राष्ट्रपति रामचन्द्र पौडेलले आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
पर्वतारोहण संघको ५०औं वार्षिकोत्सव समारोहमा बुधबार राष्ट्रपति पौडेलले नयाँ हिमाल आरोहणका लागि खुला गर्नुपर्ने बताएका हुन्।
नेपालमा रहेका थुप्रै हिमालहरूमध्ये आरोहणका लागि अनुमति नभएका हिमाललाई तत्काल खुला गर्नुपर्ने भन्दै प्रवर्द्धनको जिम्मेवारीबारे निर्णय लिनुपर्ने बताए।
उनले हिमालहरूको व्यवस्थापन र प्रवर्द्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने पनि बताए।
'नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्दै आइरहेको छ,' उनले भने।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत् संघले कायम राखेको विश्वव्यापी सञ्जालले पर्वतीय पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण भूमिका खेलेको बताए।
उनले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव समेत दिएका छन्।