प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको बताएका छन्।
मंगलबार आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ठूलो खर्च भएको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल भइरहेको बताएका हुन्।
'ठूलो खर्च भएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सकेको छैन। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल भइरहेको छ,' उनले भने।
हाल दुबै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानहरूलाई विमानस्थलको सेवा शुल्कमा शत प्रतिशत छुट दिएर प्रोत्साहन गरिएको छ।
प्रधानमन्त्री प्रचण्डले निजगढ विमानस्थलको समेत निर्माण सुनिश्चित गरी हाल सञ्चालनमा रहेका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा विस्तार सार्वजनिक तथा निजी साझेदारी मोडलमा अघि बढाउने विकल्पमा छलफल भइरहेको बताएका छन्।