त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार विभाग विस्तार गरिएको छ।
बुधबार विमानस्थलले अराइभलतर्फको भन्सार विभाग विस्तार गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए।
उनका अनुसार अध्यागमन पास भएपछि पनि भन्सार चेकका लागि लामो समय कुरेर बस्नुपर्ने गुनासो आएको थियो।
'अराइभलतर्फ प्रतिदिन १४ हजार यात्रुको आवागमन हुने गरेको छ,' उनले भने, 'अध्यागमन पास भइसकेपछि भन्सार चेकका लागि कुरेर बस्नुपर्ने गुनासो आएपछि भन्सार विभाग विस्तार गरिएको हो।'
क्यानसँग समन्वयन गरी विमानस्थलको भन्सार विभाग विस्तार गरिएको उनले बताए। भन्सार विभाग विस्तार भएसँगै बढीमा १० मिनेटमा भन्सार क्लियरेन्स गरेर यात्रुलाई पठाउने उनले बताए।
यस्तै, अहिले अराइभल क्षेत्रमा लगेजका लागि डेडिकेटेड स्टाफ खटाएको समेत उनले बताए।
'सकेसम्म छिटो लगेज पाउने व्यवस्था मिलाउन डेडिकेटेड स्टाफ खटाएका छौं,' उनले भने, 'त्यसको लागि ग्राउण्ड ह्यान्डलिङ पाएको एनओसी र अपरेसनमा रहेको क्यानको पनि साथ छ।'
न्याथम कलेजसँग समन्वयन गरी हस्पिटालिटी म्यानेजमेन्ट पढेका विद्यार्थीहरूलाई समेत खटाइएको उनले बताए। उनका अनुसार विदेशी पर्यटकलाई सबै कुरा बुझ्न सहयोग होस् भनेर उनीहरूलाई खटाइएको हो।
त्यसैगरी पहिले दुइटा मात्र भएको एक्सरे बेल्ट थपेर चार वटा बनाइएको छ। जसमा नेपाली, भारतीय र विदेशी नागरिकलाई छुट्टै लाइन र महिलाका लागि पनि छुट्टै लाइनको व्यवस्था गरिने उनले बताए।
विमानस्थलको ब्युटिफिकेसन गर्नुका साथै सर्भिसमा पनि परिवर्तन ल्याएको उनको जिकिर छ।
तस्बिसरहरूः