नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। निगमले भैरहवाबाट हङकङ र दिल्ली उडानको तयारी गरिरहेको जनाएको छ।
निगम प्रवक्ता रमेश पौडेलका अनुसार दुई साताभित्र उडान सुरू गर्ने गरी तयारी भइरहेको छ। हाल सम्बन्धित निकायसँग उडान अनुमतिको काम भइरहेको उनले बताए। उडान अनुमति पाउनसाथ दुबै गन्तव्यमा उडान सुरू गर्ने निगमको तयारी छ।
हाल निगमको न्यारोवडी जहाजले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं सातामा एक उडान गरिरहेको छ।
'मलेसियाबाट १२० जना यात्रु नेपाल आउँछन्। त्यसमा पनि ४० जनाभन्दा बढी यात्रु भैरहवामै ओर्लिन्छन्। थोरै यात्रु बोकेर काठमाडौं फर्कनुपर्छ,' प्रवक्ता पौडेलले सेतोपाटीसँग भने, 'यही उडानलाई काठमाडौं हुँदै अर्को अन्तर्राष्ट्रिय गन्तव्यमा जोड्न लागेका हौं।'
हाल निगमले भैरहवालाई ट्रान्जिट बनाएर हरेक मंगलबार काठमाडौं– मलेसिया–भैरहवा–काठमाडौं उडान गरिरहेको छ।
गत जेठ ३० गतेदेखि निगमले उक्त गन्तव्यमा उडान भरिरहेको छ। त्यसरी नै अब निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ उडान गर्न लागेको हो।
'अब भैरहवाबाट जहाज काठमाडौं आउनेछ। काठमाडौंबाट हङकङका लागि उडान भर्नेछ,' प्रवक्ता पौडेलले सेतोपाटीलाई भने, 'त्यस्तै अर्को उडान पनि काठमाडौंलाई नै ट्रान्जिट बनाएर दिल्ली पुग्नेछ।'
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलयमान बनाउनका लागि निगमले पनि काठमाडौंबाट नियमित हुने यी तीनवटै गन्तव्यमा भैरहवालाई जोड्न लागेको उनी बताउँछन्।
'विमानस्थललाई अन्तर्राष्ट्रिय उडानमा जोड्न भैरहवाबाट मलेसिया उडान सुरू गरेका थियौं,' उनले थपे, 'यात्रु र बजारको माग बढेकाले पनि थप गन्तव्य विस्तार गर्न लागेका हौं।'
सरकारले पनि यो विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई सेवा शुल्कहरूमा थप एक वर्षसम्म छुट दिएको छ। २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको यो विमानस्थलले सुरूआती एक वर्षसम्म अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायक सेवा र सुरक्षा जाँच शुल्कमा छुट दिएको थियो।
एक वर्षसम्म कुवेतको जजिरा एयरवेजले मात्र उडान गर्यो। थप वायुसेवालाई आकर्षित गराउन गौतमबुद्ध विमानस्थलमा २०८१ जेठ सम्मका लागि सम्पूर्ण शुल्कमा छुट दिएको हो।
हाल यो विमानस्थलमा नेपाल एयरलाइन्सले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। विमानस्थल सञ्चालनमा आएकै दिनदेखि व्यवसायिक उडान थालेको कुवेतको जजिरा एयरवेजले अहिले उडान रोकेको छ।
विमानस्थल कार्यालयका अनुसार गत वैशाख ६ गतेदेखि जजिराले कमर्सियल कारण देखाउँदै उडान रोकेको थियो।
'जजिराले सुरूमा कमर्सियल कारण देखाएर केही दिनका लागि उडान स्थगन गरेको थियो। तर दुई महिना भइसक्यो अब नियमित गर्छ कि गर्दैन थाहा छैन,' विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डे भन्छन्।
पर्यटकीय केन्द्र लुम्बिनीलाई लक्षित भए पनि आगामी दिनमा अन्तर्राष्ट्रिय उडान संख्या बढ्ने उनी बताउँछन्।
उनका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न मुलुकबाट अध्ययनका लागि आउनेजाने क्रम चलिरहेको छ। म्यानम्यार नेसनल एयरलाइन्सको टोलीले दुई दिने अध्ययन गरेर फर्किसकेको छ। म्यानमारसँगै भुटान, कम्बोडिया, थाइल्यान्ड लगायत मुलुकबाट पनि उडानका लागि अध्ययन गर्न निरन्तर आइरहेका छन्।
'लुम्बिनी क्षेत्रमा आउनेहरूकै लागि लक्षित भए पनि विभिन्न मुलुकका एयरलाइन्स यो विमानस्थलमा जोडिन पाइपलाइनमा छन्,' महाप्रबन्धक पाण्डेले सेतोपाटीलाई भने।