जीविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)गोल्ड अवार्ड –२०२३ पाएको छ।
नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा सञ्चालित उक्त परियोजनाले पाटा गोल्ड अवार्ड –२०२३ पाएको हो।
पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि पाटाले एसटिएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ प्रदान गरेको हो।
नयाँ दिल्लीमा आयोजित पाटा ट्राभल मार्ट २०२३ को कार्यक्रममा अवसरमा पाटा इन्टरनेसनलका अध्यक्ष पिटर सिमोनले उक्त अवार्ड दिएका हुन्।
सन् १९९५ बाट सुरू भएको यो अवार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरूलाई विभिन्न विधामा प्रदान गरिएको थियो।
एसटिएलआरपी परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सी विधा अन्तर्गत पाटा गोल्ड अवार्ड प्राप्त गरेको थियो।
यस्तै २०२३ मा पनि पाटाबाट पाटा विशेष अवार्ड समेत प्राप्त गरेको थियो।
परियोजनाले गरिरेहेका कामको मूल्यांकन भएको र बोर्डलाई थप कार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)तथा परियोजनाका राष्ट्रिय निर्देशक डा.धनञ्जय रेग्मीले बताए।
'हामीले कोभिडको असरसँगै पर्यटकहरूको उद्धारदेखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरू निरन्तर गर्दै आइरहेका छौं। हामीले गरेका कामहरूले मूल्यांकन गर्दै निरन्तर विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेका छौं। यसले हामीलाई थप कार्य गर्न प्रोत्साहन मिलेको छ,' डा. रेग्मीले भने।
बोर्ड तथा एसटिएलआरपीले कोभिडपछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।
यस अन्तर्गत महिलाहरूका लागि रिभर गाईड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि ट्रेकिङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसँग सम्बन्धित विभिन्न विधाका गाइड म्यानुएलहरू तयार गर्दै आइरहेको छ।
परियोजनाले अहिलेसम्म करिब एक हजार महीलाहरूलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको जनाएको छ।