नेपाल वायुसेवा निगमले आफ्ना ५ वटा चिनियाँ जहाज लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाएको छ।
लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड रहेका पाँचवटै जहाज लिलाम बिक्रीका लागि निगमले गत बिहीबार सूचना जारी गरेको हो।
निगमले गोप्य सिलबन्दी टेन्डर आह्वान गरेको छ। निवेदन दिने म्याद ४ फेब्रुअरी अर्थात् आगामी माघ २१ सम्म छ।
जहाज बिक्रीका लागि अमेरिकी कम्पनी एभिएसन एसेस्ट म्यानेजमेन्ट इन्टरनेसनलले मूल्य निर्धारण गरिसकेको निगमले जनाएको छ।
निगमसँग कुल ६ वटा चिनियाँ जहाज थिए। यीमध्ये एउटा जहाज तीन वर्षअगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै ग्राउन्डेड छ। अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बेच्न लागिएको हो।
निगमका यी जहाज २०७७ साउन १५ देखि ग्राउन्डेड छन्।