भारतको गान्तोक (सिक्किम) मा बसेर ट्रेकिङ कम्पनी चलाएका अविनाश श्रेष्ठले पदयात्रीलाई बाँड्ने ब्रोसर (परिचय पुस्तिका) को एउटा पृष्ठमा नेपाली महिलाले धान रोप्दै गरेको तस्बिर छ।
क्याप्सन नेपाली भाषामा लेखिएको छ– तिमीले होइन, गाउँले तिमीलाई सम्झेको छ।
अंग्रेजी भाषमा लेखिएको ब्रोसरमा उक्त तस्बिरको क्याप्सनमात्र किन नेपालीमा?
अविनाश भन्छन्, ‘त्यो तस्बिर नेपालको हो। हामीले पदयात्रीलाई नेपाल पठाउँदा रित्तिएको गाउँ देखेपछि नेपाली भाषामा क्याप्सन लेखेको हुँ।’
भारतको सिक्कम, दार्जिलिङ लगायतका स्थानमा नेपाली भाषा बोल्नेको संख्या धेरै छ। नेपाली भाषीलाई नेपालको तस्बिर र नेपाली भाषामा प्रेम हुन्छ भन्ने सोचेर पनि क्याप्सन नेपाली भाषामै लेखेको उनले बताए। अविनाश व्यवसाय विस्तारका क्रममा यही साताको सुरूका तीन दिन सिलगुडीमा थिए। त्यहाँ आयोजित तीन दिवसीय ‘बंगाल ट्राभल मार्ट’ मा उनले राखेको स्टलमा नेपालको अन्नपूर्ण आधार शिविरको तस्बिर थियो। उनी पदयात्रामा जान चाहनेहरूका लागि आफूले दिने प्याकेजबारे जानकारी गराउँदै थिए।
उनी भारतीय पर्यटकहरूलाई मुक्तिनाथ यात्रामा पठाउँछन्। अन्नपूर्ण क्षेत्र र कञ्चनजंघा क्षेत्रमा पदमार्गमा पठाउँछन्। युरोपेली पदयात्रीहरू पनि उनको सम्पर्क आउँछन्। कहिलेकाहीँ पर्यटकका साथ आफैं पनि पदयात्रामा जान्छन्।उनले पर्यटकलाई पोखराबाट मुस्ताङको जोमसोम र मुक्तिनाथसम्म मोटरसाइकल यात्रा पनि गराएका छन्। उनी अहिले पनि नेपालकै पदयात्रा क्षेत्रमा देखाएर आफ्नो व्यवसाय चलाउँदैछन्।
अविनाशका अनुसार भारतका पदमार्गमा नेपालको जस्तो सुविधा छैन, सजिला पनि छैनन्। उनले कञ्चनजंघा पदयात्रा नेपाल र भारत दुबै देश वारपार हुने गरी चलाउने गरेका छन्। उक्त पदयात्रा १० दिनको हुन्छ, त्यसमध्ये तीन दिन नेपालको यात्रा हुन्छ।
‘अन्नपूर्ण आधार शिविरमा धेरै किसिमका खानेकुरा पाइन्छ। पिज्जा र धेरै ब्रान्डका बियर पनि पाइन्छ,’ उनी भन्छन्, ‘नेपालका पदमार्गमा जस्तो खानेबस्ने सुविधा भारतका पदमार्गमा छैन।’
उनले सन् २०१५ मा ‘कन्चेन कल्चन’ नामको ट्रेकिङ कम्पनी खोलेर काम सुरु गरेका हुन्। सिक्किम, दार्जिलिङ र आसपासका भारतीयहरू नेपालमा पदयात्रा गर्न रुचाउने गरेको उनको अनुभव छ।
उनका जिजुबाजे भक्तपुरका थिए। भक्तपुरबाट सिक्किमतिर बसाइँ सरे। भक्तपुरमा आफन्तहरू छन्। अविनाश कहिलेकाहीँ भेट्न आउँछन्।
अर्का पर्यटन व्यवसायी रसिक प्रधानका अनुसार पदयात्रासँगै नेपाली खाना र संस्कृति पनि नेपाल आउने भारतीय पदयात्रीहरूको रोजाइमा पर्छ। उनले सिक्किमको गान्तोकमा ‘ल्हासा–नेवा रेस्टुरेन्ट’ चलाएका छन् जहाँ तिब्बती र नेवारी खाना पाइन्छ। रसिकका पुर्खा पनि नेपालबाटै सिक्किम पुगेका हुन्। काठमाडौं आएर उनले आफ्नो पुर्ख्यौली थातथलो र वंशज खोजी गरेका रहेछन्।
‘हामी को हौं, के हौं केही थाहा थिएन। काठमाडौं गएर बसेपछि परापूर्वकालमा पनि तिब्बत र भारत नेपालका लागि व्यापारका केन्द्र रहेछन् भन्ने थाहा भयो,’ उनले सेतोपाटीसँग भने, ‘त्यही इतिहासले तिब्बती र नेवारी खाना बेच्ने रेस्टुरेन्ट चलाउने निर्णय गरें।’
आफूले भारतीय पर्यटकलाई नेवारी खानामा बानी पारेको रसिकको भनाइ छ। ‘सुरुमा कस्तो हो, के हो भन्ने हुन्छ। हामी सबै कुरा बताउँछौँ। एकपटक नेवारी परिकार खाएका धेरै जसो ग्राहक नियमित आउने गरेका छन्।’
गान्तोकका अर्का व्यवसायी ओमकार प्रधानले ‘नेवा होलिडेज’ होटल चलाएका छन्। यो होटल भारतका ६ वटा सहरमा चलेको छ।
‘बंगाल ट्राभल मार्ट’ मा यी भारतीय व्यवसायीहरू नेपालका हिमाल, नेपाली संस्कृति र खानाबारे जानकारी गराइरहेका थिए। मार्टमा सहभागी हुन पोखरा, काठमाडौं र अन्य केही ठाउँबाट नेपाली व्यवसायीहरू सिलिगुढी पुगेका थिए । नेपाल घुम्ने प्याकेज बेचिरहेका भारतीय व्यवसायीहरू नेपालको सडकको अवस्था देखेर चिन्तित छन्। सडकमा बेहोर्नु पर्ने सास्तीले पर्यटक हैरान बनेको उनीहरूको गुनासो छ।
‘कहिलेकाहीँ त पोखरा हुँदै मुक्तिनाथ जान पनि समस्या हुन्छ,’ नेपालमा भारतीय पर्यटक पठाउने ‘दर्शन ट्राभल एन्ड टुर’ कम्पनीका आशिष दास भन्छन्, ‘हाई वे राम्रो छैन, सय किलोमिटर यात्रा गर्न १०–१२ घण्टा लाग्छ। हामी पठाएका सबै पर्यटक पदयात्रा ठिक छ तर सडक ठिक छैन भन्छन्।’
आशिषले मुग्लिन–पोखरा सडकको अवस्थाप्रति असन्तुष्टि प्रकट गरे। उनले भने, ‘पर्यटकीय क्षेत्र र पदमार्गमात्र राम्रा भएर हुँदैन, सडक पनि राम्रो हुनुपर्छ।’
बुटवलबाट पोखरा जोड्ने सिद्धार्थ राजमार्गको अवस्था पनि राम्रो छैन। सडक यसै पनि साँघुरो छ, त्यसमाथि धेरै ठाउँमा भत्काइएको छ। खाल्डाखुल्डी र पहिरोले जोखिम बढाएको छ। पोखरा जोड्ने राजमार्ग राम्रा नहुँदा पोखरा पुग्न चहने पर्यटकहरू निराश हुने गरेको उनले बताए।
पोखरा–मुग्लिन सडक र सिद्धार्थ राजमार्ग छिटो सक्न सरकारलाई बारम्बार आग्रह गर्दा पनि सनुवाइ नभएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। परिषदले उक्त सडकको स्थलगत अनुगमन गरी सडक विभाग र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएको थियो।
‘पोखरा पुग्ने कुनै पनि सडकको अवस्था राम्रो छैन, यसले हाम्रो पर्यटनमा असर पारेको छ,’ श्रेष्ठ भन्छन्, ‘छिटो काम सक्न भनिराखेका छौं तर सुनुवाइ भएको छैन।’
मार्टमा सहभागी नेपाली व्यवसायीहरूले भारतबाट नेपालमा पर्यटक पठाउने व्यवासयीहरूलाई हाल स्तरोन्नतिको काम चलिरहेकाले सडकको अवस्था केही खराब रहेको बताए। अहिलेको वर्षा सकिएपछि सुधार हुन्छ भनेर आश्वस्त बनाउने प्रयास पनि गरे।
‘नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स’ पोखराका अध्यक्ष हरिराम अधिकारीले भने, ‘आउँदो सिजनमा पोखरा जाने सडक राम्रो भइसक्छ। सडक राम्रो बनाउन भत्काइएको हो। अर्को वर्ष फराकिलो हाइ वे तयार हुन्छ।’
नेपाली व्यवसायीहरूले मार्टका सहभागीहरूलाई पोखरा र आसपासका पदमार्गको रमणीयता र सुविधाका बारेमा जानकारी पनि गराएका थिए। मार्टमा नेपाल, भारत र भुटानका व्यवसायी सहभागी थिए। पोखराको ‘जिरो प्वाइन्ट ट्राभल एन्ड टुर’ का सञ्चालक चेतन कार्कीले भारतीय ट्रेकिङ र टुर कम्पनीहरूले नेपालका हिमाल, पदमार्ग, जनजीवन र संस्कृतिको प्रचार गरेर पर्यटन प्रवर्द्धनको काम गरेको बताए। उनका अनुसार नेपाली टोलीसँग भारत र भुटानका व्यवसायीले प्याकेज खरिदबिक्री गर्ने गरेका छन्।
मार्टमा तीन देशका १५० वटा स्टल राखिएका थिए। भारतका अन्य सहरमा पनि नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम राख्न सके भारतीय पर्यटकको संख्या बढ्ने कार्कीको विश्वास छ।
नेपाली नोट ल्याउन आग्रह
बंगाल ट्राभल मार्टमा सहभागी नेपाली व्यवसायीले नेपाल घुम्न आउँदा नेपाली रुपैयाँ लिएर आउन भारतीय पर्यटहरूलाई आग्रह गरेका छन्। उनीहरूले ल्याएको भारतीय रुपैयाँ नचल्दा नेपाली व्यवसायी समस्यामा परेका थिए। मार्टमा सहभागी ‘ह्वाइट स्टोन होलिडेज, नेपाल’ का सञ्चालक रेमश टन्डनले नेपाल आउने भारतीय पर्यटकले नेपाली रुपैयाँ ल्याउनुपर्ने बताए।
उनले भने, ‘नेपालमा भारतीय सय रुपैयाँको नोटमात्र चल्तीमा छ। त्यसमाथिको नोट चल्दैन। भारतीय नोट बोकेर आउँदा पर्यटक र व्यवसायी दुबै समस्यामा पर्छन्।’
गत जनवरीदेखि असार पहिलो सातासम्ममा अन्नपूर्ण क्षेत्रमा ५१ हजारभन्दा बढी भारतीय पर्यटक आएका थिए। तीमध्ये धेरैले भारतीय नोट ल्यएका थिए।
भारतीय रिजर्भ बैंकले नेपालमा सय रुपैयाँमाथिको भारतीय नोट चलाउन प्रतिबन्ध लगाएको छ। नेपालका बैंक तथा वित्तीय संस्थाले पनि सय रुपैयाँमाथिको भारतीय नोट साट्न मान्दैनन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा), पोखराका महासचिव संगीता पौडेलका अनुसार गएको सिजनमा भारतीय पर्यटकले ल्याएको भारतीय नोट लिने व्यवसायी समस्यामा परे।
‘हामीले भारतीय नोट लियौं तर नेपालमा नचल्दा हामीलाई मर्का पर्यो,’ उनले भनिन्, ‘नेपाल आउँदा नेपाली नोट साटेर आउनू भन्ने गरेका छौं।’
नेपालमा भारतीय नागरिकले ‘क्युआर कोड’ मार्फत पनि भुक्तानी गर्ने व्यवस्था हुन लागेको उनले बताइन। उनका अनुसार नेपालको ‘फोन पे’ र भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया’ बीच क्रसबोर्डर क्युआर भुक्तानी गर्न सम्झौता भएको छ। चाँडै सेवा सुरु हुनेछ।
यसपछि केही सहज हुने व्यवसायीहरूको विश्वास छ।