‘ल है हिमालबाट कर्याङकुरूङ आए फर्सी, काँक्रा रोप।’
जाडो सुरू भएपछि आकासतिर हेर्दै बुढापाकाले भन्ने गरेको यो वाक्य दिव्यनगरका टिकाराम पौडेलको मानसपटलमा अहिले पनि ताजै छ। क्यालेन्डरको प्रयोग नहुने समयमा पनि कर्याङकुरूङले समयको सूचना दिन्थे। त्यसपछि खेतबारीमा काँक्रो, फर्सी लगाउने काम सुरू हुन्थ्यो।
४० वर्षीय पौडेल अहिले चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको कालाबञ्जर मध्यवर्ती उपभोक्ता समितिको कोषाध्यक्ष छन्। यस वर्षको अहिलेसम्म दिव्यनगर क्षेत्रमा उनले कर्याङकुरूङ भनेर चिनिने लक्ष्मण सारस(कमनक्रेन) देखेका छैनन्।
‘धान काट्ने समयमा ठूलो संख्यामा आकासै ढाक्लाझैँ गरी कर्याङकुरूङ आउँथे। त्यतिखेर दिव्यनगर क्षेत्रमा ठूला फाँट थिए। ती फाँटमा चराहरू भेडा चरेझैँ चर्थे। उनीहरूको आफ्नै सुरक्षा प्रणाली हुन्थ्यो। केही चरा खेतको छेउ–छेउमा उभिएर खतराको सूचना अन्यलाई दिन्थे। दिनभर धानखेतमा चरेर साँझ नारायणीको किनारतिर जान्थे,’ पुराना दिन सम्झँदै पौडेल भन्छन्, ‘केही वर्षदेखि घट्दै थिए। यसपाली त देख्नसम्म पाइएको छैन।’
कर्याङकुरूङ युरोपका विभिन्न देश, मंगोलिया, अफ्रिका, इरान लगायतका स्थानमा मुख्य बासस्थान रहेको लोपोन्मुख चरा हो।
गर्मीयाममा आफ्नै ठाउँमा बसेर अण्डा पार्ने, बच्चा कोरल्ने यी चरा जाडो लागेपछि नेपाल, भारत लगायतका दक्षिण एसियन देशहरूमा पुग्ने गर्छन्।
वर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष रमेश चौधरीकाअनुसार यी चरा २७ सय किलोमिटर भन्दा बढी उडेर मंगोलियाबाट जाडो छल्न नेपाल आउँछन्।
यात्राकोक्रममा यिनीहरू मंगोलियाबाट कम्तिमा पनि पाँच ठाउँमा बास बस्दै नेपाल आइपुग्ने गरेको र चितवन आइपुग्नुअघि मुस्ताङको फापरबारीमा केही समय बिताउने गरेको भेटिएको चौधरीले बताए।
बसाइसराइका क्रममा यी चरा १० हजार मिटर उचाइसम्म उड्ने गर्छन्।
वर्ड एजुकेसन सोसाइटी सौराहाका अर्का पूर्वअध्यक्ष वासु बिडारीकाअनुसार सन् २०१६ मा चितवनको दिव्यनगरमा यो चरा एकैपटकमा १५२ वटा भएको रेकर्ड गरिएको थियो। एक दशकदेखि कमन कर्नको अवस्था बुझ्दै गर्दा यसभन्दा बढी संख्यामा यो चरा कहिल्यै पनि नदेखिएको उनले बताए।
धान खेती हुने ठूला फाँट, पर्याप्त सिमसार क्षेत्र, नजिकै जंगल र नारायणी नदी, शान्त वातावरण भएकाले भरतपुर महानगरपालिकाको वडा नम्बर २६ मा पर्ने दिव्यनगर पाहुना चराको रोजाइको ठाउँ बनेको थियो। बस्ती, उद्योग, व्यवसाय बढेर मान्छेको चहलपहल बाक्लिएपछि पाहुना चराको संख्या घट्न थालेको उनी बताउँछन्।
‘पोल्ट्री, माछापालन व्यवसायहरू बढ्दै गए। उद्योग पनि खुले। घर धेरै बने, सडकमा, खेतमा पनि बिजुलीका पोल गाड्न थालियो। नदीमा उत्खनन् बढ्न थाल्यो। २०५४ सालतिरबाट पाहुना चराहरू घट्न थाले,’ पौडेल भन्छन्।
जाडो सुरू भएपछि कर्याङकुरूङसँगै खोया हाँस (बार–हेडेड गुज), चखेवा (रूडी सेलडक), सिँदुरे हाँस (रेड क्रेस्टेट पोचार्ड), सुइरो ठूँडे जलेवा(डार्टर), कालो गरूड, सेतो गरूड, बगाले बगेडी (एलो ब्रेष्टेड बण्टिङ), जलेवा(कर्मरेन्ट), चिल, बाजहरू पनि लामो दुरी पार गर्दै नेपाल आइपुग्ने गरेको वर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष टिकाराम गिरी बताउँछन्। उनकाअनुसार हिउँदमा २०० बढी प्रजातिका चराहरू विभिन्न देशबाट बसाइ सरेर नेपाल आउने गरेको पाइएको छ। तीमध्ये कतिपयले नेपालको बाटोमात्रै प्रयोग गर्छन। केही दिन बसेर दक्षिणतिर लाग्छन्। हिउँदमा आउने चराहरूमध्ये दुई दर्जनबढी हाँसका प्रजाति रहेको उनले बताए। अन्य साना पानी, घाँसे मैदानमा आश्रित चरा आउँछन्।
विदेशबाट जाडो छल्न आउने चरा चितवनमा मात्रै ५४ प्रजातिका भेटिएका छन्। हिउँदे चराहरू नेपाल आउनेक्रम करिब दुई महिनादेखि सुरू भइसकेको छ। उनीहरू यहाँ करिब पाँच महिना बसेर फर्कन्छन्।
नेचर गाइड एसोसिएसन चितवनको मेघौली–घडगाईं उपसमितिका संयोजक मनेष लिम्बुले यसपाली दिव्यनगर क्षेत्रमा बढीमा २७ वटामात्रै कर्याङकुरूङ देखिएको बताए। गतवर्ष चरा गणनामा यस क्षेत्रमा एक सय बढी संख्यामा कयाङकुरूङ रेकर्ड गरिएको थियो।
यस वर्ष केही दिनअघि दिव्यनगरका खेतमा ठूलो संख्यामा खोया हाँस रेकर्ड भएको लिम्बुले बताए।
‘एकै पटकमा करिब पाँच सयवटा खोया हाँसहरू रेकर्ड भएका थिए। यसपाली कर्याङकुरूङ कम भएपनि खोया हाँस ठूलो संख्यामा आएको देखियो,’ लिम्बुले भने, ‘चखेवा धेरै देखिएका छन्। खोलाको किनारतिर जलेवाहरू पनि प्रसस्तै देखिएका छन्।’
खोया हाँसहरू मंगोलिया, चीन, मध्य एसियातिरबाट विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा माथिको उचाइबाट उँड्दै नेपाल आइपुग्छन्।
कालाबञ्जर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष इन्द्रराज तामाङले २०–२२ वर्ष पहिले नारायणी नदी नै छोप्नेगरी आउने गरेका कालो रंगका हाँसहरू अचेल निकै कम देख्ने गरेका छन्। उनकाअनुसार जलेवा भनेर चिनिने कर्मरेन्टहरू आउँदा कहिले काहिँ त नदीमा पानी नै देखिँदैनथ्यो रे! चराहरू नदीमा डुबुल्की मार्दा माछाहरू अताल्लिएर पाखामा पुग्थे रे! मान्छेले मारेर खाने चलन बढेपछि पाहुना हाँसहरू बिस्तारै घट्दै गएको उनले बताए।
जलेवाको चुच्चो लामो पातलो र झुकेको हुन्छ। यसको आहारा माछा हो। उनीहरू पानीमा डुबुल्की मारेर माछाको सिकार गर्छन्। कर्मरेन्टका केही जातिले पानीमा ४५ मिटर गहिराइसम्म पुगेर माछा समात्ने गरेको पाइन्छ। उनीहरूका छोटा पखेटा यसका लागि सहयोगी हुन्छन्। यिनीहरू तटीय क्षेत्र आसपास, रूख, टापु र चट्टानमा गुँड बनाउँछन्। उनीहरूलाई सफा र ताजा पानीका सूचकका रूपमा पनि चिनिन्छ।
किन मरिरहेका छन् चरा?
दिव्यनगर क्षेत्रमै नारायणी नदी नजिकै गत सोमबार एउटा चखेवा मृत भेटियो। स्थानीय बासिन्दाकाअनुसार त्यो चखेवाको लक्ष्णहरू हेर्दा विष सेवन गरेको जस्तो देखिन्थ्यो। अघिल्लो शनिबार सोही क्षेत्रमा ठुँडबाट र्याल काड्दै गरेको अर्ध चेत अवस्थामा एउटा खोया हाँस भेटियो। समयमै उपचार पाएपछि बिरामी हाँस तंग्रियो। पछि ऊ उँड्न पनि सफल भयो। त्योभन्दा केही दिनअघि दिव्यनगर क्षेत्रमै तीनवटा खोया हाँस मृत भेटिएको स्थानीयबासी बताउँछन्।
वर्ड एजुकेशन सोसाइटी सौराहाका अध्यक्ष टिकाराम गिरीले बेलाबेलामा देशका विभिन्न ठाउँहरूमा हिउँदमा आउने पाहुना चरामा मरेका खबर सुन्ने गरे पनि पछिल्ला दिनमा चितवनमै यस्ता घटना बढ्न थालेको बताए। धान काटेपछि खेतमा विषादी मिसाइदिने र त्यो खाएर मरेको हाँस प्रजातिका चराको मासु खाने चलन पुरानो रहेको उनले बताए।
‘हाँसको मासुको माग बढी छ। खाने मान्छेलाई उस्तै लाग्छ। खेतमा विष हालिदिएपछि हाँस मर्छ मरेपछि खाने पुरानै चलन हो। तर चितवनमा यस्ता घटना कम हुन्थे। यसपाली टार्गेटै गरे, डर लाग्दो अवस्था भयो,’ गिरीले भने, ‘शिक्षाको कमीका कारण यस्तो भएको हो। जंगली खान पाउँदा खुसी हुने अवस्था आउन दिनहुँदैन। चरा र हाम्रो सम्बन्धबारेमा जानकारी समुदायस्तरमा पुर्याउनुपर्छ। स्थानीय सरकारको पनि चासो र कार्यक्रम चाहिन्छ।’
उनले दिव्यनगर क्षेत्रमा चरा सम्बन्धी सचेतना जगाउन पाहुना चराहरूको महत्त्वलाई समेटेर होडिङ बोर्डहरू राखेको केही दिनमै घटना भएको बताए। यहाँ भरतपुर–२६ को सहयोगमा सचेतनामूलक होडिङ बोर्डहरू राखिएको थियो। ‘सिध्धिएपछि सिध्धियो भनेर पछुताएर काम छैन। अहिले नै संरक्षण गर्नुपर्छ,’ गिरी भन्छन्।
नेचर गाइड लिम्बूले खेती प्रणालीमा भएको परिवर्तनको असर चराहरूमा परिरहेको बताए। ‘चराहरू के कारणले मरिरहेका छन् भन्ने कुरा पछि पुष्टि होला। तर अनुमान विषादीको सेवनबाट हो कि भन्ने छ,’ लिम्बू भन्छन्, ‘अचेल खेती बालीमा विषादीको अत्यधिक प्रयोग हुन थालेको छ। आहारा खाने क्रममा विषादी परेर चराहरू मरेको अनुमान गर्न सकिन्छ।’
विषादीको प्रयोगबाहेक मासुका लागि चरा मार्ने चलन पनि उत्तिकै रहेको उनी बताउँछन्।
केही वर्ष अघिसम्म प्रशस्तै देखिने गरेको बगाले बगेडी भनिने एलो ब्रेष्टेड बण्टिङ अचेल कम देखिन थालेको लिम्बूले बताए। एकै ठाउँमा उँड्ने, एकै ठाउँमा बस्ने यो चरा अति संकटापन्न अवस्थामा छ। ‘पहिले हजारौंको संख्यामा देखिने यो चरा अचेल ५०–६० वटामात्रै देखिन्छन्। त्यति देख्दा पनि खुसी लाग्छ,’ लिम्बू भन्छन्, ‘यो एकै ठाउँमा बस्छ, सँगै उँड्छ। राति बसेको ठाउँमा मान्छेले जाल हालेर एकै पटक मारिदिन सक्छ,’ उनी भन्छन्, ‘त्यसैले यो चरा अति संकटापन्न अवस्थामा पुगिसकेको छ।’
उनले जाडो छल्न परबाट आएका पाहुना चराहरू आधा किलो मासुको लागि निसानामा पर्दा निकै दुःख लाग्ने गरेको बताए।
समुदायमा आधारित चोरी सिकार नियन्त्रण इकाईमार्फत् जैविक विविधता संरक्षणमा काम गर्दै आएका संरक्षणकर्मी विकास पाठक खेती बालीमा अत्याधिक विषादीको प्रयोगकै कारण चराहरू खतारामा परिरहेको बताउँछन्। ‘हाम्रो वरिपरि प्रशस्तै देखिने गौँथलीहरू देखिन छाडे, बगेडा चराहरू पनि अचेल कम देखिन्छन्। अन्य धेरै चराहरू विस्तारै लोप हुँदै जान थालेका छन्,’ पाठक भन्छन्, ‘संरक्षणसम्बन्धि जनचेतनाको कमीका कारण यस्तो भइरहेको छ।’
उनी चराले खेतीबालीलाई असर पुर्याउने किरा फट्यांग्रा खाइदिएर मान्छेको हित गर्ने भए पनि त्यो कुरा नबुझ्दा समस्या बढेको बताउँछन्। खेतीबालीमा प्रयोग गरिने विषको कारणले मात्रै नभएर मासुका लागि शिकार गर्ने गिरोह सकृय हुँदा पाहुना चराहरूको संख्या घट्दै गएको बताए।
‘यसलाई नियन्त्रण गर्न सचेतना अभियानलाई बढाउनुपर्छ। संरक्षणका लागि काम गर्ने संस्थालेमात्रै नभएर कृषिमा काम गर्ने निकाय, स्थानीय तह, सुरक्षामा काम गर्ने कार्यालयहरूको पनि समन्वय आवश्यक पर्छ,’ पाठक भन्छन्, ‘सबै मिलेर लाग्दामात्रै जैविक विविधता जोगाउन सकिन्छ।’
उनले धेरै परबाट आउने चराहरूको संरक्षणका लागि दिव्यनगर क्षेत्रका खेतहरूमा विषादी नियन्त्रण गरेर जैविक मल प्रयोग गरी अर्गानिक खेती गर्नुपर्ने बताए।
दिव्यनगर क्षेत्रमै कार्यालय रहेको कालाबञ्जर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ स्रोतको अभावमा संरक्षणका कामहरू गर्न नसकेको बताउँछन्।
‘हामीले चाहेको योजना पाइँदैन। निकुञ्जले योजना, कार्यक्रमसहित बजेट पठाउँछ। त्यसलाई अन्यत्र खर्च गर्न मिलेन। अरू काम आन्तरिक स्रोतबाट गर भन्छन्,’ तामाङले भने, ‘आन्तरिक स्रोत नहुँदा एक जना कर्मचारीलाई तलब दिन पनि नसक्ने अवस्था छ। संरक्षणको काम कसरी गर्ने, जनचेतनाका अभियान कसरी सञ्चालन गर्ने?’ आन्तरिक स्रोत शून्य हुँदा ६ महिनादेखि कार्यालय सचिवलाई तलब दिन नसकेको उनले बताए।
‘हाम्रो ठाउँमा संभावना धेरै छन् तर संरक्षणका काम गर्न बजेट नै भएन। यो कुरा निकुञ्जका वार्डेन, सहायक वार्डेनलाई धेरै पटक भनेको छु, मध्यवर्ती काउन्सिलको बैठकमा कुरा उठाएको छु तर सुनुवाइ भएको छैन। मध्यवर्ती उपभोक्ता समितिको कार्यालय बन्द गर्नुपर्ने स्थिति आएको छ,’ तामाङले भने।
यस समितिमा गत आर्थिक वर्षमा साढे ११ लाख रूपैयाँको योजना आएको थियो। यस वर्ष साढे २३ लाखको आएको छ। यो बजेट भ्यू टावर निर्माण, सामाजिक भवन, विपन्न विद्यार्थीलाई स्टेशनरी, नदीमा आश्रित परिवारलाई सहयोग, पिसिसिसहितको मेसवाल निर्माणलगायतका काममा खर्च हुँदैछ।
‘आफूले खर्च गर्न पाउने ८–१० लाख रूपैयाँ स्रोत भए सचेतनाका कार्यक्रम गर्न पाइन्थ्यो। चरा मार्दा के घाटा हुन्छ भनेर समुदायलाई बुझाउन, सतर्क बनाउन, नियन्त्रण गर्न सकिन्थ्यो,’ उनी भन्छन्, ‘तर अहिले चाहेर पनि काम गर्न सकिएको छैन।’
मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको समुदायमा आधारित चोरी शिकार नियन्त्रण इकाईका अध्यक्ष बसन्त रानाले चितवनमा धेरै चरा मर्दा संरक्षणकर्मीलाई लाजैमर्नु भएको बताए। ‘तपाईंकोतिर भसक्कै चरा मरे, किन यस्तो भयो भनेर धेरैतिरबाट फोन भइराखेको छ। हाम्रो त इज्जतै गएको छ,’ उनले भने, ‘देश विदेशबाट चरा हेर्न आउने ठाउँको यो हविगत हुनु हामी सबैको लागि दुःखको कुरा हो।’
रानाले पाहुना चराहरू दिव्यनगर क्षेत्रमामात्रै नभएर रामसार क्षेत्रमा सूचीकृत बिसहजारी ताल आसपासमा पनि घटिरहेको बताए। ‘बिसहजारी तालतिर पहिले धेरै चरा बस्थे। सइबेरिया, चाइनातिरबाट जाडो छल्न प्रसस्तै चरा आउँथे। अचेल आधा बढीले घटेको छ। पहिले चराले रूखहरू पूरै भरिन्थे। अचेल निकै कम देखिन्छन्,’ राना भन्छन्, ‘तालहरू सफा गरेर मान्छेको चहलपहल बढाइयो। सुकेका रूख कम भए। गत वर्षदेखि चराको संख्या कम देखिएको छ।’
उनले चरा घट्दा पर्यटनमा असर परिरहेको बताए। वन्यजन्तु र चरा हेर्न, अध्ययन गर्न चितवन आउने पर्यटक, अध्येताहरू निरास भएर फर्कनुपरेको उनले बताए।
नेपालमा हाल ८९४ प्रजातिका चरा रहेको पछिल्लो तथ्यांक छ। सोसाइटीकाअनुसार चितवनमा मात्रै ६५५ भन्दा बढी प्रजातिका चरा छन्।