प्याराग्लाइडिङले पोखराको पर्यटन उद्योगमा कहिलेकाहीँ आउने संकटमा भरथेग गर्दै आएको थियो। तर अन्तर्राष्ट्रिय विमानस्थल चलेपछि हवाई क्षेत्रभित्र पर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले सराङकोटबाट प्याराग्लाइडिङ उड्न रोक लगाएको छ। पर्यटन व्यवसायीहरू चिन्तित बनेका छन्।
प्याराग्लाइडिङ गर्ने साहसी पर्यटकले प्याराग्लाइडिङ व्यवसाय मात्र धान्ने होइनन् होटल, रेस्टुरेन्ट, नाइट क्लब, यातायात लगायत विविध क्षेत्रमा योगदान गर्छन्।
२०७२ सालमा आएको विनाशकारी भूकम्पका बेला नेपालमा रहेका पर्यटक आफ्नो उद्देश्य पूरा नगरी स्वदेश फर्किन बाध्य भएका थिए। पर्यटन पूर्वाधारहरू जोखिममा परेका थिए। भूकम्पपछि पनि लामै समय पर्यटन व्यवसाय सुस्तायो।
नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव खेमराज आचार्यका अनुसार त्यो संकटको समयमा पनि प्याराग्लाइडिङले पोखराको पर्यटन उद्योग धानेको थियो। प्याराग्लाइडिङ गर्नेमा नेपाली र विदेशी दुवै थिए।
‘भूकम्पपछि धेरै चिनियाँ पर्यटक प्याराग्लाइडिङ गर्न पोखरा आए। नेपाली र अन्य देशका पर्यटक पनि आए,’ उनले भने, ‘प्याराग्लाइडिङले भूकम्पका बेला पनि पोखरा चलायमान बनायो।’
त्यो विनाशकारी भूकम्पपछि पर्यटन बजारलाई कोरोना भइरस संक्रमणको महामारी (कोभिड–१९) ले ठप्प बनायो। जसले नेपाल र नेपालजस्ता पर्यटकीय मुलुकहरू संकटमा परे।
कोभिड–१९ ले पोखराका होटल र रेस्टुरेस्ट जस्ता व्यवसायमात्र नभई किसानको उब्जनीमा पनि असर पुर्यायो। पर्यटक गाइड र भरियाको रोजीरोटी खोस्यो। त्यो समयमा पनि प्याराग्लाइडिङले आशाको किारण देखाएको आचार्यले बताए।
कोभिड–१९ को लामो लकडाउन पार गरेपछि प्याराग्लाइडिङले नै पोखरा बिस्तारै चलायमान बनाएको थियो। सराङकोटको डाँडाबाट प्याराग्लाइडिङमा उडेर टिकटक भिडिओ बनाउन युवाहरूमा ‘फेसन’ चलेको थियो।
‘कोभिडका बेला प्याराग्लाइडिङ गर्न आउनेहरूले एक हप्ताअघि नै बुकिङ गर्नुपर्ने अवस्था थियो। सराङकोटमा पर्यटकको भिड लाग्थ्यो,’ आचार्यले त्यो समय स्मरण गरे, ‘उनीहरूले प्याराग्लाइडिङलाई मात्रै व्यवसाय दिएका थिएनन्, पोखराका सबै व्यवसायी लाभान्वित भएका थिए।’
कोभिडको असर अझै बाँकी छ। आचार्यका अनुसार कोभिड सुरु भएको वर्ष सन् २०१९ मा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका थिए। तीमध्ये कम्तीमा ४० प्रतिशत पोखरा आए। धेरै पर्यटक अन्नपूर्ण क्षेत्रको पदयात्रामा जान्थे। साहसिक पर्यटक प्याराग्लाइडिङ गरेर मात्र फर्कन्थे।
यस वर्ष (सन् २०२३) नेपाल घुम्न आउने विदेशी पर्यकटकको संख्या ६ लाखमात्र हुने अनुमान छ। व्यवसायीहरूका अनुसार पोखरा आउने विदेशी पर्यटकको सख्या कुल पर्यटकको ४० प्रतिशतबाट पनि घटेको छ।
पोखराको पर्यटन उद्योगमा निजी क्षेत्रको लगानीअनुसार पर्यटक नआउँदा व्यवसायी चिन्तित छन्। संकटका समयमा प्याराग्लाइडिङले पर्यटन उद्योग जोगाउँछ भन्ने व्यवसायीहरूको आशामा पनि सरकारको निर्णयले तुषारपात गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि सराङकोटबाट प्याराग्लाइडिङ गर्न प्रतिबन्ध छ।
अहिले चलेको अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलोमिटर सराङकोटतर्फ रहेको पुरानो विमानस्थल चल्दा पनि सराङकोटबाट प्याराग्लाइडिङ उड्थ्यो।
अन्तर्राष्ट्रिय विमानस्थल चलेपछि हवाई क्षेत्रभित्र पर्ने जनाएर नेपाल नागरिक उड्डयन प्राधिकरणले सराङकोटबाट प्याराग्लाइडिङ उड्न रोक लगाएको हो।
‘विमानस्थलबाट न अन्तर्राष्ट्रिय उडान हुन सक्यो, न प्याराग्लाइडिङ चल्न पायो,’ ना महासचिव आचार्य भन्छन्, ‘सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा पनि सराङकोटबाट उडाउन पाइएन। सरकारले पर्यटन व्यवसायको मतलब नै गरेन।’
अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि धावन मार्गको पूर्वतर्फबाट मात्रै अवतरण र उडान हुने गरेको छ।
पश्चिमतर्फको पहाड सराङकोटबाट प्याराग्लइडिङ उडेर फेवाताल छेउको मैदानमा ओर्लन पाए पर्यटन बजारमा मन्दी नहुने व्यवसायीहरूको विश्वास छ।
अध्यक्ष सुनीलबहादुर भट्टराईका अनुसार पोखरामा हाल ६२ वटा प्याराग्लाइडिङ कम्पनी छन्। तिनमा ३९९ जना पाइलट कार्यरत छन्। प्याराग्लाइडिङमा एक अर्ब रुपैयाँ लगानी भएको उनको अनुमान छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सराङकोटबाट सात किलोमिटर पश्चिमतर्फ मान्द्रेढुंगालाई प्याराग्लाइडिङ उडाउने ठाउँ तोक्यो। त्यहाँ उडेर हर्पनखोला किनार, पामेको चौरमा अवतरण गर्न अनुमति दियो।
व्यवसायीले बारम्बार आग्रह गरेपछि क्यानले एटिएम विभागका प्रमुख सीताराम भण्डारीको संयोजकत्वमा प्राविधिक अध्ययन गराएको थियो। अध्ययनले मान्द्रेढुंगाबाट दुई किलोमिटर सराङकोटतर्फ रहेको तोरीपानीबाट उडाउन सक्ने निष्कर्ष दिएको थियो।
उक्त निष्कर्षका आधारमा क्यानले तोरीपानीबाट प्याराग्लाइडिङ उडेर पामेमै ओर्लने गरी अनुमति दिएको छ। अनुमति पाएपछि तोरीपानीबाट उड्न थालेको ना अध्यक्ष भट्टराईले बताए।
‘अन्तर्राष्ट्रिय विमानस्थल चल्नुअघि हामी सराङकोट र तोरीपानीबाट उडान गर्थ्यौँ। अहिले तोरीपानीबाट उडान गर्न थालेका छौँ,’ उनले भने, ‘अब पोखराको आकाशमा प्याराग्लाइडिङ बढ्न सक्ने अपेक्षा छ।’
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुअघि आफ्नो कम्पनीले एकै दिनमा ५० पटक प्याराग्लाइडिङ उडाएको ना महासचिव आचार्यले बताए। कम्पनीमा तीन करोड रुपैयाँ लगानी भएको र हाल१२ जना पाइलट रहेको उनको भनाइ छ।
उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल चल्नुअघि एउटै कम्पनीले उडाए जति अहिले पोखराका सबै कम्पनीले आलोपालो गरेर उडाउनु परेको छ।
‘भूकम्प र कोरोनाका बेला पनि दैनिक १८ सय जनासम्म प्याराग्लाइडिङ गर्न आएका थिए। एउटै कम्पनीले ५० वटासम्म उडान गर्थ्यो,’ उनले भने, ‘अहिले दिनमा ५० वटासम्म उडान हुन्छ। विस्तारै बढ्ने आशा छ।’
सराङकोटबाट उडान गर्न पाए तत्कालै पर्यटकको संख्या बढ्ने आचार्यको विश्वास छ। पोखरामा प्याराग्लाइडिङको मजा सराङकोटबाट उडेर हिमाल हेर्दै फेवाताल किनारमा ओर्लनुमा छ। यसो गर्न नपाउँदा विदेशी र नेपाली दुबै पर्यटकको घटेको उनको भनाइ छ।
नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार प्राविधिक अध्ययनपछि मान्द्रेढुंगा क्षेत्रकै तोरीपानीबाट उडान गर्न अनुमति दिइएको हो।
सराङकोटबाट उड्न थप प्राविधिक अध्ययन भइरहेको र प्रतिवेदन आएपछि उचित निर्णय लिने उनको भनाइ छ।
‘राम्ररी प्राविधिक अध्ययन नभई सराङकोटबाट उडेर फेवाताल किनारमा ओर्लने अनुमति दिन सकिँदैन,’ उनी भन्छन्, ‘हाम्रो प्राथमिकता हवाई सुरक्षा हो।’
प्याराग्लाइडिङका पारखीहरू सराङकोटबाट उडेर फेवाताल किनारमा ओर्लने रुट विश्वकै उत्कृष्ट मान्छन्। प्याराग्लाइडिङ सम्बन्धी विश्वका दस वटा संस्थाले यो उडानलाई पहिलो नम्बरमा राखेका छन्।
नेपाल हवाई खेलकुद संस्था (ना) का संस्थापक महासचिव सोवित बानियालाई सराङकोट–फेवाताल क्षेत्रको जलवायु प्याराग्लाइडिङकै लागि बनेको जस्तो अनुभव हुन्छ।
‘विश्वमा प्याराग्लाइडिङ अवतरण गर्ने अधिकांश स्थान ताल वा समुद्रका किनारमा छन्। फेवाताल, हरिया पहाड र हिमालले यहाँ माइक्रो क्लाइमेट सिर्जना गर्छ जो प्याराग्लाइडिङका लागि उत्तम छ,’ उनी भन्छन्, ‘प्याराग्लाइडिङ उड्दा आकाशमा केही खतरा भयो भने तालमा आकस्मिक अवतरण गरेर ज्याउन जोगाउन सकिन्छ।’
आकाशबाट देखिने हिमालका लहर, पहाडको हरियाली, पोखरा सहर र फेवातालको मनोरम दृश्यका कारणले विदेशी पर्यटकहरू सराङकोटबाट प्याराग्लाइडिङ गर्न आउने गरेको उनको भनाइ छ।
बानियाका अनुसार सराङकोटबाट प्याराग्लाइडिङ गर्न वर्षभरि नै मौसम अनुकूल हुन्छ।
सराङकोटको तुलनामा कतिपय देशमा अन्तर्राष्ट्रिय विमानस्थलबाट अझ नजिक पनि प्याराग्लाइडिङ उडान हुने गरेको उनको जिकिर छ।
‘विश्वमा कहीँ पनि प्याराग्लाइडिङको नियमन नागरिक उड्यन प्राधिकरण गर्दैन, नेपालमा मात्रै हो,’ उनी भन्छन्, ‘प्याराग्लाइडिङको नियमन एउटा सानो युनिटले गर्छ। हाम्रो सरकार सही हुन्थ्यो भने हाम्रो प्याराग्लाइडिङ संसारको एक नम्बर हुन्थ्यो।’
अन्तर्राष्ट्रिय उडान नहुँदासम्म सराङकोटबाट उडेर फेवाताल किनारमा अवतरणका लागि अनुमति दिन आग्रह गरेको बानियाको भनाइ छ।
अहिले पोखरामा टेन्डम अर्थात् यात्रु राखेर मात्र प्याराग्लाइडिङ उडान गर्न पाइन्छ। सरकारले सोलो (एकल) उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छैन। यसको असर पर्यटक र खेलाडीलाई परेको छ।
नवौँ राष्ट्रिय खेलकुदका अवसरमा २०७९ असोज ३० गते सोलो उडान गर्दा दुर्घटनामा परेर नेपाली सेनाका खेलाडी निसिम थापाको मृत्यु भएको थियो। उक्त घटनापछि सोलो उडान प्रतिबन्धित छ।
यस्तो प्रतिबन्धका कारण खेलाडीले अभ्यास गर्न पाएका छैनन्। आफ्नै प्याराग्लाइड लिएर आउने पर्यटक पनि अन्यत्र मोडिएका छन्। बानियाका अनुसार सोलो उडान गर्न पोखरा आउने पर्यटक भारत जान थालेका छन्।
इन्डोनेसियामा २०७५ भदौमा भएको अठारौँ एसियाली खेलकुदमा नेपाली टिमले प्याराग्लाइडिङमा रजत पदक जितेको थियो। नेपालले जितेको एकमात्र पदक पनि त्यही थियो। उक्त प्रतियोगितामा भाग लिएका खेलाडीले पोखरामै अभ्यास गरेका थिए।
‘नेपालले प्याराग्लाइडिङमा अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सक्छ। सोलो उडान फुकुवा नहुँदा खेलाडीले अभ्यास गर्न पाएनन्,’ बानिया भन्छन्, ‘एउटा दुर्घटना देखाएर सधैँका लागि बन्द गर्नु राम्रो होइन।’
ना महासचिव आचार्यका अनुसार पोखराको प्याराग्लाइडिङ सुरक्षित बनाउन अत्याधुनिक प्रविधि उपयोग गरिएको छ। आकाशमा उडेको पाइलटले वाकीटकी रेडियो सेट बोक्नु अनिवार्य छ। त्यही सेटमार्फत् जमिनबाट अनुगमन गर्नेसँग सम्पर्क हुन्छ। जिपिएस ट्रयाकर पनि जडान गरिएको हुन्छ।
उनी भन्छन्, ‘फ्लाइट राडरबाट जहाज हेरेजस्तै हाम्रो कम्युटरमा प्याराग्लाइडिङको लोकेसन, उचाइ सबै हेर्न मिल्छ। केही समस्या आयो भने दश मिनेटभित्र ल्यान्ड गराउन सकिन्छ।’
चराले पखेटा चलाएर हावामा उडेजस्तै इन्जिनविहीन प्याराग्लाइडिङको सन्तुलन मिलाएर हावामा उड्नु जोखिमयुक्त साहसिक खेल हो। हवाईजहाजमा जस्तो इन्जिन नहुने भएकाले प्याराग्लाइडिङलाई जोखिमयुक्त साहसिक खेल मानिएको हो।
‘प्याराग्लाइडिङ साहसिक खेल हो। यसमा जोखिम छ। दुर्घटना हुन नदिन हामी संवेदनशील छौँ,’ आचार्य भन्छन्, ‘एउटा दुर्घटना देखाएर अनिश्चितकाल बन्द गर्नु गलत हो।’
पोखरामा प्याराग्लाइडिङ उडान सुरु भएको २४ वर्ष पूरा भएको छ। हालसम्म यात्रु बोकेका टेन्डम उडानमा र सोलो उडानमा दुई–दुई वटा दुर्घटना भएका छन्।
पोखराको पर्यटन बजार सुरक्षित राख्न सराङकोटबाट प्याराग्लाइडिङको सोलो र टेन्डम दुबै उडान गर्न दिनुपर्ने माग व्यवसायीहरूको छ।