होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पछिल्लो समय मागभन्दा आपूर्ति बढी भई मुलुकभर क्षमताको एक तिहाई अकुपेन्सीमा होटलहरू सञ्चालन भइरहेको बताएका छन्।
मंगलबार अध्यक्ष शाह तथा पदाधिकारीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग मुलुकको पर्यटन गतिविधिका बारेमा छलफल गर्दै यस्तो गुनासाे गरेका हुन्।
अध्यक्ष शाहले विदेशी पर्यटकहरू नेपाल भ्रमणका आकर्षित भइरहेका बेला राजमार्गका सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाईका कारणले नेपाल आउने पर्यटकहरू अन्यत्रै जाने गरेको बताए।
'पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके मुलुक पर्यटनबाट छिट्टै फड्को मार्न सक्छ,' उनले भने, 'छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जाल मात्र तयार गर्न सके पनि मुलुकमा पर्यटन आगमनको चाप बढ्छ।'
छलफलमा अध्यक्ष शाहले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवालाई सशक्त र प्रभावकारी ढंगबाट अन्तर्राष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवर्द्धनमा सक्रिय रहन जोड दिए। साथै पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक निजी साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन समेत बुझाएको हुँदा यसको कार्यान्वयनका लागि समेत आग्रह गरे।
उनले मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानी मैत्री तथा पर्यटन मैत्री बनाउन आग्रह गर्दै संशोधन हुन लागेको संघीय पर्यटन ऐनले यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे। प्रतिनिधिमण्डलले बन्दै गरेको क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाई क्यासिनो सञ्चालनमा सहजीकरण गरिनु पर्ने बारेमा छलफल भएको छ।
विभिन्न संकटबाट धरासायी बन्दै गएको पर्यटन तथा होटल उद्योगलाई राष्ट्रिय बजेट र मौद्रिक नीतिबाट सम्बोधन हुन नसकी बैंकलाई बुझाउनुपर्ने साँवा ब्याज समयमा बुझाउन नसकेको हुँदा साँवा ब्याज बुझाउने समयावधि थप गरिनु पर्नेमा अध्यक्ष शाहले जोड दिए।
मुलुकको पर्यटनलाई बढावा दिने उद्देश्यले संघको स्थापना दिवसका अवसरमा आउँदो जनवरी १५ मा नेपाल आतिथ्यता दिवस मनाउन लागेको जानकारी गराउँदै यस कार्यक्रमबाट पनि राज्यले घोषणा गरेको पर्यटन दशकलाई मद्दत पुग्ने बताए।
उक्त अवसरमा मन्त्री किरातीले पर्यटक आगमन सन्तोषजनक भएको र आउँदा दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह भएको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई चलायमान बनाई पूर्वाधारहरू समयमै सम्पन्न गरी हवाई सञ्जाल समेत विस्तार गरिने र यस बारेमा सम्बन्धित निकायमा पहल कदमी भइरहेको बताए।
उनले मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको हुँदा यस पर्यटनसँग सम्बन्धित जल्दाबल्दा सुझावहरुले महत्व राख्ने बताउँदै पर्यटन दशकका लागि समेत गृहकार्य सुरू भइसकेको बताए।