होटल संघ नेपाल (हान)ले सदस्य होटलहरूमार्फत् सञ्चालन गरेको दसैं परिकार उत्सवमा पर्यटकहरूको उत्साहजनक रूचि देखिएको छ।
पर्यटकीय सिजन भएकाले यतिबेला नेपाली परिकार खानाका लागि विभिन्न होटलहरूमा अग्रिम बुकिङ समेत भइरहेको संघले जनाएको छ।
होटलहरूले दसैंमा खाइने खासगरी थरिथरीका मांसाहारी परिकार पर्यटकहरू माझ आकर्षक छुटका साथ पस्केको छ।
घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म १५ दिन सञ्चालन हुने सो कार्यक्रमले पर्यटकहरू माझ दसैं बिदाको रौनक थप्नुका अतिरिक्त रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्य रहेको संघले जनाएको छ।
काठमाडौंमा जारी गैर आवासीय नेपालीहरूको विश्व सम्मेलनका संसारभरबाट आएका सहभागीहरू र विदेशी नियोगहरूमा कार्यरत विदेशीहरू, कर्पोरेट ग्राहकहरू र आन्तरिक पर्यटकहरूको समेत उत्सवमा उल्लेखनीय सहभागिता रहेको छ।
यस्तो उत्सव झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटलमा चलिरहेको छ।
त्यस्तै, चितवनको जंगल सफारी लज, पोखराको होटल बाराही र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतका सदस्य होटलहरूमा पर्यटक तथा स्थानीयहरूको राम्रो सहभागिता रहेको संघले जनाएको छ।