संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधबार ३१ यात्रु छोडिएकोमा माफी मागेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले माफी मागेका हुन्।
उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरूलाई सरकारले नै होटलमा राखी आज गन्तव्यमा पुर्याएको बताए।
उनले भिभिआइपी सवार हुने भएकाले परराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए।
उनले प्यासेन्जरहरूलाई मेल र फोन गरेर जानकारी गराए पनि फोन नउठाउने र मेल जाँच नगर्नेहरू समस्यामा परेको बताए।
उनले भने, ‘भर्खर नेपाल एयरलाइन्स चढेर सम्माननीय प्रधानमन्त्री दुबई जानुभएको छ। ३१ जना यात्रु छोडियो भनेर समाचार आएका छन्। आज धेरै छापिएको छ। मेरो पनि नाम छापिएको छ, ठिकै छ, मेरो बाउको नाम कहिल्यै छापिएन। २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडियो। हाम्रो जहाजको सेड्युल ११ बजेर ३० मिनेटमा थियो। तर भिभिआइपी सवार हुने भएकाले परराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै हामीलाई सार्न लगाएपछि बाध्य भयौं। संसारमा जहाँ पनि सार्नुपर्छ। फोन हुनेलाई फोन र मेल हुनेलाई मेल पठायौं। फोन नउठाउने र मेल नहेर्ने छुट्नुभएछ।’
‘उतैबाट टिकट काटेर आएकाहरू छुट्नुभयो। उहाँहरूसँग सम्बन्धित निकायले माफी पनि मागेको छ। मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु। नियमअनुसार नै उहाँहरूलाई होटलमा राखेर आज बेलुकासम्ममा हामी गन्तव्यमा पठाउँछौं,’ उनले अगाडि भने।