काठमाडौंबाट पूर्वतर्फ नजिकै रहेको धुलिखेल पर्यटन हब बन्दै गएको छ। विशेषगरी सूर्योदय अवलोकन गर्ने र राजधानी सहरको कोलाहलबाट अलग भएर प्राकृतिक वातावरणमा रम्न चाहनेका लागि धुलिखेल सहज र राम्रो गन्तव्य मानिन्छ।
नेपालीसँगै विदेशी पर्यटकलाई लक्षित गरी यहाँ थुप्रै होटल र रिसोर्ट खुलेका छन्।
यिनैमाझ भर्खरै थपिएको छ 'दुसित थानी हिमालयन रिसोर्ट'।
थाइल्यान्डको हस्पिटालिटी कम्पनी दुसित इन्टरनेसनलले यसको व्यवस्थापन सम्हालेको छ।
'थाई भाषामा दुसित थानीको अर्थ स्वर्गको सहर हो,' रिसोर्टका नेपाली साझेदार रमेश हमालले भने, 'रिसोर्ट वरिपरिको प्राकृतिक सुन्दरता, १८० डिग्रीमा देखिने हिमालय शृंखला र ऐतिहासिक सम्पदाहरूले स्वर्गको सहर भनाइलाई यथार्थता दिन्छन्।'
हमाल नेपाल धितोपत्र बोर्डका अध्यक्ष र गैरआवासीय नेपाली संघ, थाइल्यान्डका पूर्वअध्यक्ष समेत हुन्। रिसोर्टमा मुख्य लगानी विदेशी साझेदार कम्पनी 'ओमस्टोन एसिया क्यापिटल नेपाल' को छ।
हमालकै पहलमा थाइल्यान्डको चेन होटल ब्रान्ड दुसित थानी नेपाल भित्रिएको हो।
उनका अनुसार यो रिसोर्ट दुई अर्ब ५० करोड रूपैयाँ लगानीमा बनेको हो। दुसित थानीकै व्यवस्थापनमा चल्ने यो रिसोर्टको बनावट पनि थाइल्यान्डकै शैलीमा छ। यहाँ झट्ट हेर्दा खरको जस्तो देखिने छानो लगाइएको छ। यो सामान क्यानडाबाट ल्याएको हमालले बताए।
'यसले पनि रिसोर्टको शोभा थप बढाएको छ,' उनले भने, 'सबै भिल्ला (भवन) हरू थाइल्यान्डकै शैलीमा बनेका छन्। विभिन्न मुलुकमा हस्पिटालिटी सेवा प्रदान गरिरहेको दुषित थानीको सेवा अब धुलिखेलमा पनि पाइने भएको हो।'
बीस वर्षसम्म रिसोर्टको व्यवस्थापन गर्न कम्पनीसँग सम्झौता भएको हमालले बताए।
पाँच वर्षअघि निर्माण सुरू गरिएको रिसोर्टको 'सफ्ट ओपनिङ' भइसकेको छ। धुलिखेलबाट दस किलोमिटर परको नमोबुद्धनजिकै र काठमाडौंबाट करिब ४४ किलोमिटर दुरीमा रहेको दुसित थानी ६३ रोपनी जमिनमा फैलिएको छ।
'यहाँ लक्जरी रिसोर्टमा हुने सबै सुविधा छ,' उनले भने।
उनका अनुसार दुसित थानीको खास विशेषता भनेको 'बटलर' सुविधा हो। यसअन्तर्गत कुनै पनि पाहुनाका लागि होटलले एक समर्पित व्यक्ति उपलब्ध गराउनेछ। बटलरलाई होटलले छुट्टै तालिम दिएको हुन्छ।
'रिसोर्ट आएदेखि बसुन्जेलसम्म पाहुनालाई एक जना कर्मचारीले यस्तो सुविधा दिनेछ। लामो र छोटो पदयात्रा, हिमाल आरोहण वा अन्य कुनै साहसिक पर्यटनमा जान चाहन्छ भने त्यो पनि बटलरले नै लैजान्छ,' हमालले भने, 'यो खालको सुविधा दिने सम्भवत: नेपालकै पहिलो रिसोर्ट हो दुसित थानी।'
रिसोर्टमा भ्याली भ्यु र हिमालयन भ्यु गरी दुई प्रकारका डिलक्स र जुनियर स्विट हिमालयन भ्युसहित कुल ८९ वटा कोठा हुनेछन्। हाल भने २८ वटा मात्र सञ्चालनमा छन्। यो वर्षको अन्त्यसम्म सञ्चालनमा आउने गरी थप २६ वटा कोठा तयार हुँदैछन्।
रिसोर्टमा २८ वटा कोठा भएका १८ वटा विशेष भिल्ला हुनेछन्। भिल्ला विशेषगरी परिवार नै बस्न उपयुक्त हुन्छ।
'परिवार नै बस्न मिल्ने आफ्नै भान्सा, डाइनिङ हुनेछ,' उनले भने, 'खुलेको मौसममा हरेक कोठाबाट हिमशृंखलाका साथै पाँचखाल उपत्यका देखिन्छ।'
यहाँ स्पा, स्विमिङ, ज्याकुजी (तातो पानी हुने बाथटब), साउना, सभाहल, वेलनेस सेन्टर लगायत सुविधा छन्। सेमिनारहरू सञ्चालन गर्न दुइटा हल र विशेष कार्यक्रमका लागि बैंक्वेट पनि छ।
नेपाली, थाइ, इन्डियन र कन्टिनेन्टल खाना पाइने दुसितको भान्सामा स्थानीय उत्पादनले प्राथमिकता पाउने हमालले बताए।
रिसोर्टमा बस्न प्रतिकोठा न्यूनतम ३५ हजार रूपैयाँदेखि डेढ लाख रूपैयाँसम्म पर्छ।
दुसित थानीमा ७२ जनाले रोजगारी पाएका छन्।
डेढ दशक बैंककमा बिताएका हमाल नेपाल फर्किएपछि हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेका हुन्। उनी २९ वर्षको उमेरमा एमबिए गर्न बैंकक पुगेका थिए। पढाइ सकेर थाइल्यान्डकै विभिन्न कम्पनीमा १५ वर्ष काम गरे। धेरैजसो काम हस्पिटालिटी क्षेत्रमै गरेको उनी बताउँछन्।
थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा केही अनुभव लिएपछि उनलाई नेपालमा नयाँ स्वाद पस्किने हुटहटी जाग्यो।
'पर्यटनमा ठूलो सम्भावना बोकेको नेपालमा पूर्वाधारहरू थपिइरहेका छन्। यस्तो बेला हस्पिटालिटीमा किन लगानी नगर्ने भन्ने सोच आयो,' उनले भने, 'केही गर्छु भनेर नै स्वदेश फर्केँ।'
२०७२ सालमा नेपाल फर्किएका हमाल होटलका लागि उपयुक्त ठाउँ खोज्दै काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा पुगे। यी ठाउँमा उनको मन अडिएन। तर एकदिनको धुलिखेल घुमघाम उनको व्यावसायिक थलो बन्न पुग्यो।
२०७२ मंसिरमा चिनजानका एक व्यक्तिले उनलाई धुलिखेल घुमाउन लगेका थिए। पहिलोपटक नमोबुद्ध नगरपालिका पात्लेखेत (हाल दुसित थानी भएको ठाउँ) टेकेको उनले बताए।
'त्यो ठाउँको वातावरण एकदमै राम्रो थियो,' हमालले भने, 'मौसम खुल्दा टल्केको हिमाल देख्न पाइने। गर्मी र जाडो दुवै समयमा बस्न अति उत्तम।'
त्यही दिनदेखि हमाल रिसोर्टबारे कल्पना गर्न थाले। सुरूमा उनले त्यहाँ ४३ रोपनी जमिन किने। एक वर्षमै बढाएर ६३ रोपनी पुर्याए। त्यसपछि उनको यात्रा रिसोर्टतिर लम्कियो।
उनका अनुसार थाइल्यान्डकै एक कम्पनीले सबै डिजाइन तयार गर्यो। २०७४ सालमा दुसित थानीसँग बीस वर्षसम्म रिसोर्ट व्यवस्थापनका लागि सम्झौता गरे।
तीन वर्षमा सम्पन्न गर्ने गरी २०७५ सालबाट रिसोर्ट निर्माण सुरू भएको थियो। तर बीचमा कोभिड महामारीका कारण ढिला भयो।
'कोभिडले दुई वर्ष पर धकेलिए पनि अहिले रिसोर्टको सफ्ट ओपनिङ भइसकेको छ,' हमालले भने, 'आशा गरौं, आगामी दिनमा दुसित थानी हिमालयन रिसोर्ट पर्यटकको रोजाइमा पर्नेछ।'