अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट उत्तरतर्फ करिब १५ किलोमिटर यात्रा गरेपछि अग्लो पहाडी थुक्कोमा पुगिन्छ।
थुम्को वरिपरिका डाँडाहरू सल्लो र चिलाउनेका बोटले हरिया देखिन्छन्। त्यो थुम्को आफैँ भने ढुंगाको जंगलले भरिएको छ।
ढुंगाको जंगल? हो, ढुंगाको जंगल!
फलामजस्तै काला ढुंगाको चट्टानले ढाकिएको जालकाँडा लेक ढुंंगाको जंगलजस्तै देखिन्छ। त्यो ढुंगे जंगल अहिले देशी–विदेशी पर्यटकआकर्षित गर्ने ‘ढुंगे बगैँचा’ अर्थात् ‘रक गार्डेन’ को रूपमा विकास हुँदै छ।
सन्धिखर्क नगरपालिका–११ स्थित जालकाँडा रक गार्डेन नामले चिनिन थालेको छ।
वरिपरिका डाँडाहरू हरियाली देखिँदा जालकाँडा डाँडो भने प्राकृतिक रुपमै काला ढुंगाहरूले सिँगारिएको छ। घाँसले भरिएको पहाडी भूमिमा अनेक आकृतिका काला ढुंगा फलामका मूर्ति बिच्छाएजस्तै देखिन्छन्। मैदानजस्तो भए पनि चट्टानले ढाकिएका कारण ठूला बोटविरुवा छैनन्।
अहिले तिनै काला फलामे ढुंगाको संरक्षण गर्दै सन्धिखर्क नगरपालिका र वडा ११ नम्बर कार्यालयले रक गार्डेन बनाएर पर्यटकीय स्थलको रूपमा विकास गर्दैछन्। जिल्लाकै अग्लो डाँडा मध्ये पर्ने जालकाँडामा विभिन्न बोटविरुवा र मूर्तिको आकृतिमा प्राकृतिक रूपमै ढुंगा सजिएका छन्।
वडा नम्बर ११ का वडाध्यक्ष चेतनारायण आचार्यका अनुसार चट्टानले ढाकिएको डाँडोलाई पर्यटकीय स्थलका रूपमा विकास गर्र्ने काम भइरहेको छ। नगरपालिकाको पूर्ववर्ती राजनीतिक नेतृत्वले रक गार्डेन बनाउने काम अघि बढाएको थियो। हालको नेतृत्वले त्यसलाई निरन्तरता दिएको छ।
नगरपालिकाको योजनाअनुसार लुम्बिनी प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट दिएको थियो। उक्त बजेटबाट नगरपालिकाले प्रवेशद्वार, शौचालय वनभोजस्थल लगायतका संरचना निर्माण ग¥यो। अहिले खेलमैदान बनाउने र खानेपानी पु¥याउने काम हुँदैछ। खानेपानीका लागि लिफ्टिङ प्रणाली अपनाइएको छ।
‘पहिलेको प्रदेश सरकारले १० लाख रुपैयाँ दिएको थियो। अहिलेको सरकारले डेढ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएको छ,’ वडाध्यक्ष आचार्य भन्छन्, ‘नगरपालिकाबाट पनि रक गार्डेनको लागि बजेट विनियोजन भएको छ।’
उनले रक गार्डेन जिल्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने विश्वास रहेको बताए। ढुंगाको बगैँचाका रूपमा विकास गरी प्रचारप्रसार गर्न सके आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने सम्भावना उनले देखेका छन्।
सन्धिखर्कबाट रक गार्डेनसम्म प्रदेश सरकारको सहयोगमा सडक बनेको छ।
यस ठाउँको प्रवद्र्धनको लागि तिनै तहका सरकारले चासो दिनुपर्ने स्थानीयवासीको भनाइ छ।
‘रक गार्डेनका रूपमा विकास हुँदै गएपछि आन्तरिक र वाह्य पर्यटकहरू आउन थालेका छन्,’ स्थानीय बासिन्दा माधव खनाल भन्छन्, ‘काला ढुंगाले भरिएको डाँडो व्यवस्थित गर्न सकिए पर्यटकको कमी हुँदैन भन्ने प्रष्ट भएको छ।’
रक गार्डेन बनाइएको अधिकांश जमिन स्थानीय विजय माध्यमिक विद्यालयको नाममा छ। नगरपालिकाले विद्यालयको सहित ३८० रोपनी जमिन रक गार्डेनका रूपमा छुट्याएको छ। ढुंगे डाँडोबाट आम्दानीविहीन रहेको विद्यालयले रक गार्डेनबाट आम्दानी लिन सक्ने भएको छ।
रक गार्डेनबाट उत्तरतर्फ विभिन्न हिमशिखरहरू अवलोकन गर्न सकिन्छ। दक्षिणतर्फ तराईको समथर भूभागसँगै लुम्बिनी प्रदेशका केही जिल्ला देखिन्छन्। प्रकृतिको वरदान भएर आएको ढुंगैढुंगाको डाँडालाई प्राकृतिकरूपमै सजाएर लाभ लिन सकिने खनालको विश्वास छ।
यहाँका ढुंगा मानिसले योजनाबद्धरूपमा कलात्मक ढंगले सजाएजस्तै देखिन्छन्। सदियौँदेखि घामपानीले खिइँदै अनेक आकृतिका बनेका छन्। ढुंगाभित्रै बोटविरुवा, फूल, देवीदेवता जस्ता आकृति अनुभव गर्न सकिन्छ। यो ठाउँलाई ढुंगाको जंगल भने पनि हुन्छ।
रक गार्डेननजिकै रहेको सयौँ वर्ष पुरानो सिद्धथान मन्दिर पुनरुत्थान गर्न सके धार्मिक पर्यटक समेत आकर्षित गर्न सकिने वडा अध्यक्ष आचार्यको भनाइ छ। उनका अनुसार हाल रक गार्डेन अवलोकनका आन्तरिक र वाह्य पर्यटकको संख्या बढ्दै गए पनि व्यवस्थित तथ्यांक राख्न सकिएको छैन।
अब चाँडै तथ्यांक राख्ने व्यवस्था हुन लागेको छ। उनी भन्छन्, ‘दुई हप्ताभित्रै पर्यटकको तथ्यांक राख्न सुरु हुन्छ। कर्मचारी खटाएर तथ्यांक राख्छौँ।’
गर्मी मौसममा चिसो हावा चल्ने र जाडोमा घाम लाग्ने भएकोले यहाँको वातावरण पर्यटकका लागि वर्षभरि नै अनकूल मानिएको छ।
यसअघि जालकाँडामा प्याराग्लाडिङ उडान परीक्षण गरिएको थियो। जालकाँडाबाट उडेर डिभर्नाको कबिर बिहारमा अवतरण गरेको उडान सफल भनिएको भए पनि प्याराग्लाइडिङको चर्चा हराएको छ।