एक वर्षमा मुलुकभरका विभिन्न होटलमा क्यासिनो सञ्चालनका लागि १० वटा कम्पनी उद्योग विभागमा दर्ता भएका छन्। यी कम्पनीहरूले क्यासिनोमा दुई अर्ब नाै करोड लगानी प्रतिवद्धता गरेका छन्।
विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा सात वटा मिनी (साना) र तीन वटा क्यासिनो (मेसिन तथा उपकरणको माध्यमबाट मात्र खेलिने खेल) गरी १० वटा क्यासिनो दर्ता भएका छन्। यी सबै क्यासिनोमा गरी एक हजार पाँच सय बढीले रोजगारी पाउने भएका छन्।
सामान्यतया पाँचतारे होटल वा सो सरहका डिलक्स रिसोर्टमा ठूला क्यासिनो चलाउन पाइन्छ। चारतारे होटलमा साना (मिनी) क्यासिनो चलाउने अनुमति दिइन्छ। अन्य तारे होटलले भने क्यासिनो सञ्चालन गर्न पाउँदैनन्।
गत आर्थिक वर्षमा पोखरामा तीनवटा क्यासिनो सञ्चालनका लागि कम्पनीहरू विभागमा दर्ता भएका छन्।
पोखराको हेरिटेज स्वीट्समा मिनी क्यासिनो सञ्चालनका लागि भेन्टेन इन्टरटेनमेन्ट प्रा.लि विभागमा दर्ता भएको छ।
कम्पनीले २० करोड लगानी प्रतिवद्धता गरेको छ। पोखराकै होटल सरोवरमा मिनी क्यासिनो सञ्चालनका लागि प्लेजर प्रा.लिले २० करोड लगानी प्रतिवद्धता गरेको छ।
त्यस्तै, पोखराको माउण्ट कैलाश रिसोर्टमा मिनी क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालिले २१ करोड लगानी प्रतिवद्धता गरेको छ।
काठमाडौंको होटल एभरेष्ट इन्टरनेशनलमा गोल्डेन ग्यालेक्सी इन्टरटेनमेन्टले क्यासिनो सञ्चालनका लागि विभागमा दर्ता भएको छ। यसका लागि २५ करोड लगानी प्रतिवद्धता गरेको छ। क्यासिनोमा शत प्रतिशत स्वदेशी लगानी हुने यो क्यासिनोमा तीन सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।
काठमाडौं सिटी होटलमा क्यासिनो सञ्चालनका लागि र्याक इन्टरटेनमेन्ट सर्भिसेस प्रा.लि विभागमा दर्ता भएको छ।
कम्पनीले २५ करोड लगानी प्रतिवद्धता गरेको छ। क्यासिनोमा ९० प्रतिशत विदेशी तथा १० प्रतिशत स्वदेशी लगानी रहने छ। क्यासिनोमा ३ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा क्यासिनो सञ्चालन गर्ने गरी किङसवरी इन्टरटेनमेन्ट प्रालि दर्ता भएको छ।
तर उद्योग विभागको दर्ता विवरणमा होटलको विवरण खुलाइएको छैन। क्यासिनो कम्पनीमा २५ करोड रुपैयाँको लगानी प्रतिवद्धता रहेको छ।
मोरङको रत्ना होटलमा मिनी क्यासिनो सञ्चालन गर्न रत्ना सर्भिसेज प्रालिले २० करोड लगानी प्रतिवद्धता गरेको छ।
यसैगरी कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टमा पनि क्यासिनो सञ्चालनका लागि ग्रिन ज्याकपटो इन्टरटेनमेन्ट प्रा.लि दर्ता भएको छ। यो कम्पनीले २० करोड रुपैयाँको लगानी प्रतिवद्धता गरेको छ। रूपन्देहीको एसियन होटलमा मिनी क्यासिनो सञ्चालनका लागि लिगमेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लिले १५ करोड लगानी प्रतिवद्धता गरेको छ।
सिन्धुपालञ्चोकको होटल भोटेकोशीमा मिनी क्यासिनो सञ्चालनका लागि वेल्लिज रिक्रियशन प्रा.लिले १८ करोड लगानी प्रतिवद्धता गरेको छ।
विदेशी पर्यटकको मनोरञ्जनका लागि परम्परागत रूपमा वा आधुनिक मेसिन/उपकरणको माध्यमबाट खेलिने क्यासिनोमा लगानी बढ्दै गएको विभागका महानिर्देशक लुइँटेल बताउँछन्।
'पर्यटक आकर्षित गराउन तारे होटलहरूले कम्पनी खोलेर क्यासिनो अनुमति लिइरहेका छन्,' उनले भने, 'अहिले तराइका सीमावर्ती क्षेत्रमा भारतीय पर्यटकलाई लक्षित गर्दै क्यासिनो खुल्ने क्रम बढेको छ।'
क्यासिनो सञ्चालनका लागि कुनै पनि होटलले नयाँ कम्पनी खोल्नुपर्छ। त्यसको सेयर सदस्य भने होटल हुनेछ। होटलकै नाममा भने क्यासिनो सञ्चालन गर्न नमिल्ने उनको भनाइ छ।
क्यासिनो कम्पनी दर्ता गर्नुअघि पर्यटन विभागको राय लिनु पर्नेछ। विभागले क्यासिनो सञ्चालक, सरकारलाई तिर्न वा बुझाउन बाँकी रकम छ वा छैन, सञ्चालकको पृष्ठभूमि लगायत विषयमा बुझेर अनुमति दिन्छ। क्यासिनो कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएपछि पर्यटन विभागले इजाजत दिन्छ।
हाल पाँचतारे होटलमा सञ्चालित क्यासिनोले वार्षिक पाँच करोड रूपैयाँ रोयल्टी र एक करोड २५ लाख रूपैयाँ नवीकरण दस्तुर बुझाउनुपर्छ। त्यस्तै मिनी क्यासिनोले एक करोड ५० लाख रूपैयाँ रोयल्टी र ५० लाख नवीकरण दस्तुर बुझाउनु पर्छ।