ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरी बास्तोलाले पर्यटन दशकलाई सफल बनाउन कार्ययोजना तयार गरी लागू गर्नुपर्ने बताएका छन्।
आइतबार टानको ४५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष बास्तोलाले पर्यटन दशक सफल बनाउन सरकारले उत्पादन र क्षेत्रअनुसार पर्यटनसँग सम्बन्धित संघ/संस्थासँग छलफल गरेर पर्यटन दशक कार्ययोजना बनाउनु पर्ने बताएका हुन्।
'पर्यटन दशक भनेर घोषणा गरेर मात्र सफल हुँदैन। यसका लागि सम्बन्धित क्षेत्रका व्यवसायीहरूसँग छलफल गरेर कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउनु पर्छ,' कार्यक्रममा बोल्दै उनले भने, 'छिटो भन्दा छिटो यो काम सुरू हुनुपर्छ।'
साथै नेपाल पर्यटन बोर्ड र टानको सहकार्यमा सञ्चालनमा आएको टिम्सलाई प्रभावकारी र पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि अनुरोध गरेका छन्।
उनकाअनुसार पर्वतीय पर्यटन क्षेत्रका तर्फबाट तीनै तहका सरकारलाई प्राप्त हुने राजस्व वृद्धि गर्न र लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीको सृजना गर्नका लागि टिम्स अनिवार्य बनाउनै पर्छ।
यो अनुरोधसँगै अध्यक्ष बास्तोलाले पछिल्लो समय स्थानीय तहले जथाभावी मोटरबाटो खन्दा पदमार्गहरू मासिँदै गएको बताएका छन्। नयाँ पदमार्ग थप्दै जानुपर्ने बेला स्थानीय तहले जथाभावी सडक बनाएको र यसले पदमार्गहरू मासिँदै गएको उनको गुनासो छ।
'पदमार्गलाई जोगाउनका लागि हामीले देशभरका झण्डै तीन स्थानीय तहलाई अनुरोध गरेर पत्रसमेत पठाइसकेका छौँ,' उनले भने, 'सडक सञ्जालका कारण छोटिँदै गएका विभिन्न पदमार्गलाई जोगाउँदै नयाँ गन्तव्यस्थलको खोजीमा जुटेका छौं।'
पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानीय तहसँग सहकार्य गरी नयाँ गन्तव्य स्थल पहिचान गर्ने काम भइरहेको पनि उनले बताए।
कोरोनाले ठूलो क्षति पुर्याएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कदैछ। पर्यटन क्षेत्रलाई पुनर्उत्थान गरी उदयमान गन्तव्यका रूपमा आएका बंगलादेश, गल्फ रिजनलगायतका बजार खण्डमा पर्वतीय पर्यटनलाई प्रवर्द्धन गर्ने काम भइरहेको उनले बताए।
उनकाअनुसार पर्वतीय पर्यटन प्रवर्द्धनका लागि टानले विभिन्न योजना बनाएको छ। पर्या–पर्यटन, आध्यात्मिक, योगा, वन्यजन्तु पर्यटन, साहसिक खेल, सांस्कृतिक पर्यटन, अध्ययन अनुसन्धान लगायतका क्रियाकलापलाई पदयात्रामा एकीकृत गर्नका लागि तीनै तहका सरकारसँग विकास साझेदार र निजी क्षेत्रसँग कार्य गर्ने तयारी गरिररहेका उनले बताए।