सन् २०२२ मा नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्या र यसबाट हुने आम्दानी बढे पनि उनीहरूको बसाइँ अवधि घटेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको 'नेपाल पर्यटन तथ्यांक–२०२२' अनुसार पर्यटकको बसाइँँ औसतमा १३.१ दिनमा झरेको छ।
अघिल्ला दुई वर्षहरूमा पर्यटकको बसाइँँ अवधि बढेको थियो। मन्त्रालयको तथ्यांक अनुसार सन् २०२१ मा सरदर बसाइँ अवधि १५.५ दिन थियो। त्यस्तै सन् २०२० मा १५.१ दिन थियो। त्यसअघि सन् २०१९ मा १२.७ दिन रहेको थियो।
सन् २०२० भन्दा अघिल्ला तीन वर्षमा त अझ पर्यटकको औसत बसाइँ सरदर १२ दिन थियो। सन् २०१९ मा १२.७ दिन, सन् २०१८ मा १२.४ र सन् २०१७ मा १२.६ दिन थियो। त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३.१२ र १३.१६ दिन पर्यटकको औसत बसाइ थियो।
बसाइ अवधिसँगै पर्यटकको खर्च पनि घटेको छ। एक पर्यटकको प्रति दिन खर्च घटेर अहिले ४०.५ डलरमा आएको छ। सन् २०२१ मा यो खर्च ४५ डलर थियो।
पर्यटकहरू घुम्न आउने र छोटो समयमै फर्कन थालेको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने बताउँछन्।
उनका अनुसार विश्वकै ट्रेन्ड हेर्दा पर्यटकहरू एक देशबाट अर्को देश जाने घुम्ने र छोटो अवधिमै फर्किहाल्ने देखिन्छ। सोही कारण पनि अघिल्लो वर्ष पर्यटकको बसाइ अवधि घटेको उनले बताए।
'अन्य मुलुकभन्दा युरोपेली मुलुकका पर्यटकले बढी खर्च गर्छन्। तर अघिल्लो वर्ष एसियाली मुलुकबाट धेरै पर्यटक आएको देखिन्छ त्यसकारण पनि खर्च घटेको अनुमान लगाउन सकिन्छ,' निर्देशक लामिछानेले सेतोपाटीसँग भने।
कोभिडपछि २०२२ मा पर्यटक आगमन बढेसँगै पर्यटन क्षेत्रबाट आर्जन हुने आम्दानी पनि वृद्धि भएको छ। पर्यटक आगमन ३०७ प्रतिशतले र आम्दानी १९० प्रतिशतले बढेको छ। सन् २०२१ मा यसबाट ३२ करोड ६२ लाख विदेशी मुद्रा आम्दानी भएकोमा सन् २०२२ मा भने यस्तो आम्दानी बढेर ४६ अर्ब ७६ करोड रूपैयाँ पुगेको छ।
कोभिडपछि खुलेको पर्यटन क्षेत्रमा पर्यटक आगमनले उत्साह छाएको छ। नेपाल पर्यटन बोर्डका अनुसार कोभिड अघिसम्म मासिक करिब एक लाख पर्यटक नेपाल आउथे। कोभिडकालमा भने यो संख्या हजारमा झरेको थियो। यद्यपी पछिल्लो केही महिना यता भने पर्यटक आगमन बढेको छ।
पर्यटनका लागि अंग्रेजी महिनाअनुसार वर्षमा दुइटा सिजन हुन्छन्। पहिलो मार्च, अप्रिल र मे दोस्रो सेप्टेम्बर, अक्टोबर नोभेम्बर र डिसेम्बर। यी सिजनमा मासिक एक लाख हारहारीमा पर्यटक आइरहेका छन्। यसले पनि पर्यटन क्षेत्रमा थप उत्साह देखिएको छ।
मन्त्रालयकै तथ्यांक अनुसार पनि सन् २०२१ को तुलनामा सन् २०२२ मा ३०७.३ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ। २०२२ मा ६ लाख १४ हजार ८६९ पर्यटक भित्रिएका छन्। यसमध्ये हवाइमार्फत ५ लाख ९२ हजार पर्यटक र स्थलमार्ग हुँदै २२ हजार दुई सय पर्यटक भित्रिएका हुन्।
सन् २०२१ मा भने एक लाख ५० हजार ९६२ पर्यटक भित्रिएका थिए।
जसमा हवाइमार्फत एक लाख ५० हजार ६२५ र स्थलमार्ग हुँदै ३३७ पर्यटक भित्रिएका थिए।
भ्रमणका लागि नेपाल आउने पर्यटकहरू धेरैजसो हिमाल आरोहण, तीर्थयात्रा र मनोरञ्जनका लागि आउने गर्छन्।
विशेषगरी वसन्त र शरद ऋतुमा भने हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट पर्यटक नेपाल आउने गरेका छन्।
सन् २०२२ मा एक हजार ५२ आरोही समूहका ५३ हजार २३३ जनाले हिमाल आरोहण गरेका छन्। जसमा सबैभन्दा बढी अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, स्पेन, चीन र भारत लगायतका मुलुकका पर्यटकहरूले सगरमाथा, आमादब्लम, र मनास्लु हिमाल आरोहण गरेका हुन्।
त्यस्तै नेपाल घुम्न आउने पयर्टकहरू विभिन्न तीर्थस्थलमा जान्छन्। विदेशीले सबभन्दा बढी घुम्ने तीर्थस्थलका रूपमा लिइन्छ पशुपतिनाथ र लुम्बिनीलाई।
सन् २०२२ को वर्षभरिमा नौ लाख तीन हजारले लुम्बिनी भ्रमण गरेका छन्। जसमध्ये ७१.८ प्रतिशत स्वदेशी, २५.५ प्रतिशत भारतीय र २.६ प्रतिशत तेस्रो मुलुकका पर्यटक छन्। त्यस्तै ५५ हजार दुईसय जनाले पशुपति भ्रमण गरेका छन्।
दोब्बरले बढे हवाइ यात्रु
सन् २०२१ को तुलनामा सन् २०२२ मा हवाइ यात्रु दोब्बरले बढेका छन्।
सन् २०२२ मा अन्तर्राष्ट्रियतर्फ २९ एयरलाइन्समार्फत ३४ लाख ८८ हजार ३२८ यात्रुले यात्रा गरेका छन्। जमध्ये १९ लाख ३१ हजार यात्रु बाहिरिएका छन् भने १५ लाख ५६ हजार यात्रु भित्रिएका छन्।
सन् २०२१ मा १४ लाख ५६ हजार ९२९ यात्रुले यात्रा गरेका थिए। जसमा ७ लाख ६ हजार भित्रिएका छन् भने ७ लाख ४८ हजार बाहिरिएका छन्।
त्यस्तै आन्तरिकतर्फ वर्षभरिमा एक करोड १३ लाख ५ हजार ९३ यात्रुले आवजावत गरेका छन्। तथ्यांकअनुसार आन्तरिक उडानतर्फ ४२ लाख १६ हजार ६८६ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रिएका छन्।
सोही अवधिमा ५९ लाख १८ हजार ४०७ यात्रु काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन्।
जबकी २०२१ मा कुल ३५ लाख ७६ हजार यात्रुले आवतजावत गरेका थिए।
२०२२ मा आन्तरिकतर्फ नौ वटा एयरलाइन्स कम्पनीमध्ये पाँच कम्पनीका जहाजले धेरै यात्रु बोकेका छन्।
जसमा बुद्ध एयरले २३ लाख ८७ हजार, यति एयरले ९ लाख ३७ हजार, श्री एयरले ७ लाख १७ हजार, सौर्य एयरले एक लाख ७७ हजार, तारा एयरले २४ हजार र नेपाल एयरलाइन्सले १७ हजार यात्रु बोकेको छ।
यी उडानका लागि विराटनगर, गौतम बुद्ध, पोखरा र नेपालगञ्ज विमानस्थल सबैभन्दा धेरै प्रयोग भएका छन्।