माछापुच्छ्रे गाउँपालिकाले मर्दी पदमार्गमा राखेको पर्यटक सूचना केन्द्र स्थानीय व्यवसायीले हटाइदिएका छन्।
सूचना केन्द्रमार्फत पर्यटकलाई मौसम लगायत पदमार्गको जानकारी गराउने र पर्यटकसँग पर्यटन शुल्क उठाउन उक्त केन्द्र स्थापना गरिएको थियो।
गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ मा टेकेर गत कात्तिक १७ गतेदेखि उक्त सूचना केन्द्र संचालनमा ल्याएको थियो। सूचना केन्द्रमार्फत विदेशी पर्यटकलाई जनही ५ सय रुपैयाँ र नेपालीलाई जनही सय रुपैयाँ पर्यटन सेवा शुल्क पनि उठाउँदै आएको थियो। गाउँपालिकाले उठाएको पर्यटन सेवा शुल्कसँग व्यवसायी रुष्ट थिए।
पदमार्गको हुमाल (लो क्याम्प)मा राखिएको सूचना केन्द्र आइतबार बिहान स्थानीय व्यवसायीले हटाएको गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताए।
‘हामीले कानुनसम्मत राखेको सूचना केन्द्र गैरकानुनी रूपमा व्यवसाय चलाएका व्यवसायीले हटाएका छन्, सूचना केन्द्रमा राखिएको पर्यटन शुल्क रसिद पनि उनीहरूले लगेका छन्,’ आचार्यले भने, ‘यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई अनुरोध गरेका छौं।’
उनका अनुसार गाउँपालिकाको पर्यटक सूचना केन्द्र हटाउने व्यवसायीहरूले संरक्षित क्षेत्रको जग्गामा जबरजस्ती होटल व्यवसाय संचालन गरेको बताए।
‘गैरकानुनी रूपमा होटल चलाएका व्यवसायीले गाउँपालिकाको सूचना केन्द्र कब्जामा लिएका छन्,’ उनले भने, ‘उनीहरूले गाउँपालिकाको कागजात पनि लिएर गएका छन्।’
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरूङले गाउँपालिकाले संविधान, स्थानीय सरकार संचालन ऐन र गाउँपालिकाको आर्थिक ऐनको अधिनमा रहेर पर्यटक सूचना केन्द्र संचालन गरेको बताए। सूचना केन्द्र स्थापना भएदेखि अहिलेसम्म १६ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको उनले जानकारी दिए।
‘पर्यटक सूचना केन्द्रबाट पर्यटकलाई मौसम, पदमार्ग लगायतको सूचना दिन्छौं, हराएका पर्यटकको खोजी गर्छौं,’ उनले भने, ‘यो पैसा अन्यत्र खर्च गर्ने होइन, पदमार्ग संरक्षण र पर्यटकको सुरक्षामा मात्र खर्च गर्छौं।’
सूचना केन्द्रसँगै पर्यटकबाट उठेको पर्यटन शुल्कबाट पदमार्गमा स्वास्थ्यकर्मी, उद्धारकर्मी लगायतको व्यवस्था गर्ने कार्ययोजना पनि रहेको गुरूङले बताए। जथाभावी रूख कटानलाई नियन्त्रण र जैविक विविधताको संरक्षणमा पनि आगामी दिनमा गाउँपालिकाले काम गर्ने तयारी गरेको उनको भनाई छ।