नेपालमा अन्तर्राष्ट्रिय उडानको इतिहास रच्ने थाइ एयरवेजले फेरि नियमित उडान गर्ने भएको छ। कोभिडका कारण तीन वर्षदेखि बन्द रहेको थाइ एयरवेजले नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।
थाइले न्यारोबडी 'ए३२०-२३२' जहाजमार्फत बैंकक-काठमाडौं दैनिक एक उडानका लागि अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। उनका अनुसार आगामी कात्तिक १५ (नोभेम्बर १) देखि सातामा सातैवटा उडानका लागि अनुमति मागेको हो।
'थाइ एयरवेजले नियमित उडानका लागि अनुमति मागेको छ। केही प्रक्रिया पूरा गरेपछि प्राधिकरणले अनुमति दिनेछ,' भुलले सेतोपाटीसँग भने, 'इतिहास बोकेको एयरलाइन्स फेरि नियमित उडानका लागि नेपाल आउछु भनेको छ यो सबैका लागि खुसीको कुरा हो।'
कोभिडले बन्द भएका वायुसेवा कम्पनीले नियमित उडान थालेसँगै बजारमा प्रतिस्पर्धा बढ्न थालेको छ। कोभिडपछि ६ वटा चिनियाँ वायुसेवा कम्पनीहरू नियमित उडानमा जोडिएका छन्। हाल अन्तर्राष्ट्रियतर्फ ३० वटा एयरलाइन्सले उडान भर्दै आइरहेका छन्।
सूचना अधिकारी भुलकाअनुसार विगतमा थाइ एयरवेजले वाइडबडी जहाजमार्फत सातामा १४ वटा उडान गर्थ्यो। कतार, टर्किसलगायतको सिन्डिकेट तोडिएको थियो। 'अब थाइले नियमित उडान थालेसँगै बजारमा प्रतिस्पर्धा बढ्नेछ,' उनले थप भने, 'अर्को मुलुकमा ट्रान्जिट हुने लामो दुरीका हवाइ यात्राको भाडा पनि सस्तो हुन्छ।'
हाल बैंकक-काठमाडौं तीन वटा एयरलाइन्सले नियमित उडान भरिरहेका छन्। प्राधिकरणका अनुसार हाल बैंकक-काठमाडौं नियमित उडानमा थाइ स्माइल सक्रिय छ। थाइ स्माइलले २०७९ असार १७ बाट नियमित उडान गरिरहेको छ। बैंककमा मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाइ स्माइल थाइ एयरवेजकै भगिनी संस्था हो।
नेपालका लागि थाइ स्माइलको आधिकारिक कम्पनी जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल छ। यसले कुल १६२ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान गरिरहेको छ। थाइले हाल सातामा सात वटै उडान गरिरहेको प्राधिकरणले जनाएकाे छ।
थाइ स्माइलसँगै थाइल्यान्डकै वायुसेवा थाइ लाइनले पनि नेपालमा नियमित उडान गरिरहेको छ। प्राधिकरणकाअनुसार थाइलाइनले सातामा ३ उडान गर्छ। साथै, हाल नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले काठमाडौं-बैंकक उडान गरिरहेको छ। नेपाल एयरलाइन्सले पनि सातामा तीन उडान गरिरहेको छ।
आगामी नोभेम्बरबाट उही यात्रामा जोडिन थाइ एयरवेजले तयारी गरिरहेको छ।
प्राधिकरणकाअनुसार ५४ वर्षअघि, नेपालमा जेट विमानमार्फत् पहिलो अन्तर्राष्ट्रिय उडान सुरू गर्ने एयरलाइन्स यही थियो।
वायु सेवा निगम (तत्कालीन समयमा शाही नेपाल वायु सेवा निगम) भन्दा दुई वर्षपछि यो एयरलाइन्स स्थापना भएको थियो।
स्थापना भएको ८ वर्षपछि थाइ एयरवेजले सन् १९६८ डिसेम्बर ४ मा बैंकक-काठमाडौं पहिलो उडान गरेको थियो।
'अन्तर्राष्ट्रिय जेट विमानले नेपालमा पहिलोपटक उडान भरेको यो नै पहिलो थियो,' सूचना अधिकारी भुलले भने।
त्यसअघि सन् १९५३ मा एयर इन्डियाले पनि उडान नगरेको होइन। तर उक्त उडानमा जेट विमान थिएन। त्यस्तै त्यो चार्टर्ड उडान भएकाले नेपालमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानको सूचीमा यो नपर्ने भुल बताउँछन्।
नेपाली आकाशमा पहिलो पटक थाइ एयरवेजको अन्तर्राष्ट्रिय उडान हुँदा नेपालीहरूमा खुसी छाएको पनि भुल बताउँछन्।
थाइ एयरवेजले दस वर्षसम्म सातामा एक उडान गरिरह्यो। यो कम्पनीले उडान भरिरहँदा लामो समयसम्म अन्य एयरलाइन्सले उडान गर्न सकेनन्। गन्तव्य मुलुकमा जानेहरूका लागि थाइ एयरवेज प्राथमिकतामा परेको थियो।
यात्रु संख्या बढ्दै गएपछि कम्पनीले दैनिक उडान सुरू गर्यो। पहिलो उडान सुरू गरेको दस वर्षपछि, सन् १९७७ मा थाइ एयरवेजले पुरानै गन्तव्यका लागि ए ३००-८०० विमानमार्फत दैनिक उडान थालेको थियो। यसले सातामा दस उडानसम्म गरेको अभिलेख छ।
'समय तालिकाअनुसार नियमित उडान गर्नमा थाइ एयरवेज नम्बर एक थियो,' सूचना अधिकारी भुल भन्छन्, 'यात्रु संख्या पनि सधैंजसो ९० प्रतिशत माथि हुन्थ्यो।'
यसरी दुई दशक लामो समय थाइ एयरवेजले राज नै गर्यो।
प्राधिकरणको अभिलेखअनुसार थाइ एयरवेजले नै नेपालमा पहिलोपटक कम्प्युटरमार्फत् टिकट रिजर्भ गर्ने प्रणाली सुरू गरेको थियो। सन् १९८५ मा सुरू गरेको यो प्रणाली पाँच वर्षपछि उसले टिकट ट्राभल एजेन्टहरूलाई दियो।
यो एयरलाइन्ससँग सिल्क क्लास लाउन्ज, आफ्नै ग्राउन्ड ह्यान्डलिङ सिस्टम र होलिडे प्याकेजहरू थिए। यसले पनि थाइ एयरवेजलाई आकर्षक बनाएको थियो।
तर, सन् १९९२ थाइ एयरवेजका लागि दु:खद वर्ष रह्यो। उक्त वर्ष जुलाई ३१ मा थाइ एयरवेजको विमान दुर्घटना भएको थियो। बैंककको सुवर्णभूमि विमानस्थल (तत्कालीन डोन मुआङ एयरपोर्ट) बाट काठमाडौं उडेको उसको विमान नुवाकोटको घ्याङफेदीमा खस्यो। दुर्घटनामा चालक दलका सदस्यसहित एक सय १३ जनाले ज्यान गुमाएका थिए।
दुर्घटनापछि कम्पनीले नेपाल उडान रोक्यो। त्यति बेलै नेपाली आकाशमा कतार एयरवेज थपियो। थाइ एयरवेज नेपाल भित्रिएको करिब २७ वर्षपछि कतार एयरवेजले उडान सुरू गरेको थियो। सन् १९९५ देखि कतार एयरवेजले नियमित उडान थालेको हो।
सन् १९९८ मा आएर थाइ एयरवेजलाई फेरि नेपालको आकाशमा उड्ने बाटो खुल्यो। नेपाल सरकारले पर्यटन प्रर्वद्धनका लागि सन् १९९८ लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। दुर्घटनापछि रोकिएको थाइ एयरवेजको यात्रा नेपाल भ्रमण वर्षसँगै फेरि सुरू भयो।
करिब ६ वर्षपछि थाइ एयरवेज बी ७७७-२०० विमानमार्फत नेपालमा पुनः उडान थाल्यो। बीचमा अवरोध आए पनि थाइ एयरवेजले ५२ वर्षसम्म नेपालमा उडान गर्यो।
कोभिड फैलिएपछि २०७६, चैत ११ बाट नेपालमा लकडाउन भयो। हवाइ उडान बन्द भयो। यही महामारीले थाइ एयरवेजलाई पनि थलायो।
थाइल्यान्डकै अन्य वायुसेवाले नियमित उडान थालिसकेका छन्। यो गन्तव्यमा व्यवसायिक उडानको इतिहास रच्ने थाइ एयरवेजको यात्रा पनि अब नियमित हुनेछ।