नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियय यूनियन (इयू) ले कालोसूचीबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ।
सोमबार इयूको पछिल्लो अडिट रिपोर्टमा नेपालको हवाई क्षेत्र कालोसूचीबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनी केही समाचार माध्यमले समाचार सम्प्रेषित गरेकोमा आपत्ति जनाउँदै निगमका प्रवक्ता रमेश पौडेलले उक्त कुरा बताएका हुन्।
उनका अनुसार सो प्रतिवेदनमा इयूले नेपालको समग्र हवाई उडान क्षेत्रकै अडिट गरेर आएकाले त्यसमा निगमको कमजोरी भन्न मिल्दैन।
‘नेपाल वायुसेवा निगमको कारणले इयूको सेफ्टिलिस्ट परेको र सेफलिस्टबाट बाहिर निस्कन नसकेको भनेर जुन प्रचार गरिएको छ। यो गलत हो,' उनले भने, 'यसमा मूलतः सिभिल एभिएसनलाई नै उसले अर्डिटको क्षेत्रको रूपमा लिएको हो। र, स्याम्पलिङको रूपमा हामी एयरलाइन्सहरूलाई लिएको हो। एयरलाइन्समा सिभिल एभिएसनले कतिको नियमनकारी भूमिका निभाएको छ? भनेर हेर्नका लागि गरेको हो। '
उनका अनुसार प्राइम अडिटको क्षेत्र सिभिल एभिएसन नै हो। इयूले नोभेम्बर २९ मा एक रिपोर्ट जारी गरेको उनले बताए।
'त्यो रिपोर्टमा यो-यो कारणले तिमीले सुधार गर्नुपर्छ र सुधार अहिले नदेखिएको कारण कालोसूचीबाट हटाउन अहिले हामी असमर्थ छौं भनेर प्रष्टसँग लेखिसकेको विषय छ,' उनले भने, 'यसलाई जुन सञ्चार माध्यममा अहिले भ्रम सृजना गर्ने हिसाबले नेपाल एयरलाइन्सको कारण भनेको छ, त्यो होइन। यदि एउटा वायुसेवा निगमको कारणले समग्र हवाई उड्डयन क्षेत्र नै ब्ल्याक लिस्ट पर्थ्यो। अथवा सेफ्टिलिस्टमा पर्थ्यो भने त्यो एयरलाइन्सलाई छोडेर अरूलाई खोल्ने पनि प्रावधान छ।’
उनले निगमको कमजोरीलाई इयूले औंल्याएर नेपालको हवाई उडानलाई कालोसूचीमा राखेको भए नेपालका अन्य वायुसेवा प्रदायक संस्थाले इयूबाट अडान अनुमति पाउने प्रावधान रहेको बताए।
यस्तै, इयूको कालोसूचीबाट नेपालको हवाई उडान क्षेत्रलाई हटाउन सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।