४४ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिएको 'गोल्डेन ट्रयाङ्गल बाइक टुर' राइडर्सलाई प्रमाणपत्र दिएर समापन गरिएको छ।
गत शनिबार नेपाल पर्यटन बोर्डमा कार्यक्रम गरेर असोज १० गतेदेखि १६ गतेसम्म ४ प्रदेश, १७ जिल्ला, एक हजार किलोमिटर यात्रा गरेका राइडर्सलाई प्रमाणपत्र दिएर 'गोल्डेन ट्रयाङ्गल बाइक टुर'को समापन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका पर्यटन बोर्डका सिइओ डा.धनन्जय रेग्मीले काठमाडौंदेखि मकवानपुर, पर्सा राष्ट्रिय निकुञ्ज, सौराहा, भरतपुर, लुम्बिनी, जितगढी, पाल्पा, रानीमहल हुँदै पोखरा, बेगनासताल यात्रा गरेका राइडर्सलाई बधाई दिँदै प्रमाणपत्र दिएका हुन्।
नेपालमा अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिएको यो गोल्डेन ट्रयाङ्गल बाइक टुर कार्यक्रमले साच्चिकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ’ टुरको डकुमेन्ट्री हेरेपछि बोर्डका सिइओ डा.रेग्मीले भने, ‘अब अन्तर्राष्ट्रिय बाइक राइडर्सलाई पनि बोलाएर सम्मेलन गर्दै थप बाइक टुरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्ड प्रतिबद्ध छ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति तथा टुरका प्रमुख सल्लाहकार अच्युत गुरागाईंले ताप्लेजुङ–दार्चुला बाइक टुरपछि ‘गोल्डेन ट्रयाङ्गल बाइक टुर’ सम्पन्न गर्नुले नेपालमा बाइक टुरिङ संस्कृति बढ्दै गएकोमा खुशी व्यक्त गरे।
कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्त देखिएको पर्यटन क्षेत्रलाई थोरै भएपनि गतिशिल बनाउन बाइक टुर अभियान चलाएकोमा पनि युवा पत्रकार, कलाकार, भ्लगर्स तथा राइडर टिमलाई उनले धन्यवाद दिए।
‘'नेपालमा पर्यटन अभियान चलाउन गाह्रो छ। त्यसमा पनि सरकारी निकायसँग मिलेर काम गर्न झनै गाह्रो छ,' गुरागाईंले भने, 'यस्तो कठिन अवस्थामा पनि काठमाडौंबाट सय जना बाइक राइडर्सले पर्यटन अभियान चलाएर यात्रा सफलतापूर्वक सम्पन्न गर्नु महत्वपूर्ण उपलब्धी हो। यसलाई निरन्तरता दिनुपर्छ।'
अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा असोज १० गते काठमाडौंको पर्यटन बोर्डबाट सुरू भएको गोल्डेन ट्रयाङ्गल बाइक टुर कार्यक्रम पाँच दिनमा पर्सा राष्ट्रिय निकुञ्ज, सौराहा, भरतपुर, लुम्बिनी, जितगढी, पाल्पा, रानीमहल हुँदै पोखरा, बेगनास पुगेर १६ गते सम्पन्न भएको थियो।
गोल्डेन ट्रयाङ्गल बाइक टुरका संयोजक तथा आयोजक एनटिपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले पर्सा राष्ट्रिय निकुञ्ज, भरतपुर र रानीमहल तथा बेगनासताललाई केन्द्रबिन्दुमा राखेर 'एक्सप्लोर' गर्दै बाइक टुर सफल भएको बताए।