स्कल इन्टरनेशनल नेपालले 'स्कल नाइट' कार्यक्रम सम्पन्न गरेको छ। राजधानीको ठमेलस्थित होटल अलफ्टमा स्कल नाइट कार्यक्रम सम्पन्न गरिएको हो।
'सेलिब्रेटिङ टुरिजम' भन्ने नाराका साथ सम्पन्न यस कार्यक्रम स्कल नाइटको चौथो संस्करण हो। कोरोना अघिका हरेक तीन वर्ष नियमित सम्पन्न भएको यस कार्यक्रम कोरोनापछि भने अहिले सम्पन्न भएको हो।
पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा क्रियाशिल यस संस्थाले सो कार्यक्रमबाट संकलित रकम वर्ल्ड केयर होममा सहयोग गर्ने संस्थाका अध्यक्ष महेन्द्रराज पौडेलले जानकारी दिए।
विश्व पर्यटन दिवसको अवसरमा यस कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।
विश्व पर्यटन दिवस सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी मनाइँदै आइएको छ। जसअन्तर्गत नेपालमा पनि स्कल इन्टरनेशनल नेपालले दिवसकै सन्दर्भ पारेर यस कार्यक्रम आयोजना गरेको उनले बताए।
कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू समेत प्रदर्शन गरिएको थियो।
उनका अनुसार कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति ८ हजार ५ सय टिकट शुल्क कायम गरिएको थियो।
यस संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृक्षरोपण तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ। सोही कार्यक्रमलाई निरन्तरता दिनका लागि स्कल नाइटको चौथो संस्करण सम्पन्न गरिएको संस्थाको भनाइ छ।
यस संस्थाले विशेष गरी पर्यटन, जेष्ठ नागरिकहरूका लागि 'इल्डर्ली केयर', हरित वातावरण तथा नेपालको प्रकृति, संस्कृति र साहसिक खेललगायत क्षेत्रको प्रवर्द्धनका लागि क्रियाशिल छ।
स्कल इन्टरनेशनल नेपाल एक अन्तर्राष्ट्रिय संस्था हो। यस संस्थामा नेपालका होटल, पर्यटनलगायतका क्षेत्रबाट ७० जना सदस्य रहेका छन्।
स्कल इन्टरनेशनल नेपालले नेपालको पर्यटनलाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्न विभिन्न कार्यहरू गर्दै आइरहेको छ।