पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा)को सहकार्यमा व्यवसायीका लागि पाँच दिने तालिम सम्पन्न भएको हो।
पर्यटनका लागि डिजिटाइजेशन अनिवार्य आवश्यकता बन्दै गएको परिप्रेक्ष्यमा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा एसटिएलआरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिए।
नाटाका सचिव युविका राजभण्डारीले एसटिएलआरपीसँगको सहकार्यमा नाटाले देशैभरी विभिन्न खालका तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिँदै यस प्रकारका तालिमले व्यवसायीहरूको क्षमता अभिवृद्धिमा सघाउ पुगेको बताए।
परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले पर्यटन क्षेत्रको विभिन्न क्षेत्रमा जनशक्ति उत्पादन तथा भएका जनशक्तिको क्षमता अभिवृद्धिमा काम गरिरहको सन्दर्भमा व्यवसायीहरूको आवश्यकताको आधारमा नाटासँगको सहकार्यमा सातै प्रदेशमा तालिमहरू सञ्चालन गरिएको जानकारी दिए।
काठमाडौंका विभिन्न ट्राभल एजेन्सीहरूमा कार्यरत ३० जनाको सहभागिता थियो।
तालिममा आमोद निरौलाले प्रशिक्षण दिएका थिए।
तालिममा, एआइको प्रयोग, च्याट जिपिटीको प्रयोग तथा ठाउँ अनुसारको ट्राभल आइटिनरी निर्माणका विषयमा प्रशिक्षण दिइएको थियो।