नेपाल र भारत सरकारबीच भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस)' सञ्चालन गर्ने कुरा भएको छ।
यो सहमति भए भैरहवा विमानस्थलमा कम भिजिबिलिटी (दृश्यात्मकता) मा पनि विमान अवतरण गर्न मिल्नेछ।
हाल विमानस्थलमा पन्ध्र सयदेखि दुई हजार मिटर भिजिबिलिटीमा विमान अवतरण भइरहेका छन्।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार यान्त्रिक उपकरण अवतरण प्रणाली, आइएलएस सञ्चालनपछि आठ सय मिटर भिजिबिलिटीमै जहाज अवतरण गर्न सकिने छ।
'आइएलएस सञ्चालनका लागि दुई देशबीच सहमतिको कुरा भएको छ। त्यो भए अब यस विमानस्थलबाट कम्तिमा आठ सय मिटर अर्थात् कम भिजिबिलिटीमै अवतरण गराउन सकिन्छ,' महाप्रबन्धक पाण्डेले सेतोपाटीसँग भने।
विमानस्थल सञ्चालनमा आएदेखि नै नेपालले भारतसँग आइएलएस सञ्चालन अनुमति मागेको थियो। तर जहाज उडान र अवतरण गर्दा भारतीय आकाश समेत प्रयोग हुने भएकाले भारतले अनुमति दिएको थिएन।
जहाज धावनमार्गको सिधा तीन डिग्री रेखा भएर अवतरण गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ भने अवतरणका क्रममा जहाजलाई दायाँ-बायाँबाट सिधा लैजान पनि निर्देशन दिनुपर्ने हुन्छ। यही कारण भैरहवामा विमान अवतरण गर्दा भारतीय भूभाग प्रयोग हुन सक्ने उनले बताए।
गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमणले आइएलएस सहमतिबारे कुरा उठाएको हो।
महाप्रबन्धक पाण्डेका अनुसार आइएलएस एउटा रेडियो नेभिगेसन प्रणाली हो। यसले विमानलाई राति वा खराब मौसममा पनि सुरक्षित अवतरण गराउन सहयोग गर्छ। यो पूर्णतः प्रविधिमा आधारित अवतरण प्रणाली हो। यसले धावनमार्गबाट आकाशमा रहेको जहाजमा सूचना प्रदान गर्ने काम गर्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी (रिक्वायर्ड नेभिगेसन पर्फरमेन्स) प्रणालीमार्फत जहाज अवतरण भइरहेको छ। यसका लागि सम्बन्धित वायुसेवा कम्पनीले काठमाडौं उडानमा विशेष तालिमप्राप्त पाइलटलाई पठाउँछन्।
भैरहवामा भने त्यो खालको बाध्यता नरहेको महाप्रबन्धक पाण्डे बताउँछन्। यो विमानस्थलमा आइएलएस सञ्चालनमा आए पनि संसारका जुनसुकै विमानस्थलमा जहाज उडाइरहेका पाइलटले उडान तथा अवतरण गर्न सक्नेछन्।
'आइएलएस सञ्चालन हुनु भनेको वायुसेवा कम्पनीलाई पनि फाइदाको विषय हो। न्यूनतम तालिम लिएका पाइलटले पनि आइएलएस भएको विमानस्थलमा उडान तथा अवतरण गर्न सक्नेछन्,' उनले भने।
आइएलएस सञ्चालनमा आएपछि काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवा विमानस्थलमा जाने बाटो खुल्ने भएको छ। खराब मौसम वा विभिन्न कारणले कतिपय समय काठमाडौं विमानस्थलमा जहाज अवतरण गर्न सकिएको हुँदैन। यस्तो अवस्थामा लामो समय जहाज आकाशमै 'होल्ड' मा बस्छन्। भारत तथा अन्य मुलुकतर्फ 'डाइभर्ट' पनि हुन्छन्। आइएलएस सञ्चालनमा आएपछि अब यस्तो अवस्थामा जहाजका लागि भैरहवा उपयुक्त विकल्प हुने पाण्डेले बताए।
'त्रिभुवन विमानस्थलमा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सहरू मौसम खराब हुँदा भारत र बंगलादेशतिर डाइभर्ट हुन्थे,' पाण्डेले भने, 'अब भिजिबिलिटी हेरेर गौतम बुद्ध विमानस्थलमा अवतरण गर्न सक्नेछन्।'
पाण्डेका अनुसार सामान्यतया १६ सय मिटर भिजिबिलिटी देखिएपछि जहाज अवतरण गर्न सुरक्षित मानिन्छ। तर मौसम प्रतिकूल हुँदा भिजिबिलिटी कम हुन्छ। आइएलएस भएका विमानस्थलमा भने कम भिजिबिलिटीमा पनि जहाज अवतरण गराउन सकिने अन्तर्राष्ट्रिय मापदण्ड छ।
अहिले भैरहवामा खराब मौसम हुँदा जहाजलाई सिमरातर्फबाट अवतरण गर्न २२ सय मिटर भिजिबिलिटी चाहिन्छ। नेपाल बाहिरबाट आउने जहाजका लागि सिमराबाट भरतपुर हुँदै भैरहवा जाने हवाईमार्ग बनाइएको छ। सिमराबाट यो २० देखि २४ मिनेटको हवाई दूरीमा छ।
भैरहवाबाट कति भिजिबिलिटीमा अवतरण गर्दा सुरक्षित हुन्छ भन्नेबारे निर्धारित उडान विधि तयार गरिने महाप्रबन्धक पाण्डेले बताए।
'अब भैरहवा विमानस्थलमा कति भिजिबिलिटीमा जहाज अवतरण गर्ने भन्नेबारे प्राविधिक विज्ञहरूको टोलीले कार्यविधि डिजाइन गर्छन्,' पाण्डेले भने, 'उक्त डिजाइन प्रकाशन भएको दुई महिनापछि आइएलएस लागू हुनेछ।'
हाल यो विमानस्थलमा 'भिएफआर' प्रणालीमा उडान-अवतरण भइरहेको छ। सामान्यतया हाम्रा विमानस्थलमा दुई प्रणालीमा उडान/अवतरण हुन्छन्; भिएफआर (भिजुअल फ्लाइट रूल) र आइएफआर (इन्सट्रुमेन्ट फ्लाइट रूल)।
आइएफआरमा यन्त्रको सहायताबाट उडान/अवतरण नियमन हुन्छ भने भिएफआरमा ककपिटबाट पाइलटले अगाडि हेरेरै गर्छन्। सामान्यतया भिएफआरमा पाँच हजार मिटरभन्दा धेरै भिजिबिलिटी हुनुपर्छ।
गौतम बुद्ध विमानस्थल २०७९ साल जेठबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। विमानस्थल सञ्चालनमा आएसँगै नेपालले भारतसँग आइएलएस अनुमति मागेको थियो। अनुमति नपाउँदा गत पुसमा खराब मौसमको सामना गर्न नसकेर जजिरा एयरवेजले भैरहवामा गर्दै आएको उडान स्थगन गरेर काठमाडौंतर्फ मोड्न बाध्य भयो।
आइएलएस सञ्चालनमा आएपछि मौसमकै कारण अब कुनै पनि उडान प्रभावित नहुने पाण्डेले बताए।
हाल २४ सै घन्टा भैरहवा विमानस्थल उडानका लागि खुला छ। तर यहाँबाट आन्तरिक उडान मात्र भइरहेका छन्। नियमित र व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। सुरूमै यहाँ पुगेको जजिराले पनि डेढ महिनायता उडान रोकेको छ। यहाँबाट कहिलेकाहीँ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुन्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशकुमार अधिकारी भैरहवामा उडानका लागि थुप्रै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चासो देखाइरहेका बताउँछन्।
'विभिन्न मुलुकबाट भैरहवामा उडानका लागि छलफल भइरहेको छ,' उनले भने, 'आइएलएस सञ्चालनले अन्तर्राष्ट्रिय उडान थप्न मद्दत गर्नेमा हामी विश्वस्त छौं।'