बाराही समूहले पोखरामा निर्माण गरिरहेको होटल 'बाराही सेदी'को ४६ प्रतिशत काम सम्पन्न भएको छ।
आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको होटलका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए।
२०७५ सालबाट निर्माण सुरू भएको यो होटल २०८१ सालभित्र सञ्चालनमा ल्याउने कम्पनीको योजना थियो। तर निर्माणमा केही ढिलाइ भएसँगै एक वर्ष पर धकेलिएको थापाले बताए।
उनका अनुसार हाल सबै प्रक्रिया पूरा गरी निर्माण भइरहेको छ।
'पोखरामा विगतमा लक्जरी होटलको अभाव रहेको थियो। सरकारले सन् २०१४ मा आयोजना गर्ने भनेको सार्क समिट सेवा सुविधाको अभावमा आयोजना हुन सकेको थिएन,' उनले भने, 'यसको समस्या समाधान हुनेगरी बाराही सेदी आउँदैछ। जहाँ अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू आयोजना गर्दा त्यही अनुसारका हल, खानपिन र रूमहरू हुनेछन्।'
बाराही सेदीमा नेपालकै सबैभन्दा ठूलो एकैपटक एक हजार दुई सय जना अटाउने बैंक्वेट हल हुने उनको भनाइ छ।
'बाराही सेदी' सेदी हाइटमा छ। जहाँबाट फेवाताल र आसपासका मनोरम दृश्य अवलोकन गर्न सकिनेछ। यो होटल आन्तरिक र विदेशी पर्यटकका निम्ति आकर्षक गन्तव्य हुने थापा बताउँछन्।
६३ रोपनीमा फैलिएको यो होटल बनाउन पौने ६ अर्ब रूपैयाँ हाराहारी लगानी अनुमान छ। होटलमा बाराही ग्रुपको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ। ३९ प्रतिशत र बाँकी १० प्रतिशत सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी छ।
कम्पनीले गत मंसिरदेखि न्यूनतम १० लाख रुपैयाँबाट संस्थापक सेयर बिक्री सुरू गरिसकेको छ। हालसम्म करिब २ सय जनाले कम्पनीको २३ प्रतिशत संस्थापक सेयर लिइसकेका छन्। बाँकी १६ प्रतिशतका लागि लगानी अझै खुला रहेको कर्पोरेट डाइरेक्टर थापाले बताए।
बाराही सेदीको मुख्य आकर्षण यहाँका कोठा हुन्। होटलका सबै कोठाबाट फेवाताल देखिन्छ। उचाइमा भएकाले यहाँका सबै कोठाबाट फेवातालसँगै वरपरका हिमशृंखला अवलोकन गर्न सकिन्छ।
होटलमा चार वटा ब्लक हुनेछन्। चार ब्लकमध्ये पहिलो, दोस्रो र तेस्रोमा गरी कुल एक सय ५० वटा कोठा हुनेछन्।
डिजाइनअनुसार पहिलो ब्लक ६ तलाको हुनेछ। यसमा ६० वटा कोठा हुनेछन्। सात तलाको दोस्रो र दस तलाको तेस्रो ब्लक दुवैमा गरी ९० वटा कोठा हुनेछन्।
यी कोठामध्ये एक सय ४० वटा डिलक्स र सेमी डिलक्स हुनेछन्। बाँकी दस वटालाई स्विट र जुनियर स्विट बनाइनेछ।
होटल प्रवेशका लागि दोस्रो ब्लकमा लिफ्ट हुनेछ। वरपरका दृश्य अवलोकनका लागि मात्र पनि लिफ्ट प्रयोग गर्न सकिनेछ।
त्यस्तै दस तले तेस्रो ब्लकमा सबभन्दा माथि हेलिप्याड हुनेछ। यसका लागि पाँच रोपनी जग्गा छुट्याइएको छ। प्राइभेट हेलिकप्टर लिएर पनि बाराही सेदी जान सकिन्छ।
नौ तलाको चौथो ब्लकमा भने क्यासिनो सञ्चालन हुनेछ।
बाराही सेदीको अर्को आकर्षण भनेको 'सर्भिस हाउस' हो। यहाँ ११ वटा सर्भिस हाउस हुनेछन्। छुट्टाछुट्टै यी भवन लामो समय बस्न आउने पर्यटकका लागि हो। लामो समय बस्ने पर्यटकले होटलमै घरको जस्तो सहजता खोज्ने भएकाले यो सुविधा थपेको पौडेल बताउँछन्।
'चार वटा बेडरूम सहितको घर लामो अवधि बस्ने पाहुना, विमान चालक दलका सदस्य लगायतलाई लक्षित छ,' कम्पनीका कार्यकारी निर्देशक विप्लव पौडेलले भने, 'होटलले सबै सेवा दिनेछ। तर घरमै बसेजस्तो महसुस हुनेछ। यस्तो सेवा पोखरामा पहिलो हुनेछ।'
बाराही सेदीमा सभा हलसँगै तीन वटा रेस्टुरेन्ट, स्पा, हेल्थ क्लब, स्विमिङ पुललगायत सुविधा छ।
यहाँ एक रात बस्न कोठा र सुविधा हेरेर कम्तीमा १८ हजारदेखि एक लाख ८० हजार रूपैयाँसम्म लाग्नेछ। 'होटल सञ्चालनमा आएपछि तीन सयभन्दा बढीले रोजगारी पाउनेछन्,' पौडेलले भने।
होटल २०८२ सालसम्म सञ्चालनमा ल्याउने कम्पनीको योजना छ।
पर्यटन उद्योगमा सक्रिय बाराही ग्रुपको अगुवाइमा निर्माण भइरहेको यो होटल गण्डकी प्रदेशको पहिलो पब्लिक लिमिटेड कम्पनी हो।
चार दशकअघि पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडैलले ९ कोठा सहित प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए। सोही होटलमा सेवा सुविधा थपेर सन् १९९३ मा होटल बाराही बनाइएको थियो।
यससँगै बाराहीले सन् २०१९ मा चितवनको सौराहामा 'बाराही जंगल लज' र सराङकोटमा 'सराङकोट माउन्टेन लज' सञ्चालनमा ल्याएको छ।
बाराहीले काठमाडौंमा पनि बाराही काठमाडौं सञ्चालनमा ल्याइसकेको छ। यसबाहेक मुस्ताङ र लुम्बिनीमा पनि होटल खोल्ने योजना कम्पनीको छ।