मुलुकभर होटल तथा रेस्टुरेन्टखुल्ने क्रम बढ्दै गएको छ।
साना–ठूला रिसोर्टहरू थपिँदै गएका छन्। आर्थिक वर्ष २०७९/८० मा देशभरका ५५ वटा होटल तथा रेस्टुरेन्टउद्योग विभागमा दर्ता भएका छन्। यी होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि १८ अर्ब ८ करोडभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ।
वर्षभरीमा मुलुकभर ५ वटा होटलमा एक अर्बभन्दा बढी लगानी प्रतिवद्धता आएको छ। विभागमा दर्ता भएको तथ्याङ्कअनुसार झापाको होटल इष्टर्न नेपालमा एक अर्ब ६९ करोड लगानी प्रतिवद्धता आएको छ। स्वदेशी लगानीमा सञ्चालन हुने यो होटलमा एक सय ७० जनाले रोजगारी पाउने विभागले जनाएको छ।
काठमाडौंको बुढानिलकण्ठ हेरिटेज सञ्चालनका लागि दुई अर्ब ४० करोड लगानी प्रतिवद्धता आएको छ। यो होटल स्वदेशी लगानीमा सञ्चालन हुनेछ। साथै दुई सय २० जनाले रोजगार पाउनेछन्।
झापाको आयुष्मान होटलमा दुई अर्ब ५१ करोड लगानी प्रतिवद्धता आएको छ। तीन सय जनाले रोजगारी पाउने यो होटलमा स्वदेशी लगानी रहेको छ।
रूपन्देहीमा मार्स हस्पिटालिटी ग्रुप प्रा.लिमा १ अर्ब ३८ करोड रूपैयाँ लगानी प्रतिबद्धता रहेको छ।
साहसिक पर्यटकीय प्रोडक्ट र होटल सहितको जेबी एडभेन्चर प्रा.लिमा भने ३ अर्ब रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।
काठमाडौंको कीर्तिपुरमा साहसिक पर्यटन (एडभेन्चर) सहितको होटल बनाउन तीन अर्ब रूपैयाँ लगानीको प्रतिवद्धता आएकाे हो। होटल र साहसिक पर्यटन निर्माणका लागि जे.बी. एड्भेन्चर प्रा.लि उद्योग विभागमा दर्ता भएको छ।
दर्ता विवरणअनुसार कम्पनीले होटलमा ६० सिट क्षमताको रेस्टुरेन्ट बनाउने छ। त्यस्तै वार्षिक चार लाख २० हजारभन्दा बढीलाई एडभेन्चर सेवा दिने जनाएको छ।
कम्पनीले एक वर्षमा ५० हजारलाई बन्जी-जम्प गराउने बताएको छ। त्यस्तै, ७० हजारलाई जिपलाइन, ७० हजारलाई स्विङ, ७० हजारलाई स्काई-वाक तथा ग्लास ब्रिज (सिसाको पुलमा रमाउने सेवा), ७० हजारलाई स्काई-साइक्लिङ गराउने, ४० हजारलाई रक-क्लाइम्बिङ गराउने र एक लाख बालबालिकालाई फनपार्कभित्र मनोरञ्जन गराउने बताएको छ।
स्वदेशी लगानीमा बन्ने यो परियोजनामा एक सय ५० जनाले रोजगारी पाउने उल्लेख छ।
१५ करोडको विदेशी लगानीमा काठमाडौंमा मारीय होटल तथा रेष्टुरेन्ट निर्माण हुने भएको छ। ४५ बेड क्षमताको होटलमा १७२ सीट क्षमताको रेष्टुरेन्ट रहने छ। होटलमा ५९ जनाले रोजगारी पाउने छन्।
विदेशी लगानीमै काठमाडौंमा २० करोडको लगानीमा युवान होटल एण्ड रेष्टुरेन्ट निर्माण हुने भएको छ। ५० बेड क्षमताको होटलमा ५५ जनाले रोजगारी पाउने छन्।
१५ करोड लगानीमा काठमाडौंमा नै सञ्चालन हुने गरी हुवालिन होटल एण्ड रेष्टुरेन्ट दर्ता भएको छ। होटलमा विदेशी लगानी रहनेछ। ४० बेड क्षमताको होटलमा ८५ जनाले रोजगारी पाउने छन्।
यसैगरी, ५ करोड ५० लाखको लगानीमा काठमाडौंमै जिन मेन होटल प्रा.लि सञ्चालन हुने गरी दर्ता भएको छ। यो होटलमा ९१ प्रतिशत विदेशी र ९ प्रतिशत स्वदेशी लगानी रहनेछ।
त्यस्तै मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रा.लिमा ३७ करोड, ग्राण्ड सेन्ट्रल होटल प्रा.लिमा ६० करोड र आजु होल्डिङ प्रा.लिमा ३० करोड, हाई मेई होटल एण्ड रेष्टुरेण्ट प्रा.लिमा २० करोड, होटल पञ्चावती प्रा.लिमा ३३ करोड, दोर्जेज् फार्म रिसोर्ट प्रा.लिमा ५५ करोड र लोन्नी चिकेन चप प्रा.लिमा ५ करोड लगानी प्रतिबद्धता आएको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडमा ८६ करोड ४० लाख रूपैयाँ, प्लेजर नेपाल प्रा.लिमा २० करोड, चितवन बिजनेश कम्प्लेक्स होटल प्रा.लिमा ५० करोड, होटल लोटस गार्डेन इन प्रा.लिमा ५ करोड, ढाका हलाल रेष्टुरेण्ट प्रा.लिमा ५ करोड र होस्ट इन्टरनेशनल होटल प्रा.लिमा पनि ५ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।
यीसँगै मुलुकभर एक वर्षमा ५४ वटा होटल तथा रेष्टुरेन्टमा १८ अर्ब ८ करोड लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ।
विभागकाअनुसार साहसिक पर्यटनतर्फ पनि लगानी प्रतिवद्धता आएको छ। कास्कीको केवलकार सञ्चालनका लागि सिक्लेश अन्नपूर्ण केबलकार प्रा.लिले ४ अर्ब ९२ करोड लगानी प्रतिवद्धता गरेको छ। स्वदेशी लगानीमा सञ्चालन हुने सिक्लेश अन्नपूर्णमा ७५ जनाले रोजगारी पाउनेछन्।
साथै १७ करोड लगानीमा पशुपति क्रियशन प्रा.लिले आगन्तुकहरूलाई मनोरञ्जनका सेवा दिन उद्योग दर्ता गरेको छ।
त्यस्तै सोही अवधिमा विभिन्न होटलहरूमा १० वटा क्यासिनो सञ्चालनका लागि दुई अर्ब ९ करोड बढी लगानीको प्रतिवद्धता आएको विभागले जनाएको छ।