नेपाल वायुसेवा निगम व्यवस्थापन र निगम कर्मचारी ट्रेड युनियनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा निर्वाध रूपमा निगमले नै पाउनुपर्ने बताएका छन्।
नागरिक उड्डयन प्राधिकरणले खुला प्रतिस्पर्धाबाट कम्पनी छान्ने प्रक्रिया अघि बढाएपछि निगम व्यवस्थापन र कर्मचारी युनियनले एक्यवद्धता जनाएका हुन्।
निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशील क्षेत्र विमानस्थलमा सरकारको पूर्ण स्वामित्व रहेको संस्थाले नै ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन हुनुपर्ने बताएको छ।
नेपाल सरकारको पूर्ण स्वमित्वमा रहेको निगमको लगानी र सम्पत्तिमा हानी नोक्सानी पुग्ने भएकोले विषयवस्तुको गम्भिरतालाई ध्यानमा राखि गत आइतबार निगम कार्यकारी समितिको बैठकबाट र निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियन सहित निगम व्यवस्थापनले मंगलबारको बैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ्ग गर्नुपर्ने कुरामा एक्यवद्धता जनाएका हुन्।
'विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुरक्षा समेतको लागि नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमले नै निर्वाध रुपमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्नुपर्छ भन्ने सम्बन्धमा सम्बन्धित निकाय तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय भएको छ' विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा सेवा सुधारका लागि निगमले उपकरणका लागि गरेको लगानी सुरक्षणका लागि समेत सेवा निरन्तर हुनुपर्ने माग गरिएको छ।