नेपालमा वैवाहिक पर्यटनको पर्याप्त सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन्।
नेपालमा पहिलो पटक आयोजना गरिएको 'इन्डो नेपाल वेडिङ समिट–२०२३' का अवसरमा सरोकारवालाहरूले यस्तो बताएका हुन्।
नेपाल पर्यटन बोर्डको समन्वय, भारतको प्रतिष्ठित व्यवसायिक समुह 'द बुल' को डिजाइन र व्यवस्थापन तथा 'बुल इभेन्टस म्यानेजमेन्ट नेपाल' को आयोजनामा कात्तिक १७ र १८ गते काठमाडौंमा वेडिङ समिट आयोजना गरिएको थियो।
विवाहलाई पर्यटनसँग सम्बन्धित उद्योगका रूपमा पुनः परिभाषित गर्ने एवम् नेपाललाई एक प्रमुख विवाह गन्तव्यको रूपमा प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ समिट आयोजना गरिएको हो।
समिटमा भारतका शीर्ष ३० भन्दा बढी वेडिङ बिजनेस प्लानरहरूको सहभागिता थियो।
समिटका अवसरमा भारतका प्रतिष्ठत वेडिङ बिजनेस प्लानरहरू, नेपालका प्रतिष्ठित होटलहरू, विवाह योजनाकारहरू एवम् निजी तथा सरकारी सरोकारवालाहरूको सहभागी थिए।
भारतीय वेडिङ बिजनेस प्लानरहरूले काठमाडौंका विभिन्न स्टार होटल तथा रिसोर्टहरू अवलोकन गरेका थिए।
समिटका अवसरमा बिटुबी मिटिङ तथा सरोकारवालाहरूसँग समूह छलफल जस्ता कार्यक्रमहरू आयोजना गरिएको थियो।
समिटको पहिलो दिन होटल सोल्टिमा औपचारिक उद्घाटन तथा बिटुबि कार्यक्रम आयोजना गरिएको थियो।
दोश्रो दिन चन्द्रागिरीमा नेपालमा वैवाहिक पर्यटकीय गन्तव्यका अवसर र चुनौतीका शीर्षकमा अन्तर्क्रिया र हायात होटलमा समापन आयोजना गरिएको थियो।
समिटले भविष्यमा विदेशी र खासगरी भारतीय विशिष्ट वैवाहिक समारोहहरू नेपालमा आयोजनामा गर्न नीतिगत, भौतिक तथा कानूनी संरचना लगायतका सम्पूर्ण हिसाबले पुर्ण रूपमा तयार भएको सन्देश दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।
समूह छलफल कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रुद्रसिङ तामाङले विदेशबाट नेपालमा आयोजना गरिने विवाहको लागि विभागबाट गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताए।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य भन्सार अधिकृत मुक्ति श्रेष्ठले भन्सारले सुन तथा अन्य सामाग्री ल्याउन-लैजान छुट्टै प्रावधान रहेको जानकारी दिँदै अन्य विषयमा आवश्यक सहजीकरण गर्न सकिने बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा विवाह पर्यटनको प्रचुर सम्भावना रहेकोले यस्तो कार्यक्रमलाई वार्षिक कार्यक्रमका रूपमा लिएर जाने जानकारी दिए।
होटल एसोसिएसन नेपाल हानका अध्यक्ष विनायक शाहले होटलहरू विभिन्न खालका मेघा इभेन्ट गर्न सक्षम रहको उल्लेख गर्दै सहकार्यका लागि तयार भएको बताए।
यस्तै भारतको 'इभेन्ट एण्ड इन्टरटेन्मेन्ट म्यानेजमेन्ट एशोसिएशन (इइएमी)' कम्पनीका अध्यक्ष समित गर्गले विश्वका विभिन्न देशमा भारतबाट वार्षिक सयौं विवाह समारोह आयोजना हुने गरेको सन्दर्भमा भारतीयका लागि नेपाल उपर्युक्त गन्तव्य हुन सक्ने बताए।
समिटमा सहभागी भारतीय वेडिङ प्लानरहरूले नेपालको कला, संस्कृति खानपान तथा दुई देशबीचको आफ्नै मौलिक सम्बन्धका कारण पनि यस्ता कार्यक्रम गर्न सकिने बताए। उनीहरूले नेपालले पूर्वाधारको विकास तथा भन्सार सहजीकरणमा ध्यान दिन आग्रह गरेका थिए।