मनसुनमा बर्सेनि सर्वसाधारणको यात्रा कठिन हुन्छ। यसपालि पनि पहिरोका कारण राजमार्ग अवरूद्ध हुने क्रम जारी छ।
खास गरी काठमाडौंबाट आउजाउ गर्ने पृथ्वी राजमार्गमा अवरूद्ध भइरहँदा यात्रुको सास्ती बढेको छ। यसबाट छुटकारा पाउन यात्रुहरूले विकल्प खोजिरहेका छन्।
पहिलो विकल्प हवाई यात्रा भएको छ।
अहिले भैरहवा, भरतपुर र पोखरा विमानस्थलमा यात्रुको चाप बढेको छ। यो चापले समयमा टिकट नपाउने समस्या पनि निम्त्याएको छ।
साविकमा यात्रुले आजभोलिमै टिकट पाउँथे। अहिले भने भन्नेबित्तिकै टिकट नपाइएको उनीहरू बताउँछन्।
भैरहवा विमानस्थल कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेले पनि अहिले टिकट सोधखोज र यात्रुको चाप बढेको बताए।
'पछिल्लो एक-डेढ सातादेखि आवश्यक टिकट नपुगेको देखिएको छ,' महाप्रबन्धक पाण्डेले सेतोपाटीसँग भने।
अहिले अनुमति लिएको अधिकांश उडान भइरहेका छन्। सिट पनि करिब पूरा भरिएका छन्। त्यसका बाबजुद यात्रुले टिकट नपाएको गुनासो छ। यसको कारण यात्रु संख्या बढ्नु नै भएको सम्बन्धित अधिकारीहरू बताउँछन्।
मनसुन सुरू हुनुअघि वा राजमार्गमा समस्या देखिनुपहिले भैरहवाबाट हुने उडानको 'अकुपेन्सी' ८० प्रतिशत थियो। अहिले शतप्रतिशत जस्तै छ।
'यात्रुको चापका कारण हामीले पहिले अनुमति लिएका सबै उडान गर्न एयरलाइन्सलाई आग्रह गरेका थियौं,' पाण्डेले भने, 'अहिले पूर्ण रूपमा उडान भइरहेको छ।'
यि बीचमा दैनिक चार वटा उडान थपिएका छन्। भैरहवा विमानस्थलबाट अहिले बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गरेका छन्। दस दिनपहिले बुद्धका ९ वटा, यतीका २ वटा र श्रीका २ वटा उडान थिए।
यात्रुको चाप बढेपछि बुद्धले दैनिक ११ र यतीले चार उडान गरेको पाण्डेले बताए। श्रीले भने थपेको छैन। हाल भैरहवाबाट दैनिक १७ वटा उडान भइरहेका छन्।
सामान्यतया एयरलाइन्स कम्पनीहरूले यात्रु कम हुँदा स्वीकृत लिएका उडान पनि घटाउँछन्। यात्रु बढेका बढेका बेला सबै उडान गर्छन्। कुनै क्षेत्र विशेषमा मात्रै चाप परेको खण्डमा अन्य क्षेत्रको घटाएर पनि उडान गरिन्छ।
भैरहवासँगै अहिले भरतपुरमा पनि हवाई यात्रु बढेका छन्। बुद्ध एयरले भरतपुरमा दैनिक दुइटा उडान बढाएको छ। एक साताअघिसम्म बुद्धले यहाँ दैनिक ७ वटा उडान गर्थ्यो। अहिले दैनिक ९ उडान भइरहेको बुद्धका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।
'वर्षाका कारण सडक बिग्रिएकाले होला भरतपुरमा यात्रु बढेका छन्,' उनले भने, 'उडान संख्या बढाउँदा पनि शत प्रतिशत अकुपेन्सी छ।'
काठमाडौं-भरतपुरमा हाल बुद्धले मात्र उडान गरिरहेको छ। यहाँ ४५ सिटे 'एटिआर ४२' जहाज चल्छ।
कर्णका अनुसार अरू ठाउँमा पनि उडान बढेको छ। बुद्धले सबभन्दा बढी उडान पोखरा र भैरहवामा गर्छ। पोखरामा दैनिक १५ वटा, भैरहवामा ११, विराटनगरमा ७ वटा उडान भइरहेको छ। बुद्धका १५ वटा जहाजमा हाल दैनिक आठ हजार यात्रु आवतजावत गर्छन्।
यती एयरलाइन्सले पनि यात्रु बढेको जनाएको छ। भैरहवाका लागि यतीले उडान संख्या बढाएको प्रवक्ता प्रवक्ता सुदर्शन बर्तौलाले बताए।
'दुई उडान थपेर काठमाडौं-भैरहवामा अहिले दैनिक चार उडान भइरहेको छ,' उनले भने, 'भैरहवा र विराटनगरमा शत प्रतिशत अकुपेन्सी छ।'
पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमका अनुसार हाल दैनिक ४ हजार भन्दा धेरै यात्रु पोखराबाट आवतजावत गरिरहेका छन्। यहँ उडान संख्या नथपिए पनि यात्रु संख्या बढेको छ।
के टिकटको मूल्य बढेको हो?
इन्धनको मूल्य घटेपछि हालै हवाई भाडा घटाइएको छ। तर केही यात्रुले भाडा महँगो लिएको गुनासो गरेका छन्।
'दस दिनअघि ४ हजार ६ सयको टिकटमा भैरहवा पुगेको थिएँ, अहिले ८ हजार ३३० रूपैयाँ तिर्नुपर्यो,' बुधबार भैरहवाबाट काठमाडौं फर्किएका अर्घाखाँचीका नारायण पाण्डेले भने।
उनले भैरहवा जाँदा पनि गएकै दिन र फर्किँदा पनि उसै दिन टिकट लिएको बताए।
तर सम्बन्धित अधिकारीहरू मूल्य बढेको कुरा अस्वीकार गर्छन्।
बुद्ध एयरका सूचना अधिकारी कर्ण, नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल र गौतमबुद्ध विमानस्थल कार्यालयका महाप्रबन्धक हंशराज पाण्डे सबैले मूल्य नबढेको बताए। तर यात्रुले महँगो मूल्य तिर्नुपरेको हुन सक्ने उनीहरू बताउँछन्।
'हामी अन्तिम समयमा टिकट खोज्छौं। माग धेरै भएका बेला नपाइने सम्भावना हुन्छ। पाउँदा सहुलियत दरको टिकट नपाइन सक्छ,' उनीहरूको भनाइ छ, 'टिकटको भाउ बढेको होइन, सहुलियत दरको टिकट नपाइएकाले महँगो लागेको हो।'
भैरहवा विमानस्थल महाप्रबन्धक पाण्डेका अनुसार दसैं र मनसुनमा टिकट महँगो परेको गुनासो आइरहेको हुन्छ।
'हामीले तोकिएको माथिल्लो सीमाभन्दा बढी छ कि छैन भनेर हेर्ने हो। त्यस्तो देखिए मात्रै कारबाही हुन्छ,' उनले भने।
सार्वजनिक सवारीसाधनको जस्तै हवाई भाडाको मूल्य समान हुँदैन। एउटै जहाजको एक ठाउँमा जाने मूल्य ११ तहसम्म फरक पर्ने सक्ने नागरिक उड्यन प्राधिकरणका प्रवक्ता भुलले बताए।
भाडा निर्धारण क्रममा एयरलाइन्सको लागत तथा सञ्चालन खर्च, विमानस्थलमा तिर्नुपर्ने शुल्क तथा सरकारलाई बुझाउने राजस्व र इन्धनको मूल्य हेरिएको हुन्छ। राजस्व र हवाई इन्धनको भाउका कारण भाडामा धेरै उतारचढाव नदेखिए पनि एयरलाइन्सको लागत तथा त्यसको सञ्चालन मूल्यका कारण फरक पर्न सक्छ।
एयरलाइन्सको लागतमा त्यसको इन्जिनमा प्रयोग हुने इन्धन, कर्मचारीको तलबभत्ता लगायतका खर्च समेटिएको हुन्छ। प्रतिस्पर्धाका लागि अर्को कम्पनीभन्दा धेरै बढी मूल्य भने तोकिँदैन। तर माग बढेर टिकट महँगोमा जानसक्ने देखिए प्राधिकरणले तोकेको माथिल्लो सीमासम्म लिइन्छ।
२९ सिट क्षमताभन्दा माथिको जहाजमा सिटको आधारमा भाडा धेरै तहको हुने भुलले बताए।
'उडानको पर्खाइ वितरण सूत्र (फ्लाइट वेटिङ डिस्ट्रिब्युसन फर्मूला) मा रहेर कुन वर्गमा कति वटा सिट राख्ने भनेर निर्धारण गरिएको हुन्छ। पहिले टिकट लिने सस्तोमा पाउन सक्छन्। धेरै माग भएका बेला अन्तिममा लिने महँगोमा पर्न सक्छ,' उनले भने, 'त्यस्तै कहिलेकाहीँ अन्तिममा लिँदा पनि सस्तोमा टिकट पाइन्छ। सिट खाली लैजानुपर्ने अवस्था देखिए जहाजले सस्तोमै टिकट खोलिदिन्छ। त्यसै टिकट महँगो भएको होइन, मागअनुसार भाउ फरक परेको हो।'