मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भयो।
सम्पर्कविहीन भएको केही समयमै हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका- ५ लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो।
नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ।
हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ।
मनाङ हेलिकप्टरका सञ्चालक मुक्ति पाण्डेका अनुसार चेतबहादुर गुरूङ सिनियर पाइलट हुन्। गुरूङले सोमबार(हिजो) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे पाँच जना मेक्सिकनलाई लुक्ला लगेर गएका थिए।
ती मेक्सिकन ‘माउन्टेन फ्लाइट’का लागि गएका थिए। हिजो उनीहरू लुक्लामै बसे।
मंगलबार बिहान ६ बजे उनीहरू माउन्टेन फ्लाइटका लागि गए।
माउन्टेन फ्लाइट सकेपछि उनी आज काठमाडौं फर्किन लागेका थिए। उनीहरूलाई लिन पाइलट गुरूङ नै गएका थिए। काठमाडौं फर्कने क्रममा सवा १० बजे हेलिकप्टर सम्पर्कविहीन भएको थियो।
उडानमा रमाउने पाइलट गुरूङ ५४ वर्षका थिए।
मनाङ हेलिकप्टर सन् १९९७ देखि सञ्चालनमा छ। पाइलट गुरूङले सोही सालदेखि नै विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेको कम्पनीका सञ्चालक पाण्डेले बताए।
मनाङ एयरको हेलिकप्टर उडाउनुअघि उनले रूस र अफगानिस्थानमा समेत हेलिकप्टर उडाएका थिए।
जसकारण उनको अनुभव लामो र धेरै रहेको कम्पनीका सञ्चालक पाण्डे बताउँछन्।
‘उहाँ सिनियर पाइलट हुनुहुन्थ्यो। त्यसकारण पनि उहाँलाई कुनै पनि गन्तव्यमा उडानका लागि रोकतोक थिएन,’ पाण्डेले सेतोपाटीसँग भने। मनाङ एयरमा गुरूङ फ्लाइट सेफ्टीका प्रमुख पनि थिए।
पाइलट गुरूङ लमजुङमा जन्मिएका हुन्। उनी केही वर्षयता ललितपुरस्थित भैंसेपाटीमा बस्दै आएका थिए। उनको परिवारका अरू सदस्य अहिले बेलायतमा छन्।
सञ्चालक पाण्डेका अनुसार नेपालमा उनी एक्लै बस्दै आएका थिए।