कोभिडले सुस्ताएको चिनियाँ पर्यटकको आगमन केही महिना यता बढ्न थालेको छ।
विशेषगरी चीन सरकारले आफ्ना नागरिक (चिनियाँ पर्यटक) घुम्न जाने देशहरूको सूचीमा नेपाललाई राखेपछि चिनियाँ पर्यटकको संख्या बढेको हो।
गत मार्च १५ तारिखमा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रकाशित गरेको सूचीमा नेपाललाई समावेश गरिएको थियो।
नेपाल पर्यटन बोर्डका अनुसार जुलाई महिनामा ५ हजार ६ सय ९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। कोभिडपछि नेपाल आउने पर्यटकको संख्यामध्ये यो उच्च हो। जुलाईमा आएका कुल पर्यटकको सङ्ख्याको ९.९ प्रतिशत हो।
सन् २०२२ को जुलाईमा भने १ हजार पाँच सय ९३ चिनियाँ पर्यटक आएका थिए।
बोर्डका अनुसार सन् २०२३ को सात महिनामा पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन्। जसमा २५ हजार ८१० चिनियाँ पर्यटक रहेका छन्।
बोर्डका अनुसार सन् २०२३ को जनवरीमा एक हजार ४३६, फेब्रुअरीमा दुई हजार २६६, मार्चमा दुई हजार ६३५ पर्यटक घुम्न आएका थिए। चीनले मार्चमा आफ्ना नागरिकलाई बाहिरी मुलुक घुम्न जान खुला गरेपछि नेपालमा पनि चिनियाँ पर्यटकको आगमनमा वृद्धि देखिएको छ। यसअघि कोरोनाका कारण चिनियाँ नागरिकलाई बाहिर जान बन्द गरिएकाे थियाे।
बोर्डका अनुसार अप्रिलमा चार हजार ७७०, मेमा चार हजार ६६७, जुनमा चार हजार ३४३ र जुलाइमा ५ हजार ६९३ पर्यटक भित्रिएका हुन्। यसरी चिनियाँ पर्यटकको आगमन बढेसँगै आगामी सिजनमा भने आगमन बढ्ने व्यवसायीहरूको अपेक्षा छ।
नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरै भारत र चीनकै हुन्। कोरोनाअघि चीनबाट हरेक वर्ष एक लाख हाराहारी पर्यटक नेपाल आउँथे। सन् २०१९ मा मात्र एक लाख ६९ हजार चिनियाँ पर्यटक आएका थिए।
कोभिडका बेला चीनले गरेको कडाइ लामो समयसम्म रहेपछि नेपाल आउने चिनियाँ पर्यटक एकदमै कम थिए। पछिल्लो चार महिनादेखि मासिक करिब पाँच हजार जना पर्यटक मात्र नेपाल घुम्न आइरहेका छन्।
चिनियाँ पर्यटक आकर्षित गर्न र उनीहरूका लागि यहाँ सहज वातावरण बनाउन पनि पहल भइरहेको बोर्डका निर्देशक मणि लामिछानेले बताए।
;'बोर्डले अनलाइनमार्फत चीनमा पर्यटन प्रवर्द्धनको काम गरिरहेको छ। त्यस्तै अघिल्लो महिनामा पोखरामा भएको ड्रागन बोट रेसले पनि सकारात्मक प्रभाव पारेको देखिन्छ,' उनले सेतोपाटीसँग भने, 'धेरै पछि बजार खुलेको भएर नजिकैको गन्तव्यमा हिँड्न थालेका छन्। यसमा पहिलो प्राथमिकतामा नेपाल पनि परेको हो।'
निर्देशक लामिछानेका अनुसार अहिले दुईदेखि तीन हजार जनासम्म गाइडहरूलाई चिनियाँ पर्यटक लक्षित गरेर तयार गरिएको छ। चिनियाँ भाषा र जीवन शैलीबारे गाइडहरूलाई राम्ररी जानकारी दिइएको छ।
त्यस्तै दुई/तीन सय वटा होटलहरू चिनियाँकै लागि लक्षित गरिएको छ। यसले गर्दा चिनियाँ पर्यटकहरूलाई नेपाल घुम्न सहज बनाउने र आकर्षण बढाउने बोर्डको विश्वास छ।
चीनमा नेपालबारे बुझाउन ट्राभल मार्ट (घुम्ती पसल) सञ्चालन गर्ने पनि योजना छ। यस्ता पसलमा नेपाली वस्तु तथा सामग्रीहरू राखिनेछ।
पर्यटक प्रवर्द्धन र वृद्धिका लागि सबैभन्दा ठूलो भूमिका यातायात सुविधा हो। अहिले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको भाडा दर उच्च छ।
चीनले कोरोनाले रोकिएका सबै उडान पुन: सञ्चलानमा ल्याउँदैछ। चिनियाँ एयरलाइन्सको उडान नियमित भएसँगै भाडा कम हुने नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा) का अध्यक्ष रमेश थापा बताउँछन्।
'अहिले उडानमा माग धेरै र आपूर्ति कम छ। उडान संख्याले माग धानेपछि भाडा घट्छ। यात्रुले सस्तोमा यात्रा गर्न पाएपछि चीनसँगै यी मुलुक हुँदै आउने पर्यटक बढ्नेछन्,' अध्यक्ष थापाले भने, 'पर्यटन उद्योग विस्तारै पुरानै लयमा फर्किदैँछ। यो हामी सबैका लागि खुसीको कुरा हो।'
कोरोनापछि चिनियाँ वायुसेवा एयर चाइना, क्याथे प्यासिफिक, चाइना इस्टर्न, चाइना साउदर्न र सिचुवान एयरलाइन्सले नेपालमा नियमित उडान थालिसकेका छन्।