गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत सिधा उडानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्।
पोखरामा ४४ औं विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पर्यटन व्यवसायीहरूले राजदूत श्रीवास्तवलाई यस्तो प्रस्ताव राखेका हुन्।
उनीहरूको आग्रहमा राजदूत श्रीवास्तवले सिधा जवाफ भने दिएनन्। भारतीयहरू आफ्नै सवारीसाधनमा आउन चाहने भएकाले सडक राम्रो हुन पर्ने उनले बताए।
'भारतीय नागरिक आफ्नै वाहन, कार लिएर आउन चाहन्छन्। सडक राम्रो भएमा अझ बढ्नेछ,' उनले भने।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआइ अन्तर्गत बनेको भनेर चीनले दाबी गरिरहँदा भारतले सिधा उडानको अनुमति दिएको छैन। विमानस्थल सञ्चालनमा आउनुअघि नै बुद्ध एयरले पोखराबाट दिल्ली र बनारस उडानको अनुमति मागे पनि भारतले अहिलेसम्म अनुमति दिएको छैन। राजदूत श्रीवास्तवले आफ्ना नागरिक गाडी लिएर आउन चाहन्छन् भन्दै हवाइ सम्पर्क तत्काल हुन नसक्ने छनक दिए।
नेपाल र भारतबीच खुला सीमा रहेको र पर्यटक आउजाउ गर्न समस्या नरहेको उनको दाबी छ। विश्वमै नभएको सांस्कृतिक र धार्मिक सम्बन्ध नेपाल र भारतबीच रहेको बताउँदै राजदूत श्रीवास्तवले काठमाडौंभन्दा पहिला भारत पोखरासँग जोडिएको चर्चा गरे।
चीनले पृथ्वी राजमार्ग निर्माण गर्दागर्दै २०२७ सालमा भारतले पोखरा–लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग निर्माण गरिदिएको थियो। उनले सोही प्रसंगलाई काठमाडौंभन्दा पहिला भारत मोटरबाटोबाट पोखरा जोडिएको बताएका थिए।
गण्डकीका मुख्यमन्त्री पाण्डेले सिद्धार्थ राजमार्ग जीर्ण भएकाले स्तरोन्नतिका लागि भारतीय सहयोग आवश्यक रहेको पनि बताए। उक्त राजमार्ग निर्माण गरेयता अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन। सिद्धार्थ राजमार्ग पोखरा जोड्ने अर्को मुख्य राजमार्गका रूपमा लिइन्छ।
नेपालमा आउने पर्यटक सबैभन्दा धेरै भारतीय रहेको राजदूत श्रीवास्तवले बताए। नेपाल आउने भारतीय पर्यटक सन् २०१९ मा भन्दा ६ प्रतिशतले बढेको र अहिले नेपाल आउने कुल विदेशी पर्यटकको ४० प्रतिशत रहेको उनले बताए। केही समयअघि आफू लुक्ला जाँदा ५० प्रतिशत भारतीय पदयात्री देखेको पनि उनले दाबी गरे।
नेपाल घुम्ने पर्यटकले खर्च गरेका भारतीय नोटको समस्या पनि अब डिजिटल पेमेन्टमार्फत समाधान हुन लागेको उनले बताए।
'नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा डिजिटल पेमेन्टको सझौता भएको छ। सम्बद्ध कम्पनीले काम गर्दैछ,' उनले भने, 'राष्ट्र बैंकसँग पनि सहकार्य छ।'
कार्यक्रममा एसियाली विकास बैंक (एडिबी) को लगानीमा बनिरहेको पोखरा– मुग्लिन सडकबारे पनि छलफल भएको थियो। चिनियाँ ठेकेदार कम्पनीले दुई लेनको यो सडक भत्काएर चार लेन बनाउँदैछ। ८० किलोमिटर यो सडक दुइटा खण्ड बनाएर स्तरोन्नति हुँदैछ। तर पुरानो सडक भत्काइसकेको र नयाँ नबनिसकेकाले यात्रु हैरानीमा छन्।
यो खण्ड पार गर्न अहिले यात्रुलाई ७ घन्टाभन्दा बढी समय लाग्छ। त्यसैले पोखरा आउने नेपाली र विदेशी पर्यटक पनि हैरानीमा छन्। सडककै कारण पोखरा घुम्न आउनेहरू घटेका व्यवसायीहरूले बताएका छन्।
मुख्यमन्त्री पाण्डेले समयमै सक्ने गरी द्रुत गतिमा काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एडिबीका अधिकारीहरूसँग कुरा राखेको बताए।
'पोखरा–मुग्लिन सडक छिटो काम गर्न प्रधानमन्त्री र एडिबीका अधिकारीहरूसँग कुरा राखेको छु,' मुख्यमन्त्री पाण्डेले भने, 'तोकिएको समयमा काम गर्दैन भने ठेक्का सम्झौता खारेज गर्नुपर्छ भनेको छु।'
दुई वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि पहिलो वर्ष कम्पनीले काम नै सुरू गरेन। दोस्रो वर्षसम्म आधा काम पनि भएको छैन। सडक आयोजनाका अनुसार ६० प्रतिशत समय व्यतीत हुँदा पश्चिम खण्डमा ३० प्रतिशत र पूर्वी खण्डमा करिब १० प्रतिशत मात्र काम भएको छ।
सडकको दुवै खण्ड र पुल निर्माणमा गरी कुल १३ खर्ब ६२ करोड लागत ठेक्का सम्झौता भएको थियो। ठेकेदारको ढिलासुस्तीले यात्रु र सडक आसपासका बासिन्दा धूलो र हिलोले हैरान छन्।