सिन्धुपाल्चोकको सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केवलकार र ३६० डिग्री स्विङ लगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएका छन्।
थ्रिल भ्याली प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा सुकुटेमा स्विङ सहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार स्विङमा ३६० डिग्रीमा घुमेर 'थ्रिल'को अनुभव गर्न सकिनेछ। यस किसिमको स्विङ नेपालमै पहिलोपटक भएको कम्पनीको दाबी छ।
त्यस्तै दुई सय २० मिटर लामो जिपलाइन र दुई सय २० मिटर लामो स्काइ रोप साइकलको मज्जा लिन पाइने भएको छ। स्काइ रोप साइकल एक जना बसेर चलाउने र जोडी नै बसेर चलाउन मिल्ने गरी बनाइएको छ।
र्याफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमा सुकुटेमा थ्रिल भ्याली सुरू भएको हो।
साहसिक खेलका पारखीहरूका लागि लक्षित गरी कम्पनीले सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले जानकारी दिए।
रिसोर्टले तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ। जसअनुसार स्विङ र केबलकारका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ तथा डबल स्काइ साइकलको एक हजार पाँच सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।
कम्पनीकाअनुसार फ्यामिली पिङका लागि २ सय रुपैयाँ र गुलेली पिङका लागि पनि २ सय रुपैयाँ शुल्क कायम गरिएको छ।