काठमाडौंको ठमेलमा अंग्रेजी नयाँ वर्षको अवसरमा 'न्यू इयर इभ ठमेल सडक महोत्सव' आयोजना हुने भएको छ।
आगामी आइतबार साँझ सन् २०२३ को डिसेम्बर ३१ (पुस १५) मा विविध कार्यक्रम गरी सडक महोत्सव गरिने ठमेल पर्यटन विकास परिषदले जनाएको छ।
महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले गर्नेछन्। महोत्सवमा १ लाख ८० हजार बढी स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने परिषदका अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।
उनका अनुसार महोत्सवमा २२ लाख खर्च गरिने भएको छ। आइतबार साँझ साढे ५ देखि सुरू भएर साढे १२ बजे समापन हुनेछ।
ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनलाई पहल गरिने अध्यक्ष शर्माले बताए। सो दिन व्यवसायीले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गर्न पाउनेछन्।
उनका अनुसार महोत्सवमा धिमे बाजा, लाखे नाच तथा अन्य मौलिक सांस्कृतिक कार्यक्रम हुनेछ।
महोत्सवलाई लक्षित गरी सुरक्षा व्यवस्थाका लागि काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरिएको उनले बताए।