नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलटहरूलाई आफ्नै लगानी भएको कम्पनीको हेलिकप्टर उडानमा रोक लगाएको छ। मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि प्राधिकरणले उडान व्यवस्थित र सुरक्षित गर्न भन्दै नयाँ नियम ल्याएको हो।
हाल १२ वटा हेलिकप्टर कम्पनी सञ्चालनमा छन्। यीमध्ये ८ वटामा विभिन्न पाइलटहरूको लगानी छ। प्राधिकरणको नियमअनुसार ११ जना लगानीकर्ता पाइलटले आगामी असोज १५ सम्म आफ्ना हेलिकप्टर उडाउन पाउने छैनन्। पाइलटले आफ्नो लगानी भएकोबाहेक अरू कम्पनीका हेलिकप्टर भने उडाउन पाउने छन्।
११ जना लगानीकर्ता पाइलटमध्ये अल्टिच्युड एयर, एयर डाइनेस्टी हेली, समिट, मनाङ, माउन्टेन, कैलाश हेलिकप्टर कम्पनीका एक-एक जना, प्रभु हेलिकप्टरका दुई जना र सिम्रिक एयरका तीन जना छन्।
मुलुकको हेलिकप्टर उडान व्यवस्थित र सुरक्षित बनाउन यो नियम पहिलोपटक परीक्षण स्वरूप लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यो नियम मनसुनभरका लागि लागू गर्न लागिएको हो।
'कुनै पनि हेलिकप्टर कम्पनीलाई आर्थिक भार पर्ने गरी प्राधिकरणले गरेको निर्णय होइन यो। घटना र दुर्घटना हुन नदिन ल्याइएको हो,' उनले भने, 'मनसुनभरका लागि परीक्षणका रूपमा लागू हुन्छ। धेरै गाह्रो र अप्ठयारो भए समीक्षा गर्न सकिनेछ।'
प्राधिकरणले गरेको निर्णयप्रति हेलिकप्टर व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। आफ्नो स्वामित्व भएको हेलिकप्टर उडाएर दुर्घटना बढेको भन्न नमिल्ने उनीहरूको भनाइ छ।
यसरी सेयर लगानी भएकाहरूलाई काम गर्न नदिने हो भने कुनै उद्योग चल्न नसक्ने प्रभु हेलिकप्टरका अपरेसनल डाइरेक्टर हिराबहादुर दाहालले बताए।
'अस्पतालमा लगानी गरेको डाक्टरले बिरामीको उपचार गर्न नपाउने भन्ने हुन्छ?,' उनले प्रश्न गर्दै भने, 'प्राधिकरणले हेलिकप्टरका लागि नयाँ ल्याएको यो नियम कार्यान्वयन हुनु भनेको व्यवसायीलाई हेलिकप्टर नउडाऊ नै भन्ने खोजे जस्तै हो।'
यो नियम परिमार्जन गर्न आवश्यक रहेको उनी बताउँछन्।
कुनै पनि हेलिकप्टर पाइलट आफैं सञ्चालक हुँदा उडान सुरक्षामा झनै ध्यान दिने उनको भनाइ छ। एउटा दुर्घटनालाई लिएर प्राधिकरणले तत्काल यस्तो निर्णय लिँदा व्यवसायीहरूलाई पर्ने मर्काबारे पनि सरोकारवाला निकायले बुझ्नुपर्ने उनले बताए।
'मंगलबार के कारणले घटना भयो भन्ने कुरा जाँचबुझ आयोगले नभनी केही थाहा हुँदैन। हतार गरेर तत्कालै अर्को नियम लागू गर्नु भनेको घाटा हो,' उनले सेतोपाटीसँग भने, 'सञ्चालन नगरे प्राधिकरणले हेलिकप्टर कम्पनीका कर्मचारी पाल्छ त?'
प्राधिकरणका एक कर्मचारीले भने आफ्नै लगानीको हेलिकप्टर चलाउँदा लामो दुरीमा नजाने र नाफा बढी खोज्दै छोटो दुरी मात्र लिने गरेको बताए।
ती कर्मचारीले भने, 'त्यसैले कि त कर्मचारी भएर काम गर्नुपर्यो कि त लगानीकर्ता मात्र भएर बस्नुपर्यो।'
प्राधिकरणले लिएको नीतिले पाइलटलाई हतोत्साहित बनाउने अल्टिच्युड एयरका अध्यक्ष निमानिरू शेर्पाले बताए।
'सेयर होल्डरले हेलिकप्टर उडाउँदा व्यावसायिक हिसाबले बढी उडान चाहन्छन् भन्ने ठम्याइ सरोकारवाला पक्षको छ। तर यो गलत हो,' शेर्पाले भने, 'हेलिकप्टर चार्टर्डमा आधारित उडान हो। चार्टर्डको माग आएपछि मात्रै उडान हुन्छ। कम्पनीमा लगानी हुँदैमा स्वार्थ बाझिन्छ भन्ने हुँदैन।'
लगानी रहेका सञ्चालकले उडाएका हेलिकप्टर मात्र दुर्घटना भएका छन् भन्न नसकिने पनि उनले बताए।
साथै मुलुकको नियामक निकाय प्राधिकरणले सम्बन्धित हेलिकप्टर व्यवसायीहरूसँग समन्वय नगरी गलत निर्णय लिएको उनी बताउँछन्।
'कोभिडले लामो समय थला परेर उठ्दै गरेको हेलिकप्टर व्यवसायलाई यो निर्णयले धराशायी बनाउने देखिन्छ,' शेर्पाले भने।
अल्टिच्युडसँग हाल दुइटा हेलिकप्टर छन् जसमा तीन जना नेपाली र एकजना विदेशी पाइलट छन्।
हाल देशमा हेलिकप्टर पाइलटको अभाव भएको माउन्टेन हेलिकप्टरका बजार प्रबन्धक रामचन्द्र भुसाल बताउँछन्। अहिले नै विदेशी पाइलट ल्याउनुपर्ने अवस्था छ। यस्तोमा एउटा कम्पनीमा लगानी भएको पाइलट अर्को कम्पनीको हेलिकप्टर उडाउन नजाने उनले बताए।
'एउटा कम्पनीमा लगानी छ, अर्को कम्पनीको हेलिकप्टर उडाउन को जान्छ,' उनले भने, 'त्यसकारण पनि अहिले यो नियम कार्यान्वयन सम्भव छैन।'
यस विषयमा व्यवसायीहरूले प्राधिकरणसँग छलफल गर्ने बताएका छन्।