आठौं सिन्धुपाल्चोकमा अन्तर्राष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न भएको छ।
शनिबार सिन्धुपाल्चोकमा सम्पन्न सो रेस अन्तर्गत ६० किलोमिटर र २८ किलोमिटर गरी दुई वटा रेस गरिएको थियो।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा ठूलो शिरूबारबाट ६० किलोमिटरको रेस सुरू गरिएको थियो।
यस्तै, अन्तर्राष्ट्रिय किसान अभियान 'ला भिए क्यामपेनसिना'को अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य प्रमेश पोख्रेलको प्रमुख आतिथ्यमा जलबिरेबाट २८ किलोमिटर रेस सुरू गरिएको थियो।
६० किलोमिटरको रेसमा ११ पुरुष र ३ महिलाले सहभागीता जनाएका थिए भने २८ किलोमिटरको रेसमा १६ महिला र २९ पुरुष दौडिएका थिए।
६० किमीको दौड ६ घन्टा ९ मिनेट १२ सेकेण्डमा पूरा गरी वेद बहादुर सुनुवार प्रथम भए। दौडमा दोस्रो हुने मनकुमार रोका मगरले ६० किमी दौडमै ६ घण्टा १६ मिनेट ४६ सेकेण्डमा र तेस्रो हुने अशोक बरमले ६ घण्टा ४९ मिनेट ३० सेकेण्डमा दौड पूरा गरे।
महिलातर्फ ६० किमी दौडमा १० घण्टा १० मिनेट १४ सेकेण्डमा पूरा गरी पदम कुमारी प्रथम, १० घण्टा १० मिनेट १८ सेकेण्डमा दौड पूरा गरी आश्मा बिक दोस्रो र १२ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी डेनिस नागरिक श्टिना हाइजेलबर्ग तेस्रो भए।
यस्तै, २८ किमी पुरुषतर्फको दौडमा २ घण्टा २१ मिनेट ४६ सेकेण्डमा दौड पूरा गरी सुमन कुलुङ प्रथम भए भने महिलातर्फ प्रिया राईले ३ घन्टा ११ मिनेट ३२ सेकेण्डमा दौड पूरा गरी प्रथम भइन्।
२८ किमीमै पुरुषतर्फ दोस्रो भएका करण रावलले २ घण्टा २१ मिनेट ४६ सेकेण्डमा र तेस्रो भएका निरज भट्टले २ घण्टा २९ मिनेट ५२ सेकेण्डमा दौड पूरा गरेका थिए।
यस्तै, २८ किमीमा महिलातर्फ दोस्रो भएकी सबिना राईले ४ घण्टा २२ मिनेट ८ सेकेण्ड र तेस्रो भएका स्याली माउल्डस्ले ४ घण्टा ४४ मिनेट २५ सेकेण्डमा दौड पूरा गरेका थिए।
रेस संयोजक महेश दाहालले समुदायमा आधारित गैरनाफामुलक यस रेसले सिन्धुपाल्चोकलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको बताए।
उनले रेसका विजयी खेलाडीले अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा समेत जितेको बताए।
अन्तर्राष्ट्रिय ट्रेल रनिङ संस्थामा सम्बन्धन प्राप्त यस रेस स्थानीय संघ संस्थाको पहलमा आयोजित यो समुदायमा आधारित एकमात्र रेस हो।
२०७२ को भूकम्पपछिको उद्दारका लागि समेत रेस आयोजना गरिएको थियो। यो रेस नवौं संस्करणको भएको आयोजकले जनाएको छ।