नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशभरका विभिन्न ९ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ।
प्राधिकरणले नौ विमानस्थलका टर्मिनल भवन तथा टावर र अन्य विमानस्थल सुदृढीकरणका लागि कुल एक अर्ब ५७ करोड ९६ लाख ६९ हजार रूपैयाँ बजेट छुट्याएको हो।
देशभरका विमानस्थल सुविधा-सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यस वर्षको आफ्नो कुल ३६ अर्ब ६६ करोड रूपैयाँ बजेटमध्ये पुँजीगत खर्चतर्फ १९ अर्ब रूपैयाँ विनियोजन गरेको छ।
कहाँको विमानस्थलमा टर्मिनल भवनलाई कति बजेट?
निरन्तर कार्यक्रमअन्तर्गत प्राधिकरणले बहुवर्षीय आयोजनाका रूपमा विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ४४ करोड ४२ लाख ४७ हजार रूपैयाँ विनियोजन गरेको छ।
प्राधिकरणले आर्थिक वर्ष २०७९/८० सालबाट विराटनगरको टर्मिनलका लागि बजेट विनियोजन गर्दै आइरहेको छ। विमानस्थलमा उक्त कार्यका लागि कुल लागत तीन अर्ब १२ करोड ९९ हजार अनुमान गरिएको छ।
निरन्तर कार्यक्रमअन्तर्गत प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिप्याडमा नयाँ टर्मिनल भवन निर्माण गर्न यसपाली एक करोड बजेट छुट्याएको छ। त्यस्तै, मुगुको रारा विमानस्थलमा टर्मिनल भवन बनाउन प्राधिकरणले ६ करोड ५५ लाख रूपैयाँ छुट्याएको छ।
भोजपुर विमानस्थलमा नयाँ टर्मिनल तथा टावर भवन निर्माणका लागि ५ करोड ४४ लाख ५० हजार बजेट विनियोजन गरेको छ। यसको कुल लागत अनुमान ५ करोड ४४ लाख ४९ हजार रूपैयाँ रहेको छ।
बहुवर्षीय आयोजनाअन्तर्गत नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन र टावर निर्माणका लागि ६२ करोड ६५ लाख ४८ हजार रूपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०७९/०८० सालदेखि सुरू भएको यो विमानस्थलको टर्मिनल भवन निर्माणको कुल लागत अनुमान पाँच लाख ४४ करोड ४९ लाख रूपैयाँ रहेको छ।
त्यस्तै, प्राधिकरणले ओखलढुङ्गाको खिजिचण्डेश्वरी विमानस्थलको टर्मिनल भवन र टावर निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको छ। भरतपुर विमानस्थलको सुदृढीकरण, विस्तार र नयाँ टर्मिनल भवनका लागि ४४ करोड ४२ लाख रूपैयाँ विनियोजन गरेको छ। डोटी विमानस्थलमा टर्मिनल टावर भवन निर्माण कार्यका लागि दुई करोड ५० लाख विनियोजन गरेको छ।
बहुवर्षीय आयोजनाअन्तर्गत प्राधिकरणले आर्थिक वर्ष २०७८/०७९ देखि यस विमानस्थलको टर्मिनलका लागि बजेट छुट्याउँदै आएको छ। यसको कुल लागत अनुमान पाँच करोड नौ लाख रूपैयाँ रहेको छ। डोल्पाको मसिनेचउर विमानस्थलमा टावर र टर्मिनल भवन निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ। यो विमानस्थलका लागि कुल लागत ९७ लाख ५४ हजार रूपैयाँ अनुमान गरिएको छ।
त्यस्तै, विराटनगर, नेपालगञ्ज विमानस्थलमा नयाँ कार्यालय तथा कन्ट्रोल टावर निर्माणका लागि क्रमश: ४४ लाख २४ हजार र ४४ लाख २४ हजार रूपैयाँ विनियोजन गरेको छ।
बहुवर्षीय आयोजनाअन्तर्गत सिमरा विमानस्थलमा २ करोड ४० लाख रूपैयाँ विनियोजन गरेको छ। सिमरामा कन्ट्रोल टावर तथा अफिस भवन निर्माणका लागि कुल तीन करोड २३ लाख ५८ हजार रूपैयाँ लागत अनुमान गरिएको छ।
दाङ विमानस्थलमा टावर निर्माण तथा अन्य सम्बन्धित कार्यका लागि २८ लाख बजेट छुट्याएको छ। सुर्खेत विमानस्थलमा फायर वाचटावर र अन्य निर्माण कार्यका लागि एक करोड रूपैयाँ छुट्याएको छ।
साथै, साँफेबगर विमानस्थलमा चेकपोष्ट निर्माणका लागि १० लाख, बझाङ विमानस्थलमा सेक्युरिटी क्वाटर निर्माण गर्न एक करोड १० लाख र सिमीकोट विमानस्थलमा हेलिप्याडका लागि प्यासेन्जर सीट/गेट तथा अन्य निर्माण कार्यका लागि ५० लाख रूपैयाँ बजेट छुट्याएको छ।