होटल संघ नेपालले नेपाल भ्रमणप्रति पर्यटकको आकर्षण बढाउन पर्यटन विभाग र अध्यागमन विभागसँग छलफल गरेको छ।
संघले सोमबार पर्यटकको आकर्षण बढाउन सीमा नाकालगायत विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमलगायतका विषयहरूमा छलफल गरेको हो।
छलफलपछि संघ प्रतिनिधिमण्डलले राखेका जिज्ञासा तथा सुझावहरूप्रति अध्यागम विभागका महानिर्देशक रूद्रसिंघ तामाङले सकारात्मक रहेको बताए। साथै संयुक्त पहल कदमीमार्फत् अगाडी बढ्ने विश्वास व्यक्त गरे।
उक्त प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटघाट गरी मुलुकमा आतिथ्यता क्षेत्रमा बढ्दो लगानीलाई मध्यनजर गर्दै विभिन्न विषयमा छलफल गरेका छन्।
पर्यटकहरूको नेपाल बसाई सुखद, विश्वसनीय र सुरक्षित बनाउन संघबाट जिल्लामा अवस्थित होटल तथा रिसोर्टहरूका लागि तयार गरिएका न्यूनतम मापदण्डका साथै तारे होटलहरूको स्तर वर्गीकरण मापदण्ड २०७७ मा समेत केही संशोधन प्रस्तुत गरे।
महानिर्देशक बुढाले उक्त सुझावहरूलाई समय सापेक्ष बनाइने र निरन्तर संवाद र छलफलमार्फत् व्यवसायिक माग सम्बोधन गर्न आवश्यक पहलकदमी हुने प्रतिवद्धता समेत व्यक्त गरे।
प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ तथा कार्यसमिति सदस्य अश्लेषा कार्की उपस्थित थिए।