थ्यो। रात्रि उडान थिएन।
उनी भोलिपल्ट बिहान पोखरा पुग्न जहाज चढे। त्यही जहाज अवतरणको समयमा सेती किनारामा दुर्घटना भयो।
‘मेरो छोरो केरलाबाट काठमाडौं आइपुग्दा साँझ पर्यो। त्यस दिन पोखरा आउन पाएन,’ अनिलका बुवा अशोक शाही ठकुरीले भने, ‘भोलिपल्ट बिहान पोखरा आउँदा त्यस्तो (जहाज दुर्घटना) भयो।’
पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएको यही सोमबार एक वर्ष पूरा भएको छ। गत वर्ष माघ १ गते काठमाडौंबाट उडेको जहाज सेती खोँचमा खसेको थियो। त्यही दुर्घटनामा ३५ वर्षीय अनिलसहित ७२ जनाको ज्यान गएको थियो।
अनिल जहाज दुर्घटनामा पर्दा बुवा अशोक र आमा सरला क्यानडा गएको डेढ महिना भएको थियो। उनीहरू छोरीज्वाइँ भेट्न गएका थिए। दुर्घटनाको खबर पाउनासाथ नेपाल फर्के। त्यो समयको पीडा सम्झिँदै अशोकले भने, ‘क्यानडाबाट हामी कसरी पोखरा आइपुग्यौँ, अहिलेसम्म सम्झिन सकेको छैन।’
अनिलले काठमाडौंमा जहाज चढ्नुअघि श्रीमती रेनु गुरूङलाई फोन गरेका थिए। रेनुले खाना बनाइराख्छु भनेकी थिइन्। उनीहरूका दुई छोरी बाबा आउने भनेर खुसी भएका थिए। अनिलले काठमाडौंबाट पोखरा आउन लागेको भन्दै फेसबुक स्टोरीमा फोटो पनि पोस्ट गरेका थिए। रेनुले सँगै खाना खाने तयारी गरेकी थिइन्।
अनिल आइपुग्ने अनुमानित समय घर्किंदै थियो। घरमा श्रीमानको प्रतीक्षामा रहेकी रेनुले काठमाडौंबाट पोखरा आउँदै गरेको जहाज दुर्घटनामा परेको खबर सुनिन्।
‘नराम्रो केही सुन्नु नपरोस्’ भन्दै प्रार्थना गरिन्।
‘म खाना बनाएर राख्छु, तपाईं आएपछि सँगै खाऔँला भनेर फोन राखेकी थिएँ। अब त आइपुग्नुपर्ने भन्दै कुरेर बसेका थियौं, प्लेन क्र्यास (जहाज दुर्घटना) भयो भन्ने खबर आयो,’ रेनुले भनिन्, ‘मेरा श्रीमान त त्यो प्लेनमा थिएनन् होला भन्ने सोचेँ तर मैले सोचेको जस्तो भएन।’
जहाज दुर्घटनाका कहालीलाग्दा फोटा र भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुँदै थिए। सेती नदीले बनाएको खोँचमा खसेको जहाजबाट आगोको मुस्लो निस्किरहेको थियो। चारैतिर धुँवाले ढाकेको थियो।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर–७२ जहाजले अन्तिम पटक बिहान १०ः५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरेको थियो। पोखरा विमानस्थल कन्ट्रोल टावरले पहिलोपटक धावन मार्गको पूर्वतर्फ रन वे ३–० (तीन शून्य) बाट अवतरण गर्न अनुमति दिएको थियो। जहाज विमानस्थलबाट करिब १५ माइलनजिक आइपुगेपछि चालक दलले पश्चिमतर्फ रन वे १–२ (एक दुई) बाट अवतरण गर्न अनुमति मागेको थियो।
टावरले अनुमति दिएको केही मिनेटमै जहाज सेतीको खोँचमा खसेको थियो।
दुर्घटनाअघि पनि त्यसै दिन त्यही जहाज काठमाडौंबाट पोखरा आएर फर्केको थियो। बिहान ८ बजेको उडानमा उक्त जहाजमा पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडा थिए।
कमल नेपालका अनुभवी पाइलट थिए। अञ्जु सन् २००६ मा जुम्लामा भएको जहाज दुर्घटनामा उनका श्रीमान दीपक पोखरेलको निधन भएपछि पढेर पाइलट भएकी थिइन्।
बिहानको पहिलो उडानमा उनीहरूले धावनमार्गको पूर्वतर्फ रन वे ३–० बाट जहाज अवतरण गराएका थिए। दोस्रोपटक पनि तिनै पाइलटले जहाज उडाएका थिए जो दुर्घटनामा पर्यो।
कमलले जहाज उडाएको २० वर्षभन्दा बढी भएको थियो। उनले नेपालका सबैजसो विमानस्थलमा उडान गरेका थिए। उनले अन्तर्राष्ट्रिय उडान पनि गरेका थिए। उनी नेपालका प्रशिक्षक पाइलट थिए।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन (परीक्षण) उडान पनि गरेका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्नुअघि भएको क्यालिब्रेसन उडानमा कमलले धावनमार्गको दुबै तर्फबाट उडान र अवतरण गरेका थिए। भैरहवाको गौतमबुद्ध विमानस्थलमा पनि उनैले पहिलोपटक यती एयरलाइन्सको अवतरण गराएका थिए।
कमलले पोखराको नयाँ विमानस्थलमा क्यालिब्रेसन उडान गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका थिए। पोखरा विमानस्थल नजिकै डाँडाकाँडा भएकाले उडान अलिक कठिन हुने पनि उनको भनाइ थियो।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्न पाउँदा एकदमै खुसी छु। भैरहवामा पनि गरेको थिएँ,’ उनले भनेका थिए, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा अन्त यति नजिक डाँडाकाँडा हुँदैन, यहाँ (पोखरामा) गाह्रो छ।’
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छोटो छ पनि भनेका थिए।
‘यहाँ धावनमार्गको लम्बाइ छोटो छ, ८ हजार फिट मात्र छ,’ उनले भनेका थिए, ‘बाहिर (विदेशतिर) १० हजार फिट हुन्छ, काठमाडौंमा पनि १० हजार फिटको धावनमार्ग छ।’
छानबिन प्रतिवेदनले मानवीय कारणले उक्त दुर्घटना भएको निष्कर्ष दिएको छ।
प्रतिवेदनमा पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा दुर्भाग्यबस कन्डिसन लिभर तानेकाले जहाज दुर्घटना भएको उल्लेख गरेको छ।
विमानस्थलबाट पश्चिमतर्फ पुगेको जहाज मोडिएर फर्कंदा उक्त दुर्घटना भएको थियो। वरिपरि डाँडैडाँडा भएकाले मोडिने क्रममा नै पाइलटले उक्त गल्ती गरेको हुन सक्ने विमानस्थलका अधिकारीहरूको अनुमान छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई साता नपुग्दै भएको दुर्घटनाले पोखराको पर्यटनमा नकारात्मक असर परेको थियो। दुर्घटनाको भयले जहाजमा यात्रु घटेको र करिब ६ महिना असर परेको विमानस्थल कार्यालयले जनाएको छ।
त्यसपछि भने विमाननस्थल पूर्ववत् लयमा फर्किएको विमानस्थल कार्यालयकी सूचना अधिकारी जशोदा रेग्मीको भनाइ छ। उनका अनुसार सन् २०२२ मा ८ लाख ८० हजार यात्रुले पोखरा विमानस्थलको प्रयोग गरेका थिए। सन् २०२३ मा ९ लाख ४ हजारले प्रयोग गरे।
उनले भनिन्, ‘जहाज दुर्घटनाको असरले केही समय यात्रुको संख्या घट्यो। अहिले रिकभर (पूर्ववत् अवस्था) भइसकेको छ।’
उनले जहाज दुर्घटना हुनुमा विमानस्थलको कुनै कमजोरी नरहेको बताइन्। दुर्घटनापछि पनि नागरिक उड्डयन प्राधिकरणबाट कुनै खास निर्देशन पनि आएको छैन।
‘क्यालिब्रेसन भएर पूर्ण सञ्चालनमा आएको एयरपोर्ट हो, हामीले सुरक्षामा कुनै कसर बाँकी राखेका छैनौं,’ उनी भन्छिन्, ‘छानबिन प्रतिवेदनले पनि विमानस्थलको कारणले नभई पाइलटबाटै मानवीय त्रुटि भएको भनेको छ। हामीलाई नयाँ सर्कुलर (निर्देशन) केही आएको छैन।’
सरकारले उक्त दुर्घटनाका विषयमा जाँचबुझ गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले गत पुस १२ गते प्रतिवेदन बुझाएको थियो।
समितिले दिएको प्रतिवेदन र प्राधिकरण आफैंले गरेको अध्ययनका आधारमा पाइलटलाई थप जिम्मेवार बनाउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए।
उनका अनुसार निश्चित दूरीमा आइसकेपछि विमान अवतरणमा रन वे परिवर्तन गर्न दिइएको छैन।
‘पोखरा दुर्घटनापछि हामीले पाइलटलाई थप जिम्मेवार बनाउन हवाई कम्पनीहरूलाई भनेका छौं। निश्चित दूरीमा पुगेपछि रन वे परिवर्तन गर्न नदिने निर्णय गरेका छौं,’ सेतोपाटीसँग उनले भने, ‘पाइलटलाई जिम्मेवार बनाउन सकियो भने दुर्घटना कम गर्न सकिन्छ।’
उड्नुअघि जहाज उडाउन चालक दल पूर्ण रूपले तयार छ, जहाजको अवस्था ठीक छ र ठीक ढंगले उडान हुन्छ भन्ने पक्का हुनुपर्ने पनि उनले बताए।
उडिरहेको विमानले अगाडि मौसम खराब छ भने पनि जबरजस्ती गर्ने, जस्ता समस्या देखिएको भन्दै उनले विगतमा जस्तो गल्ती नगर्न पाइलटलाई निर्देशन दिएको बताए।
‘यसअघि यस्तै खराब मौसममा पनि उडाएका थियौं, आज किन नउडाउने भन्ने कुरा आउँछ। पहिलेको कुरा गरेर हुँदैन भनेका छौं,’ उनले भने, ‘चालक दल सजग र सचेत भयो भने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।’
प्रवक्ता भुलका अनुसार छानबिन प्रतिवेदनले नयाँ विमानस्थल सञ्चालन भएपछि पाइलटलाई उडान र अवतरणको यथेष्ट अभ्यास गराउन पनि सुझाव दिएको छ।