पाटनस्थित पिलाछेँका सुनिल महर्जनले आफ्नो घरमा हालै होमस्टे सञ्चालन गरेका छन्। गत बिहीबार उनको होमस्टेमा अमेरिका बस्दै आएका एक नेपाली पहिलो पाहुनाका रूपमा आउन लागेका थिए। त्यसैले सुनिलको अनुहारको चमक बेग्लै थियो।
ग्राहकका लागि उनले कोठा सरसफाइ गरी चिटिक्क पारेर मिलाइसकेका थिए। अब उनको कोठामा ग्राहक प्रवेश हुन मात्र बाँकी थियो।
व्यावसायिक फोटोग्राफर सुनिलले घरको तल्लो तलामा फोटो स्टुडिओ खोलेका छन्। माथिका तलामा होमस्टे सञ्चालन गरेका हुन्। उनी फोटो स्टुडिओमा बसेर फोटोका ग्राहकसँगै होमस्टेका ग्राहक कुरिरहेका थिए।
होमस्टेमा पहिलो ग्राहक आउन लाग्दा कस्तो अनुभव हुँदो रहेछ?
हाम्रो प्रश्नमा उनी मुसुक्क हासिँरहे र यत्ति भने, 'एकदम खुसी लाग्दो रहेछ नि!'
हाम्रो वरिपरि अरू होमस्टे सञ्चालकहरू पनि थिए।
उनीहरूले सुनिलको कुरामा 'हो मा हो' मिलाएजसरी भने, 'हामी यत्तिका दिनसम्म यही दिनको प्रतीक्षामा थियौं। हाम्रो खुसीको सीमा नै छैन।'
खुसी नहुन् पनि किन? २०७२ को भुइँचालोले भत्काएका घर उनीहरूले पुनर्निर्माण गरे र यति बेला 'पिलाछेँ सामुदायिक होमस्टे' सुरू गर्न लागेका छन्। आफ्नो पुर्ख्यौली व्यवसाय खेतीपाती छाडिसकेका उनीहरूले होमस्टेलाई नयाँ अवसरका रूपमा देखेका छन्।
भुइँचालोमा पिलाछेँका करिब एक सय १० घरमध्ये ८२ घर तहसनहस भएका थिए। त्यही बेला स्थानीय रमेश महर्जनले पिलाछेँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अवधारणा बनाए। आफूले काम गरिरहेको 'माया फाउन्डेसन' नामक संस्थाबाट सहयोग ल्याएर 'पिलाछेँ पुनर्निर्माण र पर्यटन प्रवर्द्धन परियोजना' सुरू गरे।
परियोजनाअन्तर्गत घर पुनर्निर्माणमा माया फाउन्डेसनले २५ प्रतिशत, घरधनी स्वयंले २५ प्रतिशत, २५ प्रतिशत 'ग्लोबल सेपर्स' लगायत संस्थाले लागत र श्रमदान बेहोर्ने अवधारणा थियो। त्यतिले अपुग भए बैंकबाट सापटी लिनेसम्मको योजना बन्यो। यस्तो परियोजनाअन्तर्गत बनेको बस्ती मन परेर डाक्टर सन्दुक रूइतले समेत चार करोड रूपैयाँ सहयोग गरेको परियोजनाअन्तर्गत घर बनाएका स्थानीयहरू बताउँछन्।
यो परियोजनामा रहेर घर बनाउँदा परम्परागत शैलीलाई पछ्याउनुपर्ने थियो। पुराना नेवारी घरहरू जस्तै ती साढे चार तलाभन्दा अग्लो बनाउन हुँदैन थियो। त्यस्तै भविष्यमा होमस्टेका रूपमा सञ्चालन गर्न सकिने गरी एउटै ढाँचामा बनाउनुपर्थ्यो। र, यी घर त्यसै गरी बनेका छन्।
'अलग अलग भएर बनायौं भने आ–आफ्नै तालको घर बन्छ। सबै मिलेर बनायौं भने एउटा नमूना बस्ती र पर्यटकीय ठाउँ बनाउन सकिन्छ भनेर हाम्रो सल्लाह भएको थियो,' पिलाछेँ सामुदायिक होमस्टे समितिका अध्यक्ष महेश महर्जनले भने, 'यो ठाउँलाई पर्यटकीय स्थल बनाउने क्रममा कम्तीमा घरको एउटा कोठा भए पनि होमस्टे बनाएर व्यवसायीकरण गरौं भन्ने हाम्रो सल्लाह भएको थियो।'
घरलाई नै व्यवसाय बनाउने कुरालाई सुरूमा कतिपय स्थानीयले असम्भव मानेको उनले बताए।
'यहाँका धेरैजसो मान्छे पढेलेखेका छैनन्। उनीहरूले हाम्रो कुरा बुझ्न सकेनन्। कतिपयले यो त सूर्यलाई धर्तीमा ल्याउनेजस्तो कुरा गर्नुभयो भनेका थिए,' त्यस बेलाको चुनौती सम्झिँदै महेशले भने, 'नबुझ्ने र कुरा काट्नेहरू त अझै छन्। हामीले गरेर नदेखाएसम्म मान्छेले पत्याउँदैनन् भनेर कस्सिएर लागेका छौं।'
बीचमा यो परियोजना कोरोना महामारीका कारण रोकिएको थियो। कोरोनाकै कारण यो परियोजना सुरू गर्ने रमेश महर्जनको निधन भयो। उनको निधन र कोरोनाको अलमलमा केही समय ढिलासुस्ती भए पनि हाल यो काम पुनः सुरू भएको छ।
जति बेला यो परियोजनाअन्तर्गत पिलाछेँमा घरहरू बन्दै थिए, त्यति बेला पिलाछेँ नजिकैको दोपाट भन्ने ठाउँका स्थानीय निरोज महर्जन चीनमा थिए। पिलाछेँमा उनको मामाहरूको घर थियो। भुइँचालोले तहसनहस पारेपछि मामाहरू सातदोबाटो सरे। यताको घरलाई दाजुभाइमा बाँड्नुपर्ने झमेलाका कारण बेच्ने सोचेका थिए। निरोजले उक्त घर नबेच्न सल्लाह दिए। बरू आफैंले किन्ने भए।
'चीनबाट फर्केपछि मैले ठूलो मामाको हिस्सा जग्गा किनेँ र सानो मामासँग मिलेर घर बनाइरहेको छु,' उनले भने।
निरोजसँग पर्यटन क्षेत्रमा काम गरेको केही अनुभव पनि छ। सन् २०१३ देखि उनले आधिकारिक रूपमा पर्यटक-गाइड बनेर काम सुरू गरेका हुन्। त्यसअघि उनले सम्पदा शाखामा काम गरे।
उनका बुबा पनि ३० वर्षभन्दा अघिदेखि पर्यटन क्षेत्रमा लागेका थिए। सानैदेखि उनको घरमा जापानीहरू आउँथे। बुबाले बिस्तारै जापानीसँगै चिनियाँ भाषा पनि सिके। निरोजलाई पनि चिनियाँ भाषामा चासो बढ्न थालेको थियो। त्यसैले उनी तीन वर्ष चीनमा पढ्न गए। हाल उनी काठमाडौं विश्वविद्यालयमा चिनियाँ भाषा सिकाउँछन्।
निरोजले ट्राभल एजेन्सी पनि खोलेका थिए। कोरोनाका बेला राम्ररी सञ्चालन हुन सकेन। अनि उनले बिजुलीबजारमा रहेको कार्यालय पिलाछेँमा बनिरहेको घरमै सारे र यहीँबाट काम गरिरहेका छन्।
निरोज यात्रा गर्दा यात्रीहरूले बोक्ने झोलाहरू पनि बेच्छन्। चीनबाट ल्याइएका यस्ता झोला व्यापार गर्न उनले पाटनकै महापालमा घर लिएका छन्। दुई तलामा उनी झोला व्यापार गर्छन्। तेस्रो तलालाई होमस्टे बनाएका छन्। ग्राहकहरू अनलाइनमार्फत सम्पर्क गरेर बस्न आउँछन्।
'मलाई त्यहाँबाट होमस्टे कसरी सञ्चालन गर्ने भनेर १०/१२ महिनाको अनुभव भइसक्यो। त्यही अनुभव म पिलाछेँको सामुदायिक होमस्टेमा प्रयोग गर्न सक्छु,' निरोजले भने, 'मलाई थोरै पर्यटनबारे ज्ञान पनि छ। तर हामी कोही पनि होमस्टेमा त्यति अनुभवी होइनौं। बिस्तारै गर्दा जाँदै धेरै कुरा सिकिन्छ होला।'
पिलाछेँमा निरोजको घर निर्माणको अन्तिम चरणमा छ। त्यही पनि सिक्किमबाट आउन लागेका एक जना उनको होमस्टेमा बस्न लागेका छन्।
अर्का स्थानीय सुरेन्द्र महर्जनले भने होमस्टेकै चक्करमा चार वर्षदेखि आफ्नो घर खाली राखेका छन्। हालसम्म कुनै ग्राहकलाई सेवा–सुविधा दिन नपाएका उनले हार मानेका छैनन्।
यतिका वर्ष घर खाली हुनुको कारण बताउँदै उनले भने, 'बहालमा राख्यो भने जो पायो त्यही मान्छे आउँछन्। रमेश दाइको भिजनअनुसार होमस्टे नै चलाउने र पर्यटन प्रवर्द्धन गर्ने भनेरै म कुरेर बसेको हुँ। पहिला सुरू गर्न लागेका बेला कोरोना आयो। अब फेरि सुरू गर्न लागेको छु। यतिका वर्ष त कुरियो, अब झन् सबै मिलेर गर्न लागेका छौं, किन नकुर्ने?'
हस्तकला सामग्रीका व्यापारी सुरेन्द्रलाई होमस्टे राम्रो चल्यो भने छोराछोरीका लागि पनि आम्दानीको बाटो खुल्छ भन्ने विश्वास छ।
'होमस्टे राम्रो चल्यो भने छोराछोरी बाहिर गएर काम गर्नु पर्दैन। इन्टरनेटमार्फत नै मान्छे भेटेर होमस्टे चलाउन सक्छन्,' उनले भने, 'घर बहालमा दियो भने त खान–लाउन मात्र हुन्छ। आफ्नो व्यवसाय नै भयो भने भविष्यका लागि केही न केही राम्रो हुन्छ।'
सुनिल महर्जन नै नाम भएका अर्का एक स्थानीय पनि होमस्टेकै आशमा बसेका छन्। उनका अनुसार भूकम्पपछि उनीहरूले तत्काल गर्न सक्ने केही थिएन। धेरैजना बस्ती छाडेर जान थाले। होमस्टेको यो परियोजना आएपछि भने आफू पनि केही गरौं भनेर हौसिएको उनले बताए।
'आफू जन्मिएको ठाउँ विकसित गर्नुपर्छ भनेर लागेका हौं,' उनले भने, 'हामी सधैं आफ्नो टोलबाट बाहिर बसेर पनि त भएन। हामीले सोच्ने भनेको भविष्यकै लागि हो र म पनि होमस्टेमै आफ्नो भविष्य सोचिरहेको छु।'
आफूले कहिल्यै नगरेको व्यवसाय कस्तो होला भन्ने सुनिललाई डर पनि छ।
'भोलि गएर कस्तो हुन्छ, के हुन्छ भन्ने डर छ। आफूले गर्न लागेको काम असफल भयो भने समाजले के भन्ला भन्ने पनि डर हो,' उनले भने, 'यसलाई कसरी राम्ररी लग्ने भनेर सोचिरहेका छौं। सबै मिलेर राम्ररी गर्न सक्छौं भन्ने जोश र जाँगर पनि छ।'
अर्का स्थानीय रमन महर्जनको घर भने यति बेला भाडामा दिइएको छ। त्यसको समय सकिनेबित्तिकै उनी पनि होमस्टे सञ्चालन गर्ने तरखरमा छन्।
पिलाछेँ सामुदायिक होमस्टे समितिका अध्यक्ष महेश महर्जन आफूले गरेको मेहनतको फल ढिलो–चाँडो पाइनेमा विश्वस्त छन्। आफ्नो समुदायले गरेको कामले अरूलाई पनि प्रेरित गर्ने उनको विश्वास छ।
'हाम्रो मेहनतको फल हामीले मात्र होइन, हाम्रा पुस्ताले पनि पाउने छन्। अहिले नै आत्तिइहाल्नु हुँदैन,' उनले भने, 'ठमेल पनि त एकै दिनमा बनेको होइन नि!'
उनले अगाडि भने, 'अहिले यो काम सुरू गरेनौं भने हाम्रो परम्परा, संस्कृति बचाउन पनि गाह्रो हुन्छ। हामीसँग आम्दानीको स्रोत केही छैन। त्यो स्रोत र यहाँको संस्कृति जोगाउन होमस्टे सञ्चालन गर्न खोजेका हौं।'
पिलाछेँ होमस्टे आधिकारिक रूपमा केही महिनाअघि सुरू भएको हो। त्यस बेला घरहरू पुनर्निर्माणमा श्रमदान गरेका ग्लोबल सेपर्सका करिब १२० जना एक रात पिलाछेँमा बसेका थिए। पिलाछेँबासीले उनीहरूलाई नेवारी संस्कृति र भोजको अनुभव गराए। त्यसका लागि पिलाछेँको मंका गुथिले रक्सी, बारा बनाउने, सुकुल बुन्ने लगायत स्टलहरू पनि राखेको थियो।
दरबार स्क्वायरनजिकै रहेको पिलाछेँ पाटनको अन्तिम लहरमा रहेको बस्ती हो। नेपाल भाषाको पिनिलागुछेँ अपभ्रंस हुँदै पिलाछेँ भएको स्थानीयहरू बताउँछन्। यो ठाउँमा पिला नाम भएको लाखे बस्ने गरेको र उनकै नामबाट पिलाछेँ भएको पनि मानिन्छ। यो ठाउँ आफैंमा सांस्कृतिक र सामाजिक रूपले पनि सम्पन्न छ।
'हाम्रोमा नाचिरहेको मुद्रामा गणेशको मूर्ति भएको मन्दिर छ। यस्तो कतै छैन। हरेक दिन यहाँ दाफा भजन र नामसंगती हुन्छ। येँया पुन्ही (इन्द्रजात्रा) मा कतै नहुने ख्याःचा नाच हाम्रोमा हुन्छ,' महेशले भने, 'त्यसमाथि यो यस्तो ठाउँ हो जुन विनाशबाट पनि विचलित भएन। त्यसैलाई शक्तिका रूपमा परिवर्तन गरेर मौलिक स्वरूपमा उभिएको बस्ती हो। पर्यटकलाई मनपर्ने पनि यस्तै मौलिक कुरा न हुन्!'
पिलाछेँका होमस्टेमा अहिले बस्ने मात्र सुविधा छ। खाने व्यवस्था आफैं गर्नुपर्छ। भविष्यमा एउटा सामूहिक रेस्टुरेन्ट बनाउने र कसैकोमा पाहुना आए त्यहीँ पकाएर खुवाउने योजना छ।
कति घरहरू भने स्टुडिओ अपार्टमेन्ट जसरी बनेका छन् जसमा पाहुनाले आफैं पकाएर खान सक्छन्।
पिलाछेँमा भुइँचालोले भत्काएका ८२ घरमध्ये करिब ४० वटा पुनर्निर्माण भइसके। तीमध्ये जम्मा सात जना होमस्टे व्यवसायमा लागेका छन्। बाँकी घरवाला पनि भविष्यमा आउन सक्नेमा महेश आशावादी छन्।
'केही घरमा घरवाला नै बसेका छन्, केही खाली छन्। होमस्टे चलाउन अर्को खर्च लाग्ने भएकाले पनि कतिले नआँटेका हुन्। कति भने हामी सात जनाले गरेको हेरौं र अर्को चरणमा गरौंला भनेर बसेका छन्,' उनले भने।
पाटनमा जति पनि होमस्टे छन्, ती व्यक्तिगत रूपमा सञ्चालन भएका हुन्। पिलाछेँ पहिलो सामुदायिक होमस्टे हो। सामुदायिक होमस्टेले दिने सुविधा विशेष हुने निरोज बताउँछन्।
'सामुदायिक होमस्टेमा पाहुनालाई टीका, माला लगाएर समुदाय नै मिलेर स्वागत गर्छौं,' उनले भने, 'नेवारी संस्कृति र सामुदायिक सेवा अनुभव गरेर जाने सांस्कृतिक थलोका रूपमा पिलाछेँ होमस्टे विकास गर्ने हाम्रो सोच छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी