हिमालय एयरलाइन्सको एयरबस ३२० जाहाज चार्टर गरेर काठमाडौंबाट भियतनामको हनोईसम्म सोझो उडान गरेसँगै नेपाल भियतनाम पर्यटनको विकासमा नयाँ उचाइ हाँसिल गर्न सफल भएको रुप्से होलिडेजले जनाएको छ।
चार्टर्ड उडानमार्फत् भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिए भने ३२८ भन्दा बढी नेपाली पर्यटकले भियतनामको भ्रमण अवलोकन गरेको रुप्से होलिडेजले जनाएको छ।
नेपाल र भियतनामबीच यति धेरै संख्यामा पर्यटकको आदान–प्रदान भएको यो पहिलो घटना रहेको रुप्सेले जनाएको छ।
कुनै ट्राभल एजेन्सीले एकैपटक तीन–तीन वटा जेट विमान चार्टर गरेर भियतनामका लागि उडान गरेको पहिलो घटना भएकोे दाबी गरिएको छ। यस्तै, भियतनाम र नेपालबीच पर्यटकीय सम्भाव्यताको यो सफल परीक्षण थियो।
एक लाख २० हजार रुपैयाँ खर्चिएर नेपाली पयर्टकले भियतनामको हनोईको पाँच दिने भ्रमण गरे भने भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको भ्रमण गरेको रुप्से होलिडेजले जनाएको छ।
आगामी डिसेम्बरमा भियतनाम घुम्न चाहने नेपाली पर्यटकले ९९ हजार ९ सय १९ रुपैयाँमा भियतनाम घुम्न सकिने रुप्सेले जनाएको छ।
यसमा दुई तर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेज समेत समेटिएको छ।