संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले 'ग्राउन्ड ह्यान्डलिङ' सेवा वायुसेवा निगमले पाउने कि नपाउने भन्नेबारे राष्ट्रिय सहमति गरेर अघि बढ्नु पर्ने बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनौट भएका संस्थामार्फत् गरिने निर्णय गरेसँगै मन्त्री किरातीले यस्तो बताएका हुन्।
'ग्राउन्ड ह्यान्डलिङ सेवा निगमको जीवन हो। निगम राख्ने कि नराख्ने भन्ने सवाल कुनै महानिर्देशक वा मन्त्रीको मात्र हुँदैन,' उनले भने, 'प्रधानमन्त्रीको पनि चासोको विषय हो। यसका लागि राष्ट्रिय सहमति चाहिन्छ।'
ग्राउन्ड ह्यान्डलिङमा प्रतिस्पर्धा गर्ने भनेसँगै वायुसेवा निगमका कर्मचारीहरू आन्दोलित छन्। आइतबार देखिनै निगमभित्र आन्दोलन भइरहेको छ। मन्त्री किरातीले निगमका कर्मचारीहरूलाई आन्दोलनभन्दा पनि परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
'एउटा निकायले निर्णय गर्यो भन्दैमा आत्तिएर र आन्दोलन गरेर संस्था र देशलाई बदनाम गर्न हुँदैन,' मन्त्री किरातीले सेतोपाटीसँग भने।
निगमले ५ दशकदेखि त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा दिइरहेको छ। हाल २८ वटा एयरालाइन्सका ८० भन्दा बढी (दुईतर्फी)उडानका लागि निगमले यस्तो सेवा दिइरहेको छ।
ग्राउन्ड ह्यान्डलिङबाट आर्थिक सपोर्ट पाएकाले नै राष्ट्रिय दायित्वको काम गरिरहेको समेत मन्त्री किरातीले बताए।
उनका अनुसार निगमले पहाडी क्षेत्रमा घाटामै उडान गरिरहेको छ। साथै आपत विपद्का समयमा पनि निगम जुनसुकै ठाउँमा पुगेको समेत स्मरण गराए।
प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) बमोजिम त्रिभुवन विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्थामार्फत गराउका लागि कमिटी समेत गठन गरिसकेको छ। ऐन, कानुनलाई कार्यान्वयन गराउन प्राधिकरण लागि परेको छ।
यस विषयमा मन्त्री किरातीले भने राष्ट्रिय आवश्यकता के हो त्यसमा ध्यान दिनुपर्ने बताए। 'ऐन अनुसार त पहिले संसद पनि विघटन भएको हो नि तर जनताले त्यसलाई उल्टाए। त्यसैले ऐन कानुनको मात्र विषय होइन। राष्ट्रिय हित गर्छ कि गर्दैन। त्यो मुख्य विषय हो,' मन्त्री किरातीले भने।
उनले पछिल्लो पटक इयु (युरोपेली युनियन)ले पठाएको प्रतिवेदनअनुसार नेपालले हवाइ क्षेत्रमा अझ धेरै सुधार गर्नुपर्ने देखिएको स्वीकार गरे। उनका अनुसार विगतको तुलनामा हवाइ क्षेत्रमा नेपालले थुप्रै प्रगति गरे पनि नेपाली वायुसेवाहरू युरोपेली आकाशमा उड्नका लागि इयुले दिएका सुझावलाई कार्यान्वयन गर्नुपर्नेछ।
इयुले कालोसूचीबाट नेपाललाई नहटाएको आक्रोशमा निगमको ग्राउन्ड ह्यान्डलिङ खोस्न लागेको हल्ला चौतर्फी जन्मिरहेको उनले बताए।
त्यस्तै, निगम जहाज ल्याउने प्रक्रियामा प्रवेश गरिसकेको बताउँदै जहाज ल्याउन नदिनका लागि केही शक्तिहरूले गम्भीर षडयन्त्रका साथ लागि परेको उनको भनाइ छ।